आइतबार ०९ बैशाख २०८१

chanchalkali4 ink1684895192

अपराधीको निशानामा परेको हात्ती चञ्चलकलीले बुधबार विहान सुँडबाटै दाना पनि खान थालेको छ।

गत चैत २१ गते राति चितवन, सौराहास्थित हात्तीसारमा रहेको ४५ वर्षको पोथी हात्ती चञ्चलकलीको सुँड काटिएको थियो। दुखाइले छट्पटाएको घाइते हात्तीले पाँच दिनपछि बल्ल सुँडमा पानी भरेर मुखमा पुर्‍याउने प्रयास गरेकी थिई।

सुँड काटिएको पचासौं दिनमा उसले आफैंले दाना खान थालेकी हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु भेटेरिनरी प्राविधिक किरण रिजालका अनुसार चञ्चलकलीले बुधबार बिहान सुँडबाटै दाना खान थालेकी हो।

‘केही दिनअघि पनि खाने प्रयास गरेकी थिई तर सकिन। सुँडले उठाउन खोज्दा च्याप्नै सक्थिन,’ रिजालले भने, ‘आज बिहानबाट खान सकी। अहिले मज्जाले खाइरहेकी छ।’

chanchalkali1 ink

दाना खान नसक्दा माउतेहरुले हात्तीको मुखमा राखिदिने गरेका थिए। ‘मंगलबार साँझ मैले हात्तीसारका कर्मचारीलाई भोलि बिहानसम्म खानेकुरा केही पनि मुखमा नदेउ। दाना राखेर छाडिदेउ के गर्दोरहेछ हेरौं भनेको थिएँ। उहाँहरुले त्यही गर्नुभएछ,’ हात्तीसारमै रहेका रिजालले सेतोपाटीसँग भने, ‘विहान त ऊ कुची(धान, नुन, सख्खर राखेर घाँसले पोको पारिएको दाना) सुँडले च्यापेर मुखमा पुर्याउन सफल भइहाली। घाँस, पराल पनि च्यापेर खान थालेकी छ।’

हात्तीलाई आवस्यक पर्ने घाँसको व्यवस्था खोरसोरस्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्रले गरेको छ।

रिजालले लामो समयदेखिको नियमित प्रयासपछि चञ्चलकली पुरानै अवस्थामा फर्किएको बताए। अहिले उसको सुँडको घाउ लगभग निको भएको छ। अहिले पनि नियमितरुपमा सुँडमा पाउडर लगाउने गरिएको छ।

‘ऊ अब माउतेले दिएको लठ्ठी पनि च्याप्न सक्छे। भूइँको सिक्का उठाउन चाहि केही समय लाग्नसक्छ,’ रिजालले भने, ‘यति गर्नसक्नु भनेको सामान्य अवस्थामा फर्किएसरह हो। हामी, हात्तीपालक, माउते सबैको प्रयासमा यो सम्भव भयो। ऊ अब काम गर्न पनि सक्ने भएकी छ।’

chanchalkali2 ink 1

चञ्चलकलीका मालिक पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाले हात्तीको प्रगति देखेर खुसी भएको सुनाए। ‘अहिले म चञ्चलकलीले दाना खाएको हेरेर बसिरहेको छु। घटनापछि धेरैले ऊ अब पुरानो लयमा फर्कन सक्दिन भनेका थिए तर आजबाट चञ्चलकली पहिले जस्तै अवस्थामा पुगेकी छ,’ उनले भने।

हात्तीलाई काममा नलगाएपनि बेला-बेलामा हिँडाउने, खुवाउन प्रयास गरिँदै आएको थियो। ‘अब केही दिन आराम गर्न दिएर काममा पठाउन सकिन्छ,’ वन्यजन्तु भेटेरिनरी प्राविधिक किरण रिजालले भने।

सुँड काटिएपछि चञ्चलकलीको रेक्टल विधि (मलद्वारबाट पाइप छिराएर पानी शरीरमा पानी पुर्‍याउने) बाट शरीरमा पानी पुर्‍याइएको थियो। हात्तीले पानी खान नसकेको अवस्थामा शरीरलाई आवश्यक पर्ने पानीको मात्रा रेक्टल विधिबाट पुर्‍याइन्छ।

उसलाई यसअघि दैनिक तीन पटक रेक्टल विधिबाट पानी दिइएको थियो।

चञ्चलकलीको घाउ निको पार्न हरेक दिन आठदेखि दसपटकसम्म घाउ सफा गर्ने गरिएको थियो। एकपटक सिरिञ्जबाट पेनकिलर, एन्टिबायोटिक लगायतका औषधि दिइन्थ्यो।

chanchalkali3 ink

चैत २१ गते राति करिब ११ बजेतिर हात्तीको सुँड काटिएपछि माउते दीपक मर्दनियाले हात्तीपालक पर्यटन व्यवसायी दीपेन्द्र खतिवडालाई फोन गरेका थिए। स्वास्थ्यकर्मीहरू करिब १२ बजेतिर हात्तीसार पुग्दा हात्ती छटपटाइरहेको थियो।

हात्तीको सुँड कसले किन काट्यो भन्ने अझै पनि थाहा हुन सकेको छैन। चितवन राष्ट्रिय निकुञ्ज र चितवन प्रहरीले यसको अनुसन्धान गरेपनि त्यसको प्रगतिबारे कुनै जानकारी नपाएको हात्तीपालक खतिवडाले बताए।

‘काटिएको सुँड ठीक भएर हात्ती पुरानै अवस्थामा फर्किसक्यो तर अनुसन्धानको प्रगति केही पनि छैन,’ सेतोपाटीसँग खतिवडाले भने, ‘हामी त कहिले दोषी पक्राउ पर्ला र कारबाही होला भनेर पर्खिरहेका छौं।’


Last Updated on: May 24th, 2023 at 5:38 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया