bishnu 1

भोलि उत्पत्तिका एकादशी: एकादशी मध्ये पहिलो एकादशी, भुलेर पनि नगर्नुहोस यस्तो गल्ति हुनसक्छ अनिष्ट !

धर्म सस्कृति

मङ्सिर महिनाको कृष्णपक्षमा आउने एकादशीलाई “उत्पत्तिका एकादशी” भनिन्छ । धार्मिक मान्यता अनुसार हिन्दु पञ्चाङ्गको एघारौँ तिथिमा पर्ने हरेक एकादशीको उत्पत्ति आजकै तिथिमा भएको थियो। आजको यस विशेष दिनमा एकादशीको उत्पत्ति भएको हुनाले यसलाई “उत्पत्तिका एकादशी” नामकरण गरिएको हो । सबै एकादशी मध्ये “उत्पत्तिका एकादशी” पहिलो भएको हुनाले एकादशीको व्रत लिने व्यक्तिहरूले आजकै दिनबाट एकादशी व्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ । एकादशी “कृष्ण पक्ष” र “शुक्ल पक्ष” गरी महिनामा २ चोटि पर्ने गर्दछन् , जस मध्य पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र औँसी पछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ।

उत्पत्तिका एकादशी व्रत कथा
पद्मपुराणमा धर्मराज युधिष्ठिरद्वारा भगवान् श्रीकृष्णसित पुण्यमयी एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राख्नुभयो -पुण्यमणि एकादशी तिथि कसरी उत्पन्न भयो ? “एकादशी’ तिथिलाई यो संसारमा किन पवित्र मानियो ? किन यो तिथि सबै देवताहरूको लागि प्यारो भयो ? धर्मराज युधिष्ठिरको सम्पूर्ण जिज्ञासाहरू मेट्दै भगवान् कृष्णले बताउनुभयो- सत्ययुगमा मुर नामक ज्यादै भयङ्कर दानव थियो जसले देवराज इन्द्रलाई समेत इन्द्रासनबाट हटाइ स्वर्गमाथि आफ्नो आधिपत्य जमायो। देवताहरूले दुःख भोग्नुपर्‍यो। अनि सबै देवता मुर दैत्यबाट छुटकारा पाउन महादेवको शरणमा पुगे। महादेवले देवताका समस्या थाहा पाउनुभयो र यस समस्याको समाधान गर्न भगवान् विष्णुको शरणमा जानुपर्ने सल्लाह दिनुभयो। त्यसपछि देवगणलाई साथमा लिई महादेव स्वयं क्षीर सागर जानुभयो। त्यहाँ शेष नागको शय्यामा योग-निद्रामा लीन हुनु भएका भगवान् विष्णुलाई साष्टाङ्ग गर्दै वहाँलाई प्रसन्न तुल्याउन महादेव लगायत सबै देवताहरूले स्तुति गरे।

देवताहरूको स्तुतिबाट प्रसन्न हुँदै भगवान् बिउझनुभयो । सबै देवगणले भगवान् विष्णुलाई दानव “मुर”को अत्याचार सुनाए, जुन सुनेर भगवान् विष्णु निक्कै क्रोधित हुनुभयो र भगवान् श्री विष्णुले त्यस अत्याचारी दैत्य उपर आक्रमण गरी देवताहरूको सङ्कट हरण गर्ने वाचा गर्नुभयो। युद्धका क्रममा असङ्ख्य असुरहरूको भगवान् विष्णुले संहार गर्नुभयो तर मुर दैत्य मारिएको थिएन। त्यसपछि दानव मुर र भगवानका बीचमा लामो समयसम्म युद्ध भयो। लगभग एक हजार वर्षको युद्ध लडेपछि भगवान् विष्णु समेत थाक्नुभयो र दानव “मुर”को शक्ति क्षीण भएको देखेर युद्ध त्यागेर नारायण बदरिकाश्रम जानुभयो, त्यहाँ रहेको बाह्र योजन लामो सिंहावती गुफामा गएर फेरि सुत्नुभयो र निद्रा लीन हुनुभयो। दानव मुरले भगवान् विष्णु सुतेको थाहा पायो र वहाँलाई मार्ने उद्देश्यले गुफामा प्रवेश गर्यो। दैत्य प्रवेश गर्नासाथ श्रीहरिको शरीरबाट दिव्य अस्त्र-शस्त्रले युक्त एउटी अति रूपवती कन्या उत्पन्न भइन् । ती देवीले निक्कै बहादुरीको साथमा दानव मुरको सामना गरिन र केही बेरमै मुरलाई रथ र अस्त्र विहीन बनाइदिइन। आफ्नो शक्तिको अहंकार भरिएको दानव मुर देवीलाई हमला गर्न अघि बढ्यो, तर देवीले त्यस दानवको छातीमा निक्कै कडासँग प्रहार गरिन र उसलाई लडाएर घाटी छिनाली दानव मुरको वध गरिदिइन। नारायण जागा भएपछि दानव मूरको मृत शरीर देखेर विस्मित भई सोध्दा ती कन्याले भगवानलाई आततायी त्यस दैत्यको वध आफूले गरेको कुरा बताइन् । कन्याको यस्तो अद्भुत पराक्रमबाट प्रसन्न भएर भगवान् विष्णुले एकादशी नामक ती कन्यालाई मनोवांछित वरदान माग्न भन्नुभयो। जसको उत्तरमा “एकादशी” ले भगवान् विष्णुसँग त्यो पुण्य तिथिमा व्रत बस्ने सबै भक्तालुको आफूले पाप नाश गर्दिन सकूँ भनी वरदान मागिन, जसलाई भगवान् विष्णुले तथास्तु भने स्वीकार गर्नुभयो। त्यति मात्र नभई भगवान् विष्णुले उसलाई आफ्नो प्रिय तिथि घोषित गरिदिनुभयो।

श्रीहरिद्वारा अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भइन। जो मनुष्यले जीवनपर्यन्त एकादशीको व्रत बस्दछ, त्यो मरणोपरान्त वैकुण्ठ पुग्दछ। एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि छैन। एकादशी-माहात्म्य सुन्नाले मात्र सहस्र गोदानको पुण्य फल प्राप्त हुन्छ। एकादशीमा व्रत बसेर रात्रि-जागरण गर्नाले व्रत लिने व्यक्ति श्रीहरिको अनुकम्पाको भागीदार हुन पाउँछ। व्रत बस्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नको परित्याग गर्नुपर्छ। एकादशीमा अन्न सेवन गर्नाले पुण्य नाश हुन्छ तथा ठुलो दोष लाग्छ। यस्ता मानिसले एकादशीका दिन एक समय फलाहार गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *