IMG 1086

खल्तीमा ३५ रुपैयाँ छैन, डाक्टरले ३५ लाख लाग्छ भनेपछि…

समाचार

सुर्खेत । ५० नाघेका नन्दप्रसाद जैसी उमेर छँदा भारतका पिथौरागढ, टनकपुर लगायतका क्षेत्रमा पुग्थे । मजदुरी गरे घर खर्च ल्याएर फर्किन्थे । घरमा श्रीमती छप्पकला (४७) खेतीपाती, बालबच्चा हेरचाह गर्थिन् । तीन छोराछोरी गाउँमै विद्यालयमा अध्ययन गर्थे । खानका लागि खेतबारीको अन्नले जसोतसो टर्थ्यो, लत्ताकपडा र बाँकी घर खर्च जसोतसो टर्थ्यो

यसै गरी जैसी परिवारको जिन्दगी चलिरहेको थियो । तीन वर्षअघिको कुरा हो, सबै घरधन्दा सम्हालेकी छप्पकला बिरामी परिन् । पछि थाहा भयो, उनलाई जन्डिस लागेको रहेछ । हुम्लाको ताँजाकोट गाउँपालिका–४, गल्लाबाडाका जैसी परिवारका त्यहीबाट सुरु भए दुःख र रोदनका दिनहरू । नन्दप्रसादको घरदेखि जिल्ला सदरमुकाम पुग्न तीन दिन लाग्छ ।

Laxmi sunrise bank
सन्चो भइहाल्ला भन्ने आशासहित जिल्ला सदरमुकाम लगे, श्रीमतीलाई । त्यहाँ खासै उपचार भएन । सरसापट पैसाको जोहो गरेर सदरमुकाम गएका उनले त्यहाँ उपचार नहुने देखेपछि कतै बाहिर लिने सोचे । तर, सुरुमा बिरामीको पहिचान हुन निकै समस्या भयो । पोखरादेखि पाल्पा–बुटवलसम्म धाए, आऊ–जाउदेखि उपचारमा एक लाख ५७ हजार खर्च भयो । यति ठुलो रकम सायदै उनले कहिल्यै न देखेका थिए, न कमाउन सकेका थिए । उनलाई लाग्यो, श्रीमती सन्चो भए, पैसा त बिस्तारै तिरिहालौँ ला नि ! जन्डिसको उपचार पश्चात् छप्पकला बाहिरी रूपमा सन्चो भएजस्तो भइन् । त्यही आशासहित दम्पती जिल्लातर्फ फर्के । यद्यपि बाहिरी रूपमा सन्चो भएजस्तो भए पनि भित्रभित्र छप्पकला निकै कमजोर बन्दै गएकी रहिछन् । उनी गल्दै गइन् । नन्दप्रसादले के गर्ने कुनै भेउ पाउन सकेनन् । एकातिर पहिल्यै ऋण लगेको तिर्न सकिरहेका थिएनन्, फेरी बिराम बढ्दै गयो । त्यसपछि उनले निर्णय गरे–आऊ–जाऊ गर्न नै हजारौँ रकम खर्च गर्नुपर्छ, ऋणमाथि ऋण, त्यसो गर्नुभन्दा बरु स–परिवार नै बुटवलतिर झर्ने, उतै मजदुरी गर्ने र कमाई भएको रकमले श्रीमतीको उपचार गर्ने ।

IMG 1083
०७७ वैशाखमा स–परिवार बुटवल झरे, जहाँ गाउँकै ठुलो बुबा नाता पर्नेका छोरा थिए । उनले त्यहाँ कोठा मिलाई दिए । दुई वटा कोठामा पाँच जनाको परिवार बस्यो । डाक्टरको सल्लाह अनुसार अस्पताल ओहोर–दोहोर भइरह्यो । बिरामीको अवस्था सुधार हुनुको बढ्दै गयो । शरीर सुनिँदै गयो । त्यसपछि ०७९ चैत्र महिनामा बुटवलको अञ्चल अस्पतालमा लगे । ८० हजार खर्च भयो तर, बिराम सन्चो नै भएन । नन्दप्रसाद भन्छन्, ‘छोराछोरी छुट्टै छोड्न भन्दा काम गर्दै, उपचार र पढाउन पनि सजिलो होला भनेर बुटवल ल्याएको थिएँ ।’ उनका जेठा छोरा २० एचए पढ्छन् । कान्छो छोरा ९ र छोरी १० मा पढ्छन् । उनीहरू बुटवलकै सरकारी विद्यालयमा पढ्छन् अहिले ।

बुटवलमा कहिले कपडा लिएर गाउँमा बेचे त, कहिले सडक मजदुरी गरे । कहिले अरूका खेत खन्ने काम पनि गरे, नन्दप्रसादले । पैसाका लागि के गरेनन्, उनले । पैसा पनि सकिँदै जाने तर, रोग कत्ति नघट्ने भयो । उनले सोचे अब बुटवलमा पनि हुँदैन, काठमाडौँ लानुपर्छ । ‘प्राण भन्दा प्यारी आफ्नो श्रीमती आफ्नै अगाडि तड्पिरहेको म कसरी हेर्न सक्थेँ र ? ’आइतबार वीरेन्द्रनगरमा भेटिएका उनले आँसु झार्दै आफ्नो दुःख पोखे, ‘गत भदौ २२ गते काठमाडौँको वीर अस्पतालमा लगेँ । त्यहाँ पु¥याउने बेलासम्म जन्डिसले भित्रभित्र खाइसके छ । वीर अस्पतालको डाक्टरले लिभरको समस्या छ, बिग्रेको छ भने ।’

IMG 1084
अस्पतालमै बस्नलाई उनको आर्थिक अवस्थाले सक्थेन । डाक्टरले नै चेकअप पश्चात् केही हप्ताको औषधी दिएर कतै बाहिर बस्न सल्लाह दिए । काठमाडौँ मै गाउँकै एक जनाको होटेल थियो, त्यहीँ गए । पैसा थिएन, होटेलमा भाँडा मस्काउनेदेखि सबै सहयोग गरे । तर, पनि १५ दिन जति बसेको २८ हजार तिर्नुप¥यो । उपचारसँगै काठमाडौँको बसाइँ पनि महँगो बन्यो, उनका लागि । अस्पताल ल्याउने लैजाने चलिरह्यो । डाक्टरको सल्लाह अनुसार औषधी खाँदै उपचार हुँदै गयो । ‘सुरुमा बिरामीको समस्या ४२ प्रतिशत राम्रो थियो भने ५८ नराम्रो थियो,’ नन्दप्रसाद भन्छन्,‘तर झन् बढ्दै गयो र ३३ प्रतिशत राम्रो बाँकी नराम्रो भयो ।’ त्यो बेलासम्म पनि रागको वास्तविक पहिचान भएन, चिन्ताले पिरोल्दै लग्यो ।

एक दिन भारतबाट एक जना डाक्टर वीर अस्पतालमा आएका रहेछन् । वीरकै डाक्टरले सुझाव दिए, लिएर आउनुहोला उहाँलाई देखाउनु । उनले त्यसै गरे । कार्तिक २७ गतेको कुरा हो, भारतबाट आएका डाक्टरले दुई महिनाभित्र अप्रेसन (कलेजो प्रत्यारोपण) गरे बाँच्ने नभए गाह्रो छ भनिदिए । छप्पकलाको कलेजो प्रत्यारोपण गर्नुपर्ने भयो । ‘म झसङ्ग भएँ,’ उनी त्यो क्षण सम्झन्छन् । अप्रेसन गरे सन्चो भइहाल्ला नि सोचेर चित्त बुझाएँ । जब डाक्टरले प्रत्यारोपण गर्दा लाग्ने खर्च सुनाए नन्दप्रसाद छाँगाबाट खसेजस्तै भए ।

डाक्टरले भारतमा कलेजो प्रत्यारोपण गरे २५ लाख भारु र नेपालमा ३५ लाख लाग्ने कुरा सुनाए । आफ्नो खल्तीमा ३५ रुपैयाँ रुपैयाँ नभएका बेला ३५ लाख भनेपछि उनको होस नै उडेजस्तो भयो । ‘त्यो बेला खल्तीमा पैसा नै थिएन, त्यत्रो रकम सुनेपछि म त बहोस् जस्तै भएँ,’ उनी भन्छन्, ‘के गर्ने नगर्ने कुनै भेउ पाइनँ । एकातिर चाँडै प्रत्यारोपण नगरे श्रीमतीको मृत्यु हुने अर्कातिर त्यति ठुलो रकम कहाँबाट ल्याउने यो बिरानो सहरमा, चिन्ताले पिरोल्न थाल्यो ।’ होटेलमा बस्न सकिने अवस्था नभएपछि कीर्तीपुरको एक साइटमा कोठा लगे । गाउँमै आफन्त पनि त्यहीँ थिए । उनकै सल्लाह अनुसार मासिक चार हजारमा सामान्य कोठा पाए ।
IMG 1085

‘घर खर्च चलाउन हम्मेहम्मे पर्ने मैले ३५ लाख कसरी बनाउने, मर्नु बाहेक विकल्प छैन,’ त्यो बेलाको क्षण सम्झँदै उनी भन्छन्, ‘श्रीमतीको मुहार हे¥यो रुन मन लाग्ने । गाउँमा मान्छेलाई फोन गरेँ, सबैले हौसला दिए, हामी सकेको सहयोग गरौँला ।’ अहिले नन्दप्रसाद श्रीमतीको उपचार गर्ने रकम कसरी जुटाउने चिन्तामा छन् । रोगको पहिचान नहुँदै भएको सबै आर्थिक रकम सकिएको उनले बताए । अहिलेसम्म दुई लाख ८२ हजार ऋण लागेको छ, उनलाई । जब ऋण गरेको रकम सकियो, त्यसपछि मात्रै रोगको पहिचान भएको उनको भनाइ छ । ‘यो पटक न दसैँ भयो, न तिहार, जेठो छोरा अहिले मम्मीसँगै छ, साना दुई बुटवलमै छन्,’ उनी भन्छन्, ‘म कतै सहयोग पाइन्छ कि भनेर मङ्सिर १० गते (हुम्ला) गाउँतिर गएँ ।’ सहयोगको याचना गर्न हुम्ला जाँदा पनि उनले १० हजार ऋण गरेर गएको बताउँछन् ।

गाउँपालिकाले सहयोगको अपिलसहित सिफारिस समेत बनाइदिएको छ भने दुई लाख सहयोग समेत गरेको छ । गाउँपालिका अध्यक्ष लालकेश जैशीले व्यक्तिगत रूपमा ३३ हजार सहयोग गरेका छन् । अन्य कर्मचारी, बुद्धिजीवीले डेढ लाख जति सहयोग गरेको उनले बताए ।

आधा महिना बित्न थाल्यो उनले १० लाख पनि जुटाउन सकिरहेका छैनन् । छिमेकीकै सहयोगमा शुक्रवार सुर्खेत फर्किएका उनले यहाँका विभिन्न निकायमा कार्यरत व्यक्तिहरूसँग सहयोगको याचना गरिरहेका छन् । उनका अनुसार अप्रेसनको प्रक्रिया सुरु गर्नका लागि सुरुमै १० लाख डिपोजिट गर्नुपर्ने छ रे । उक्त रकम जुटाउन उनलाई निकै कठिन भइरहेको छ ।

‘यसअघि ऋण लिएकाको फिर्ता गर्न सकिएको छैन, फेरि कसरी माग्ने ?,’ उनी भन्छन्, ‘पैसा जुटाउन नसके मर्नु बाहेक विकल्प छैन ।’ कलेजो भने उनकै जेठो छोराले दिने निश्चित भइसकेको छ । जीवन रक्षाको लागि भनेर अहिले उनले सबैलाई सहयोगको याचना गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *