IMG 1078

मेरो घर नेपाल हो, म अहिले युक्रेनको कब्जामा छु’

समाचार

विद्यार्थी भिसामा रुस पुगेका दाङ तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका प्रतीक पुनलाई रुसी सेना बनेर मनग्य आर्थिक लाभ लिने मोह जाग्यो। दुई महिना मस्कोमा बिताएका प्रतीकलाई मनग्य कमाइ हुने लोभसँगै रुसको नागरिक बन्ने मोहले रुसी सेना बन्ने बाटोमा पुर्‍यायो। अन्ततः युक्रेन–रुसबीचको युद्धमा सहभागी उनी युक्रेनी सेनाको कब्जामा परेका छन्।

युक्रेनी सेनाको कब्जामा रहेकै बेला प्रतीकले बोलेको एउटा भिडियो सार्वजनिक भएको छ। उनले भिडियोमार्फत आफू रुसी सेनामा भर्ती भएको र अहिले युक्रेनले आफूलाई कब्जामा लिएको बताएका छन्। ‘मेरो नाम प्रतीक पुन हो। मेरो घर नेपाल दाङ बिजौरीमा हो,’ भिडियोमा उनले भनेका छन्, ‘म रुसी सेनामा भर्ना भएको थिएँ। अहिले युक्रेनको कब्जामा छु।’

प्रतीक केही समयअघि स्टुडेन्ट भिसामार्फत रुस पुगेका थिए। उनी रुसको राजधानी मस्कोमा दुईतीन महिना बसे। त्यसैक्रममा उनले एक एजेन्टमार्फत रुसी सेनामा हुने गरेको भर्तीबारे सुने। भर्नाका लागि समस्या नहुने र मनग्य कमाइ हुने लोभ देखाएका ती एजेन्टमार्फत उनी रुसी सेनामा भर्ती भए। रुसी सेना बनेर मनग्य कमाइ गर्ने लालसामा परेका प्रतीक अन्ततः युक्रेनको नियन्त्रणमा पुगेका हुन्।

रुसी सेनामा भर्ती भएपछि प्रतीकलाई केही महिनाको तालिम दिइएको थियो। तालिमपछि उनी युद्धमैदानमा खटिएका थिए। त्यसैक्रममा उनी युक्रेनी सेनाको कब्जामा परे । एक सातायता प्रतीक घरपरिवारको सम्पर्कमा थिएनन्। उनको भिडियो परिवारले आइतबार देख्यो। ‘

एक साताअघि कुरा हुँदा दादाले अब म अनलाइन आउन पाउँदिनँ भन्नुभएको थियो,’ प्रतीककी बहिनी विपनाले नागरिकसँग भनिन्, ‘आइतबार भिडियो हेरेपछि थाहा भयो, उहाँ कब्जामा पर्नुभएको रहेछ।’

छोराले आफू युक्रेनी सेनाको कब्जामा परेको भन्दै बोलेकोे भिडियो देखेपछि आमा तिलकुमारीको मन आत्तिएको छ। युक्रेनको कब्जामा परेको छोरा कसरी घर फर्केला भन्ने चिन्ताले उनी विचलित बनेकी छन्। ‘काठमाडौं, नेपालगन्जजस्तो ठाउँ भएको भए पनि लिन जाऊँ भन्न हुन्थ्यो,’ उनले भनिन्, ‘रुस भन्ने कता हो कता ? कसरी आउने होला छोरो घर, कसले ल्याइदेला भगवान् ? केही नभई राम्रै आइदिए हुन्थ्यो भगवान्।’

मिर्गाैला काम नलाग्ने भएर तीन वर्ष थलिएर बुवा ताराबहादुरको २०७९ साउनमा निधन भयो। निम्नवर्गीय परिवार चलाउने एउटै उपाय थियो ऋण। प्रतीकका मामाहरूले ऋण सहयोग गरिरहेका थिए। ऋणको भार बढ्दै गएपछि प्रतीकले बिदेसिने योजना बनाए। ‘मामाको ऋण तिर्न बिदेश जान्छु भनिरहन्थ्यो,’ तिलकुमारीले भनिन्, ‘मैले पनि राम्रो देशमा जाने भए जा भनेर अनुमति दिएकी थिएँ।’ २२ वर्षीय प्रतीकले रुसमा विद्यार्थी भिसामा सहजै जान सकिने र राम्रो कमाइ हुने सुनेका थिए। नभन्दै रुस यात्राको प्रक्रिया थालि पनि हाले।

९ लाख खर्चेर उनी गत असारमा रुसका लागि उडे। सुरुमा मस्कोमा बसे। अध्ययनसँगै होटेलमा काम गरे। ‘क्याम्पस पढ्न जान्छु अनि दिउँसो २ बजे देखि होटेलमा काम गर्छु भनेर सुनाउँथ्यो,’ तिलकुमारीले भनिन्, ‘महिनाको ६० हजार रूपैयाँ कमाइ हुन्छ भन्थ्यो।’

अध्ययन र होटेलको काम गर्दै आएका प्रतीकले रुसी सेना बन्ने योजना बनाएछन्। तर उनले त्यसबारे परिवारलाई थाहा दिएनन्। तीन महिनाअघिको एउटा फोन संवादमा बल्ल उनले आफू रुसी सेना बनेको जानकारी परिवारलाई दिए। ‘रुसको सेना बन्न लागेको भनेर उसले हामीलाई सुरुमा भन्दै भनेन,’ तिलकुमारीले भनिन्। उनलाई त्यहाँ युक्रेन र रुसबीच युद्ध भइरहेको जानकारी थियो। सेनाबाट फिर्ता भएर पहिलेकै काममा लाग्न उनले आग्रह नगरेकी होइनन्। तर सेना बन्दा कुनै खतरा नभएको भन्दै प्रतीकले आफ्ना धेरै साथी आफूसँगै सेनामा रहेको र आफूलाई केही पनि नहुने भन्दै परिवारलाई सम्झाइबुझाइ गरेका थिए।

‘बन्दुक कहिले छोएको पनि छैनस्, फेरि त्यहाँ त्यस्तो लडाइँ भइरहेको छ, पुरानै काममा फर्की भनेर मैले धेरै सम्झाएँ,’ तिलकुमारीले भनिन्, ‘तर ऊ साथीहरू पनि सँगै रहेकाले केही नहुने भन्दै मलाई नै सम्झाउँथ्यो।’

प्रतीकले होटेलको कामबाट भन्दा सेना बन्दा धेरै पैसा कमाइ हुने देखेकाले आफू सेनामा प्रवेश गरेको बताउँदै आएका थिए। ‘धेरै पैसा कमाइ हुन्छ, केही पनि नआत्तिनुहोला भन्थ्यो,’ उनले भनिन्, ‘उसले जेजे भने पनि मलाई त्यहाँ लडाइँ भइरहेकाले केही भइहाल्ने हो कि भनेर डर लागिरहन्थ्यो।’ रुसी सेना बनेपछि पनि प्रतीक परिवारको सम्पर्कमै थिए। तर गत साता प्रतीकले बहिनी विपनालाई फोन गरेर अब आफू अनलाइन आउन नपाउने बताएका थिए।

‘गाडी आइसक्यो, अब म जान्छु भन्नुभयो दादाले,’ विपनाले भनिन्, ‘अनलाइन आउन मिल्दैन, नआत्तिनू भनेर फोन राख्नुभएको थियो।’ त्यसयता उनले दिनहुुँ दाजु प्रतीकलाई म्यासेज गरिरहिन्। तर प्रतीकले कुनै प्रतीक्रिया दिएनन्। ‘दादा कब्जामा पर्नुभएको रहेछ र पो सम्पर्कमा आउनुभएको रहेनछ,’ उनले भनिन्, ‘दादालाई कसले ल्याइदेला घरमा ?’

प्रतीकको परिवारलाई छोरा युक्रेनको कब्जामा परेको मलेसियामा रहेका एक गाउँले आफन्तीले थाहा दिएका थिए। भिडियो देखेपछि ती आफन्तीले प्रतीकको घरमा पठाइदिएका थिए। एक्लो छोरा युक्रेनको नियन्त्रणमा पर्दा तिलकुमारी छोरा फर्केर आउन नपाउने पो हो कि भनेर चिन्तित छिन्। तीन छोरीमध्ये कान्छी छोरी बिपनाले अहिले ९ मा पढ्दैछिन्। दुई छोरीको भने विवाह भइसकेको।

रुस पुगेयता प्रतीकले दुईपटक गरेर १ लाख २५ हजार रूपैयाँ घरमा पठाएका थिए। साताअघिको कुराकानीमा उनले केही दिनमै तलब आउने र घरमा पठाउने बताएका थिए। ‘श्रीमान्को मिर्गौला फेल भएर निधन भयो। मेरो आड भरोसा भनेको त्यति एक्लो छोरो हो,’ तिलकुमारीले भनिन्, ‘राम्रोसँग पैसा कमाउला भन्ने बेलामा छोराले कस्तो ठाउँमा खुट्टा हालेछ, फर्केर आए त हुन्थ्यो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *