renu ko chhori 1702023639

रेणु दाहाल भन्छिन्- छोरीभन्दा पहिले म ज्वाइँसँग प्रभावित भएकी थिएँ

समाचार

रेणु दाहाल पहिलो पटक भरतपुरको मेयर बनेको डेढ वर्षजति भएको थियो।२०७५ पुस २१ गते बिहान डाक्टर भोजराज अधिकारी २२ वर्षे युवकलाई लिएर मेयरको निवासमा पुगे।

रेणुलाई लागेको थियो कोही सामान्य युवालाई लिएर अधिकारी आफ्नो घरमा आए।उनले उहाँ को हो, किन ल्याउनुभयो भनेर अधिकारीलाई सोधिन्। युवकले कुरा सुरू गरे। महानगरपालिकामा काम गर्दाको गाह्रो, अप्ठ्यारो, सजिलो विषय सोध्नेदेखि आफ्नो सल्लाह दिनसमेत भ्याए उनले।

नयाँ खोज, अनुसन्धान, राजनीति, अर्थतन्त्रका विषयमा उनको जिज्ञासा र गहिरो अध्ययन देखेर मेयर रेणु दंग परिन्। उनको प्रस्तुति देखेर आकर्षित भइन्। भर्खर २२ वर्षको केटो सानै उमेरमा कति तीक्ष्ण दिमागको रहेछन्, कति परिपक्व कुरा गर्न सक्ने रहेछन् भन्ने लाग्यो। पहिलो भेटमै रेणु उनीसँग प्रभावित भइन्।

‘मलाई त्यतिखेरै मनमा यो केटो पछि मेरी छोरीका लागि उपयुक्त हुन्छ कि भन्ने आएको थियो। आमाको मन त त्यस्तो हुँदो रहेछ,’ उनले सेतोपाटीसँग भनिन्।

करिब पाँच वर्षमा उनले सोचेको कुरा पूरा हुँदैछ। उनलाई भेट्न डा. अधिकारीसँग आएका गोरखाका २७ वर्षीय विज्ञानबाबु रेग्मीले मंसिर २९ गते रेणुकी छोरी प्रतिभा पाठकसँग लगनगाँठो कस्दै छन्।

रेणुलाई पहिलो पटक भेट्दा विज्ञान अमेरिकामा स्नातक तह पढ्दै थिए। पछि फेरि नेपाल आएको बेलामा विज्ञानले रेणुलाई फोन गरे। उनी काठमाडौंमै थिइन्। भेट्न समय मागेपछि घरमै बोलाइन्।

‘उहाँ नेपाल आउँदा विशिष्ट नेताहरूसँग समय मागेर भेट्न जाने गर्नु हुँदो रहेछ। अरू पनि धेरै व्यक्तित्वसँग भेटेर कुरा सुन्ने, जानेको सल्लाह दिने गर्नु हुँदो रहेछ। त्यतिखेरको भेटमा उहाँले देशको विकास, निर्माणको विषयमा धेरै कुरा गर्नुभयो। छोरी पनि त्यहीँ थिइन्। दुई जनाको भेट भएको पहिलो पटक त्यतिखेरै हो,’ रेणुले भनिन्।

विज्ञान गएपछि रेणुले छोरीलाई भनिछन् – छोरी केटो त ठीकै छ नि होइन? राम्रै लाग्या छ मलाई त। तिमीलाई कस्तो लाग्या छ, विचार गर है!

छोरीले त्यो बेला उनको कुरामा त्यति ध्यान दिइनन्।

‘उनले ह्या मात्रै भनिन्,’ रेणुले सुनाइन्, ‘त्यो एकदमै अचानक भएको भेट हो। कुनै योजनाबद्ध थिएन। मैले आफूलाई लागेको कुरा भनेँ। छोरीले राम्रो रेस्पोन्स दिइनन्। अलि फुच्चे केटा देखेर पो हो कि!’

त्यसपछि रेणु र विज्ञानको भने सम्पर्क भइराख्यो।

२०७६ सालमा प्रतिभा स्नातकोत्तर अध्ययनका लागि बेलायत गइन्। उता मेलिन्डा गेट्सको छात्रवृत्तिमा संसारका सात जनामध्ये छानिएर २०७३ सालदेखि अमेरिकाको ड्युक विश्वविद्यालयमा स्नातक तह अध्ययन गरेका विज्ञान स्नातकोत्तर पढ्ने तयारीमा थिए।

२०७७ सालमा एन्चिङ छात्रवृत्तिमा चीनको विश्वविद्यालयमा स्नातकोत्तरका लागि नाम निस्किँदा उनी निकै उत्साहित भएका थिए। तर कोरोना महामारीका कारण चीन जान पाएनन्। उनले दोस्रो प्राथमिकतामा राखेको अक्सफोर्ड विश्वविद्यालय रोज्नुपर्‍यो। यो विद्यालयको वाइडेन्फेल्ड हफम्यान छात्रवृत्ति उनले पाएका थिए। त्यहाँ विकास अर्थशास्त्र अध्ययन गर्न थाले।

यही मेसोमा विज्ञानको भेट प्रतिभासँग भयो। काठमाडौंमा भएको भेट बेलायतमा काम लाग्यो।

‘छोरी मास्टर्स गर्न युके गएकी थिइन्। उहाँ पनि अक्सफोर्ड आउनुभएको रहेछ। त्यहीँ दुई जनाको भेट भयो। चिनजान पनि भयो। संगत बढ्दै गएपछि र उहाँको विषयमा धेरै कुरा थाहा पाएपछि प्रतिभा पनि प्रभावित भइछन्,’ रेणुले भनिन्।

छोरीले विज्ञानसँगको सम्बन्धको विषयमा जानकारी गराउँदा आफूलाई राम्रो लागेको उनले बताइन्। डेढ वर्षअघि विज्ञान नेपाल आएको समयमा उनैले आफ्ना बुबा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गराएकी थिइन्।

‘बुबा प्रधानमन्त्री हुनुभन्दा अघि खुमलटारमा भएको भेटमा मैले उहाँको र छोरीको सम्बन्ध, उहाँको क्षमता, योग्यताको विषयमा जानकारी गराएको थिएँ। बुबा पनि खुसी हुनुभयो। कुरा गर्नुभयो,’ रेणुले भनिन्।

सीता दाहालको निधन भएपछि विज्ञानको परिवार नै बालुवाटार पुग्यो। त्यतिखेर प्रचण्ड प्रधानमन्त्री भइसकेका थिए। ६ महिनाअघि विज्ञान बुबा र भिनाजुलाई लिएर भरतपुरस्थित मेयर रेणुको निवासमा आइपुगे। बुबा ज्ञानेन्द्र रेग्मीले छोराका लागि प्रतिभाको हात मागे। प्रतिभाकी आमा रेणु र बुबा अर्जुन पाठकले त्यो प्रस्ताव स्वीकार गरे।

गोरखाको गण्डकी–७ घ्यालचोक ज्यामिरेघाट घर भएका ८२ वर्षीय ज्ञानेन्द्र रेग्मी (विज्ञानका बाबु) किसान हुन्। विज्ञान जन्मिनु अघिबाटै खेतीपातीबाट हुने आम्दानीले चल्दै आएको परिवारको आर्थिक अवस्था उनले पिएचडी सक्नै लाग्दा पनि उस्तै छ।

renu ko chhori1 1702024120

आमा मायादेवीको कोखबाट पाँच वटी छोरीपछि विज्ञानको जन्म भएको थियो। उनले गोरखाको शिव निम्न माध्यमिक विद्यालयमा कक्षा ४ सम्म पढे। कक्षा ५ पढ्न चितवनको झुवानी आइपुगे। यहाँ उनको ठूलीआमाको घर थियो।

ठूलीआमाका छोरा राजाराम रेग्मीका अनुसार चितवनमा कक्षा ५ पढ्दै गरेका विज्ञानलाई भिनाजुले पोखराको गण्डकी बोर्डिङ स्कुलमा पढ्न भनेर परीक्षा दिन लगेका थिए। उनले त्यहाँ कक्षा ४ मा पढ्न एक नम्बरमा नाम निकाले। त्यहीँबाट एसएलसीसम्मको पढाइ सके।

१६ वर्षकै उमेरमा उनी बेलायतमा प्लस-टु तहको अध्ययनका लागि छनौट भएका थिए। पेस्टालजी युकेले विश्वभरका १५ जना विद्यार्थी छनौट गर्दा विज्ञान पनि परेर छात्रवृत्तिमा पढ्ने अवसर पाएको राजारामले बताए।

‘भाइ सानैदेखि तीक्ष्ण थिए। पढाइमा सधैं उत्कृष्ट हुन्थे,’ राजारामले भने, ‘विदेशमा पनि उनले आफ्नो क्षमता देखाए।’

बेलायतमा छँदा उनको अर्थशास्त्रप्रतिको मोह बढ्यो। उनले त्यहाँका विभिन्न युवा संगठनहरूको नेतृत्व लिने अवसर पाए। राजनीतिज्ञहरूसँग काम गर्ने मौका पनि मिल्यो। अमेरिकामा स्नातक तह पढ्दा पनि उनले नेतृत्व विकासलाई प्राथमिकता दिए। मलेसिया, जर्मनी, कोस्टारिका लगायतका १५ देशको भ्रमण गर्ने अवसर पाए।

अक्सफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेलगत्तै विज्ञानले इटलीस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा आबद्ध भएर अफ्रिका र दक्षिण अमेरिकासँग सम्बन्धित र स्कटल्यान्डस्थित लगानी व्यवस्थापन संस्था बैली जिफोर्डमा आबद्ध भएर एसिया–प्रशान्तसँग सम्बन्धित विकास र लगानीको क्षेत्रमा काम गरेका थिए।

अहिले उनी दिगो विकास छात्रवृत्तिमा स्विट्जरल्यान्डबाट अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन्।

‘म सामान्य नेपाली किसानको छोरोको शिक्षादीक्षामा विभिन्न देश र संस्थाले पछिल्लो दस वर्षमा १० करोड रूपैयाँ बराबरको लगानी गरेका छन्। आउने दिनहरूमा मेरो पढाइ र सिकाइलाई समाजको उन्नयनका लागि उपयोग गर्ने अठोट छ,’ विज्ञानले भने, ‘असीको दशक अब जिम्मेवारी बहनको दशक हुनेछ– व्यक्तिगत, पारिवारिक र सार्वजनिक जिम्मेवारीको।’

आउने दस वर्ष पनि उनी गएको दस वर्षकै मन्त्र लिएर अघि बढ्ने बताउँछन्।

‘लक्ष्य प्राप्तिका लागि आउने १० वर्ष पनि म प्रतिस्पर्धा, परीक्षण, इमानदारिता र विनयशीलताका साथ अघि बढ्ने छु,’ उनले भने।

प्रतिभा २०५५ सालको भदौ ३० गते भारतको पञ्जाबमा जन्मिएकी थिइन्। तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरू गरेपछि परिवार नै भूमिगत भएको अवस्थामा उनको जन्म भारतमा भएको थियो। उनले विद्यालय शिक्षा काठमाडौंको सेन्ट जेभियर्स स्कुलबाट पूरा गरिन्। स्नातक तह काठमाडौंमै पूरा गरेपछि उनी स्नातकोत्तर पढाइका लागि बेलायत गएकी थिइन्। उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट इन्टरनेसनल बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर पूरा गरेकी छन्।

प्रतिभालाई बेलायत जानुअघि परिवारले पढाइ जहाँसुकै गरे पनि काम नेपालमै गर्नुपर्छ भनेर ‘काउन्सिलिङ’ गरेर पठाएको उनकी आमा रे‌णु बताउँछिन्।

‘यो कुरामा उनी अडिग नै छिन् जस्तो लाग्छ। हिजोआज मैले योजना के छ भनेर सोधेको त छैन, तर देशमै केही गर्नपर्छ, आत्मनिर्भर बन्नुपर्छ भन्ने चाहिँ उनमा सधैं छ,’ रेणुले भनिन्, ‘ज्वाइँको पनि नेपालमै आएर योगदान गर्ने तीव्र इच्छा छ। अवसर, सम्भावना र काम गर्ने वातावरण भयो भने आफ्नो विज्ञता यहीँ प्रयोग गर्ने उहाँको चाहना रहेको बुझेका छौं।’

रेणुले केही दिनअघि छोरीको हुनेवाला घर हेर्न गोरखा पुगेको प्रसंग पनि सुनाइन्।

‘केटो हेरेर यसै छोरी दिन लाग्या छौं। घर त देखेको छैन। एक पटक हेर्न जाने कि भन्ने लाग्दै थियो। भूकम्पले जाजरकोटमा क्षति पुगेपछि राहत सामग्री लिएर त्यता जाने तयारी हुँदै थियो। केही कारणले तय गरिएको दिन नजाने भइयो। केही साथी पनि हुनुहुन्थ्यो। हामी श्रीमान–श्रीमती ल छोरीको हुनेवाला घर पनि हेरौं न त एकपटक भनेर निस्कियौं। उहाँहरूलाई थाहै नदिई गइयो। एकदमै सामान्य रहेछ घर, परिवार।’

उनले राम्रो क्षमता, विज्ञता भयो भने अरू कुरा गौण हुन्छ भन्ने उदाहरण विज्ञान र प्रतिभाको सम्बन्ध भएको बताइन्।

‘मान्छेको पढाइ र क्षमताको अगाडि हाइ-प्रोफाइल र लो-प्रोफाइल भन्ने कुरा त आखिर केही रहेनछ। अरू कुरा भनेको त पछि बन्दै जाने हो,’ उनी भन्छिन्।

विज्ञानलाई पहिलो पटक रेणुको घर लिएर पुगेका डा. भोजराज अधिकारीले विवाह निश्चित भएपछि विज्ञानले फोन गरेर धन्यवाद र निम्तो दुवै दिएको बताए। मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालले फोन गरेर विज्ञानले भेट्न चाहेको बताएपछि धेरै वर्षअघि भोजराज उनीसँग भेट्न तयार भएका रहेछन्।

विज्ञानले भरतपुरको पारस बसपार्कमा छु भनेपछि भोजराज गाडी लिएर त्यहीँ पुगे। विज्ञानको कुराले प्रभावित भएका उनले उनको इच्छाअनुसार मेयरसँग भेट गराएको बताए।

‘देशको राजनीति, विकास, अर्थतन्त्र राम्ररी बुझेका रहेछन्। सबै राजनीतिक दलका नेताहरूलाई भेटेर कुरा सुन्ने, आफ्ना कुरा राख्ने गर्दा रहेछन्। मलाई पनि पहिल्यैदेखि फलो गरिरहेका रहेछन्,’ डा. भोजराजले सेतोपाटीसँग भने, ‘यत्तिको युवाले मेयरलाई भेट्छु भनेपछि भेटाउनुपर्छ भनेर लगेको थिएँ। कुरो यहाँसम्म पुग्ला भन्ने त कहाँ सोचियो र त्यतिखेर!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *