tnahu

तनहुँमा ट्रक घरमा ठोक्किँदा तीन जनाको मृत्यु, घाइते पाँच जनाको उपचार हुँदै

समाचार

तनहुँ, २० वैशाख । तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्डअन्तर्गत आँधिखोलामा ना ४ ख १९७३ नं।को ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुग्दा सो हताहती भएको हो ।

आज बुधबार बिहान ९ बजेर २० मिनेटको समयमा जिल्ला तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. ५ आँधीखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो ।

दुर्घटनामा ८ जना घाइते भएको र सबैलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचजना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *