rukum accident1684992601

रूकुम दुर्घटनाका घाइते चालक भन्छन्- चिप्लो बाटोमा ब्रेक नलागेपछि जिप ४०० मिटर तल खस्यो

समाचार

रूकुम पश्चिको बाँफिकोटमा चिप्लो बाटोमा ब्रेक नलागेपछि जिप दुर्घटना भएको प्रहरीले बताएको छ।बाँफिकोट–८ मा बिहीबार बिहान जिप दुर्घटना हुँदा ५ जना यात्रुको मृत्यु भएको थियो। मृत्यु हुनेमा २२ दिनकी सुत्केरी र उनका नवजात शिशुसमेत परेका छन्।

दुर्घटनामा ३५ वर्षका चालक दीपक बाँठा मगर घाइते भएका छन्।

खुट्टा फ्याक्चर भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए।

‘पानी परेको हुँदा बाटो चिप्लो भएको, त्यसमाथि ब्रेक नलाग्दा जिप दुर्घटनाग्रस्त हुन पुग्यो भनेर चालकले बताएका छन्। थप अनुसन्धान पनि गरिरहेका छौं,’ डिएसपी भट्टराईले सेतोपाटीसँग भने ‘कच्ची र अप्ठेरो बाटोमा पानी परेको हुँदा जिप दुर्घटनामा परेको हुन सक्ने हाम्रो पनि प्रारम्भिक अनुमान छ।’

मृतक पाँचै जनाको सनाखत
जिप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ।

दुर्घटनामा सानीभेरी गाउँपालिका ५ का ४८ वर्षीय देउचन खत्री, सोही वडाका ७० वर्षीय कर्णबहादुर बाँठा, सोही वडाकी २३ वर्षीया शीतल कुसारीको मृत्यु भएको प्रहरीले बताएको छ।

त्यस्तै बाँफिकोट गाउँपालिका ८ की २२ वर्षीया रेखा खनाल केसी र उनका २२ दिनका छोरा रोशन केसीको पनि दुर्घटनामा मृत्यु भएको छ।

जिल्ला अस्पताल सल्ले पुर्‍याएलगतै चिकित्सकले पाँचै जनालाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा १० जना घाइते भएको थिए। उनीहरूमध्ये ४ जनाको नेपालगञ्ज नरसिंह कलेजमा उपचार भइरहेको छ।

दुर्घटना बिहान ८ः२० बजे भएको स्थानीयले बताएका थिए। प्रतिकूल मौसमका बाबजुद घाइतेलाई बिहान साढे दस बजे उद्धार गरिएको थियो। ४ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

सानीभेरी– ५ का २ वर्षीया प्रशिद्ध कुसारी, २० वर्षीया अनिता केसी, २२ वर्षीय ललित बाँठा र जिप धनी ४० वर्षीय प्रेम बाँठा मगरको बाँकेमा उपचार भइरहेको डिएसपी भट्टराईले जानकारी दिए।

घाइते २ वर्षकी प्रशिद्ध कुसारी मृतक २३ वर्षीया शीतल कुसारीका छोरा हुन।

यी बाहेक थप ६ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।

४६ वर्षीय कर्णवीर पुन, ४६ वर्षीय गम्भीर कुसारी, १७ वर्षीया मनिषा बस्नेत, १७ वर्षीया रिता खत्री, २१ बर्षीया कल्पना केसी र जीप चालक ३५ वर्षीय दीपक बाँठा मगर रहेका छन्। उनीहरू सबै सानीभेरी–५ का हुन्।

बाँफिकोट गाउँपालिका ८ मा लु १ ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो। सानीभेरी गाउँपालिका–५ मेलचौरबाट खलंगातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको थियो।

जिप सडकदेखि झन्डै चार सय मिटर तल खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *