आइतबार ०९ बैशाख २०८१

Durga Prasai 9UpsXIOKpK

सुदूरपश्चिमतिर एउटा कहावत (उखान) छ, ‘तेल कम चडचडी झिक्क’ ! अर्थ हुन्छ थोरै तेलले बढी चढहढाहट गर्नु। अर्थात् थोरै उपस्थितीमा धेरै कोलाहल गर्नु।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेबाट काठमाडौं उपत्यकामा गरेको ‘राजावादी आन्दोलन’ करिब–करिब यही कहावतसँग नजिक हुँदै अन्ततः तुहिएको छ। प्रसाईं समूहले आन्दोलन थालेको आज (मंसिर १३ गते) एक हप्ता पूरा हुँदैछ। सम्भवतः आज काठमाडौंका कुनै पनि ठाउँमा प्रसाईं समूह व्यानर बोकेर निस्केको देख्न पाइने छैन।

माथि उल्लेखित कहावत जस्तै प्रसाईंले गणतन्त्रविरुद्ध उपत्यकामा लाखौं मान्छे उतारेर प्रदर्शन गर्ने उद्घोष गर्दैगर्दा सरकार एवं प्रमुख राजनीति दलहरू झस्किएका थिए। प्रसाईंले आफू नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक वचाउ महाअभियान’ को ब्यानरमा मंसिर ७ गतेदेखि ‘वृहत नागरिक मुक्ति आन्दोलन’ को घोषणा गर्दा गणतन्त्र नढलेसम्म निरन्तर आन्दोलन गर्ने दाबी गरेका थिए।

आफ्ना पुराना सहयोगी प्रसाईंले यो घोषणा गर्दा सबैभन्दा बढी पीर प्रधानमन्त्री पुष्पकमल दाहाललाई परेको थियो। प्रसाईंले घोषणा गर्दैमा लाखौं मान्छे आउने/नआउने, गणतन्त्र ढल्ने/नढल्नेसम्मको अध्ययन नगरी प्रधानमन्त्री दाहाल आत्तिएजस्तो देखिएका थिए।

दाहालले आफ्नो सरकारी निवास बालुवाटारमा पटक–पटक प्रमुख पार्टीका शीर्ष नेताहरूलाई डाँकेर आफ्नो पीर बाँड्न कोसिस गरेका थिए। कतिसम्म भने मुलुक जाजरकोट भूकम्पले स्तब्ध रहँदा पनि दाहाललाई प्रसाईंको कथित राजतन्त्रवादी हुंकारको पीरले सताउन छाडेको थिएन।

दाहालले त्यसैबीचमा पनि शीर्ष नेताको बैठकमा व्यवस्थाविरोधी गतिबिधि बढेको भन्दै त्यसविद्ध एकढिक्का हुन प्रस्ताव राखेका थिए। कतिपयले यसलाई भूकम्पको त्रासदीमा व्यवस्थाको चिन्ता गर्नु प्रधानमन्त्रीको संवेदनाहीन राजनीति भनेर आलोचना समेत गरेका थिए। केहीले राजतन्त्रको भूत देखाएर दाहाललेको सत्ता लम्ब्याउने रणनीति भन्नसम्म भ्याए।

अर्को पीर प्रसाईंका ‘हजुरबा’ अर्थात् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई परेको थियो। राजावादी अजेन्डा बोकेर हिँड्दा नाती (प्रसाईं) ‘बहुलाएको’ उनको निष्कर्ष थियो। एमाले–माओवादी केन्द्रको विभाजनपछि एमाले लागेर केन्द्रीय सदस्यसम्म बनाइएका प्रसाईं ओलीका भित्रिया नाती बनेका थिए। तर, गएको २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि प्रसाईं असन्तुष्ट भएको बताइन्छ। त्यसपछि ०७९ फागुन १ गतेदेखि प्रसाईंले छुट्टै राजावादी अभियान चलाउन थालेपछि एमालेले उनलाई पार्टीबाट निस्कासन गरेको थियो।

त्यसयता प्रसाईं एमाले र हजुरबा ओलीसँग बढी आक्रामक देखिन्छन्। केही समयअघि प्रसाईंले कम्बोडियाको टेलिकम कम्पनीमा ओलीको अर्बौ लगानी गरेको विवादित वक्तव्य नै दिएका थिए।

एमाले र ओलीविरुद्ध प्रसाईं चर्को सुनिन थालेपछि मैदानमा एमाले नेता महेश बस्नेतको ‘इन्ट्री’ भयो। पछि बस्नेतले ‘बा’ (ओली) लाई हजुरबा भन्ने प्रसाईंको आफू ‘काका’ परेको बताउँदै ‘भतिजो बहुलायो’ भनेर मोर्चा सम्हालेका थिए।

बस्नेतले आफू इन्चार्ज रहेको राष्ट्रिय युवा संघलाई प्रसाईंविरुद्ध परिचालन गर्न थाले। यसैक्रममा युवा संघका कार्यकर्ताले प्रसाईंलाई कालोमोसो पनि दलेका थिए। उता प्रसाईं समूहले पनि झापामा आयोजित बस्नेतको कार्यक्रम बिथोल्न कोसिस गरेका थिए।

प्रसाईंले मंसिर ७ गते काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने तय गरेपछि युवा संघले पनि सोही दिन त्यहीँ ठाउँमा प्रदर्शन गर्ने कार्यक्रम तय गर्‍यो। युवा संघको कार्यक्रम सरकारविरुद्ध भनिएपनि मूलतः प्रसाईंको अभियानविरुद्ध लक्षित थियो।

यता प्रसाईंको घोषणाले तर्सिएको दाहाल सरकारलाई युवा संघको घोषणाले सुरक्षा व्यवस्था मजबुत बनाउने ‘बहाना’ दियो। माइतीघरमा दुबै समूहको कार्यक्रम जुधेको र सम्भावित झडपलाई रोक्न भन्दै जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि नयाँबानेश्वरसम्मको क्षेत्रलाई निषेधित गर्‍यो।

ललितपुर जिल्ला प्रशासन कार्यालयले त कानुनमै नभएको ६ महिनासम्म आफ्नो क्षेत्रलाई प्रदर्शन निषेधित घोषणा गर्‍यो। प्रसाईं समूहले लाखौं मान्छे उतार्ने भनेपछि तर्सिएको दाहाल सरकारलाई सुरक्षा निकाय र गृहमन्त्रालय मातहतका गुप्चतरी निकायले समेत वास्तविक रुप बताएनन्। बरु उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनअनुसार गृहमन्त्रालयको समन्वय र प्रमुख सुरक्षा निकाय सम्मिलित ‘विशेष सुरक्षा योजना’ बनाएर लागु गरियो।

बाक्लो सुरक्षा तैनाथीमा मंसिर ७ गते प्रसाईं समूहले बल्खु र युवा संघले तीनकुनेमा कार्यक्रम गरे। बल्खुमा केहीबेर तनाव भएपनि तीनकुनेको कार्यक्रम शान्तिपूर्ण सकियो।

उता प्रसाईंले दाबी गरेअनुसार न लाखौं मानिस सडकमा आए, न सरकार तर्सिएजस्तो ठूलै सुरक्षा जोखिम देखियो। बरु गणतन्त्र नढलेसम्म जारी रहने भनिएको प्रसाईंको आन्दोलन एकहप्ता नपुग्दै तुहिएको छ। आन्दोलन तुहिदा प्रसाईंलाई क्षति पुगेको छ नै, माथि कहावतजस्तै प्रसाईंको आन्दोलनको आकार बुझ्न नसकेर डराएको गणतान्त्रिक सरकारको कमजोर मानसिकता पनि उदांगो भएको छ। राजावादीहरूले त त्यसलाई गणतन्त्रको ‘जग हल्लिएको’ भन्दै टीप्पणी गर्न थालेका छन्।

प्रसाईंको ‘हौवा’ र वास्तविक रूप

प्रसाईंले लाखौं मानिस उतारेर काठमाडौंमा प्रदर्शन गर्ने एक किसिमले हौवा सिर्जना गरेका थिए। जसबाट सरकार र प्रमुख राजनीतिक दल त तर्सिएका थिए नै जनमानसमा समेत मंसिर ७ गते नै पूर्वराजा ज्ञानेन्द्र शाह नारायणीहिटी फर्किने किसिमको भ्रम सिर्जना भएको थियो।

स्वयम् प्रसाईंले नै उद्घोष गरेका थिए, ‘श्रीलंका जस्तै १० औं लाख जनता गएर सिंहदरबारबाट भ्रष्ट नेता लखेट्ने र पूर्वराजा ज्ञानेन्द्रलाई नारायणीहिटी दरबारमा पुनःस्थापित गर्ने !’ कतिपय उनका र उनका समर्थकका वक्तव्यहरू हिंस्रक पनि सुनिएका थिए।

प्रसाईं र उनका समर्थकहरूले देशभरी र भारतबाट हज्जारौं सवारी साधनमार्फत लाखौं नागरिकहरू समेत काठमाडौं आउनलागेको भन्दै भ्रम फैलाएका थिए।

काठमाडौंका दर्जनौं पार्टी प्यालेस, घरलगायत संघसंस्थाका कार्यालयले सित्तैमा त्यो भीडलाई खानबस्न व्यवस्था गर्ने हौवा फैलाइएको थियो। प्रसाईं र उनका समर्थकहरू १० देखि १५ लाख जनता सडकमा ओर्लिने भन्दै दावा पेस गरिरहेका थिए।

जसबाट त्रसित राज्यसंयन्त्र सीमानाकाहरूमा बाक्लो पहरा दिँदै खटिएको थियो। काठमाडौंका पार्टीप्यालेस, धार्मिक संघसंस्था, मन्दिर, व्यक्तिका घरहरूमा समेत प्रहरीले निरीक्षण गर्न थालेको थियो। विशेष सुरक्षा योजनाअन्तर्गत हज्जारौको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएका थिए। राष्ट्रिय अनुसन्धान विभागको टोलीलाई गुप्तचरीमा छ्यापछ्याप्ती छाडिएको थियो।

यसरी परिचालित सुरक्षा निकायहरूले मंसिर ६ गते निष्कर्ष निकाले, ‘प्रसाईं र उनका समर्थकले भनेजस्तो लाखौं जनता सडकमा निस्कन्नन्। उनको दाबी हौवा मात्रै रहेछ।’

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) दीपक थापाले प्रसाईंको आन्दोलनमा ६ देखि ८ हजार मात्रै मान्छे उत्रिने ठोकुवा नै गरेका थिए।

‘काठमाडौंमा ढोल बजेमात्रै २/३ हजार उत्रिहाल्छन्। चारहजार जति बाहिरबाट ल्याएका र आएका व्यक्ति छन्,’ एआइजी थापाले भनेका थिए,‘बाँकी घाम ताप्ने मौसम छ, घाम ताप्न, मुमफली खान आउने मानिस थपिएलान्।’

यसरी सुरक्षा निकायले करिब–करिब प्रसाईंको हौवाको सत्यतासहित शक्तिको घनत्व बुझिसकेको थियो। यद्यपी उक्त आन्दोलनमा अनेक स्वार्थ र योजना भएका व्यक्ति तथा समूह थिए। त्यसैले भीडमा कसैको नियन्त्रण नहुने देखेपछि सुरक्षा निकायले सोहीअनुसारको सुरक्षा योजना बनायो।

पहिलो दिन (मंसिर ७ गते) प्रसाईं समूहले बल्खुमा गरेको प्रदर्शनमा १० हजारकै हाराहारीमा सहभागि भए। सुरक्षा निकायले आकलन गरेजस्तै भीडमा राजतन्त्र चाहने, हिन्दुराष्ट्र मात्रै चाहने, राजनीतिक दल र नेताहरूसँग असन्तुष्ट रहेका व्यक्ति, मिटरब्याज पीडित, बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेका समूहदेखि अनेक समूह थिए।

ज्ञानेन्द्र शाहीलगायत राप्रपाको एक तप्का देशभरीबाटै आएको थियो। प्रसाईं समूहका अभियान्ताकै कुरा मान्ने हो भने पनि ३०० भन्दा बढी विभिन्न संघसंगठन र समूह प्रसाईंको आन्दोलनमा ओर्लिएका थिए। यस्तै कैयौं व्यक्तिहरू आन्दोलनको हौवा सुनेकाले हेर्न मात्रै आएका थिए।

अभियान्ता एवं सह प्रवक्ता राजानन्द माण्डब्यले नै यतिधेरै समूह सहभागि आन्दोलन कसैको नियन्त्रणमा हुनु सम्भव नरहेको बताएका थिए। नभन्दै बल्खुको प्रदर्शनमा भयो त्यस्तै। आन्दोलनको नेतृत्वकर्ता प्रसाईं लगायतका समूह त्रिवि परीक्षा नियन्त्रण कार्यालयअघि कोणसभा गरिरहँदा ललितपुरबाट बल्खु चोकमा पुगेको समूहले कुलेश्वर–कालिमाटी–त्रिपुरेश्वर हुँदै माइतीघरसम्म जाने भनेर प्रहरी निषेधाज्ञा तोड्न खोजेको थियो। तर प्रहरी रोकिरहेको थियो।

यत्तिकैमा प्रसाईं र राप्रपा नेता शाही आक्रामक भाषण दिएर बल्खु चोक पुग्दा भीड अझैँ उत्तेजित भएर ढुंगामुडामा उत्रियो। त्यसपछि प्रहरीले अश्रुग्यास, पानीको फोहरा र रबरको गोली हानेर प्रदर्शनकारीलाई सजिलै तितरबितर बनायो। यद्यपी सो क्रममा २३ जना प्रदर्शनकारी र ५ प्रहरी घाइते भए। प्रहरीले केही घण्टामै बल्खुचोकको स्थिती नियन्त्रणमा लिएको थियो।

बल्खु चोकको प्रदर्शन र झडपबाट सुरक्षा निकाय र प्रशासनले प्रसाईं समूहले सिर्जना गरेको राजतन्त्रवादी हौवाको बेलुन फोडिदियो।

लिङदेनको रणनीति, पूर्वराजाको सन्नाटा

प्रसाईंले राजतन्त्र र हिन्दुत्वको मुद्दा उठाएर अभियान थाल्दा गणतन्त्रवादी भन्दा बढी त्यहीँ अजेन्डामा राजनीति गरिरहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको टाउको दुखाई बनेका थिए। लिङदेनकै अडानका कारण सिंगो राप्रपा प्रसाईंको आन्दोलनमा होमिएको थिएन।

लिङदेन बेलाबेला बैंक ऋण नतिरेर अराजतकता फैलाउँदै हिँडेको विवादित व्यापारीले राजतन्त्र र हिन्दुराज्य बनाउन नसक्ने भन्दै अभिव्यक्ति दिँदै आएका छन्।

गत फागुन १ गते प्रसाईंले झापाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक वचाउ महाअभियान’ सुरु गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवार सहभागि भएको थियो। त्यसबेला लिङदेन एमाले अध्यक्ष ओलीको प्रस्तावमा दाहाल सरकारको उपप्रधानमन्त्री थिए। कतिपयले दाहाल नेतृत्वको सरकारमा लिङदेनसहित राप्रपा सहभागि भएको पूर्वराजालाई चित्त नबुझेको बताउँदै आएका छन्। जुन असन्तुष्टि देखाउन उनी सपरिवार प्रसाईंको कार्यक्रममा सहभागि भएको बताइन्छ।

त्यसपछि पूर्वराजासँग तर्सिएका लिङ्देन दुई साता नपुग्दै हतपत सरकारबाट बाहिरिएका थिए। यद्यपी उनले राष्ट्रपति निर्वाचन पछि फेरिएको सत्ता समीकरणलाई बहाना बनाए। सरकारबाट बाहिरिए लगत्तै पूर्वराजासँग सम्बन्ध सुधार गर्न उनले अनेक तिकडम गर्नुपरेको जानकारहरू बताउँछन्।

उसो त लिङ्देन र प्रसाईंबीचको सम्बन्धमा झापा राजनीति र एमाले पनि जोडिन्छ। प्रसाईं एमालेमा रहँदा झापा–३बाट प्रतिनिधिसभा टिकटका आकांक्षी थिए। एमाले अध्यक्ष ओलीले उनलाई वचन समेत दिएको बताइन्छ। झापा–३ राप्रपा अध्यक्ष लिङ्देनको क्षेत्र हो।

०७९ मंसिरको निर्वाचनमा पाँचदलीय गठबन्धन भएपछि एमाले अध्यक्ष ओलीले आफूसमेत संकटमा पर्ने मूल्यांकन गरेर झापा–३ मा लिङ्देनलाई सघाउने रणनीति लिए। प्रसाईं जिल्लिए। पार्टीले लिङ्देनलाई सघाउने निर्णय गर्दा प्रसाईंले आफू गणतन्त्रवादी रहेको दाबी गर्दै ‘गणतन्त्रवादीले राजावादीलाई कहिल्यै भोट नहाल्ने’ भन्दै विरोध गरेका थिए।

यसरी लिङ्देनका कारण एमालेसँग पनि दुरी बढाएका प्रसाईं त्यसको तीन महिना नबित्दै आफै पूर्वराजा बोकेर राजावादी देखिए। प्रसाईं र लिङ्देनको राजनीतिमा भविष्यसम्म पनि एउटै निर्वाचन क्षेत्रको प्रतिस्पर्धा कायम रहने जानकारहरू बताउँछन्। यहीकारण समान अजेन्डामा पुग्दा पनि दुबै एकअर्काविरुद्ध देखिन्छन्।

प्रसाईंका पछिल्ला गतिबिधिबाट राजतन्त्र र हिन्दुत्व मुद्दाको नेतृत्व आफूबाट खोसिने भय लिङ्देनले देखेका छन्। जुन उनले यसअघि कमल थापाबाट खोस्न भ्याएका थिए। थापाले यीनै अजेन्डा भजाउँदै सत्ताको सिढी चढेको आरोपमा पूर्वराजाले लिङ्देनलाई सघाएर राप्रपाको नेतृत्वमा पु¥याएको बताइन्छ। आफू पूर्वराजसंस्थाकै असहयोगमा हारेको स्वयम् थापाले पनि आरोप लगाउने गरेका छन्। ठ्याक्कै बिगतमा थापालाई लाग्दैगरेको आरोप अहिले प्रसाईं र उनका समर्थकले लिङ्देनलाई लगाइरहेका छन्।

यस्तोमा लिङ्देनले राजधानीमा चलिरहेको प्रसाईंको आन्दोलन कमजोर पार्न मंसिर ९ गते पूर्वराजा शाहको उपस्थितीमा भएको झापाको कार्यक्रमलाई उपयोग गरे।

विर्तामोडमा रहेका इकम कलेजमा पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा ‘शक्ति प्रदर्शन’ गर्ने भन्दै लिङ्देनले प्रसाईंको आन्दोलनमा सहभागि हुन काठमाडौं आएका राप्रपा नेताकार्यकर्ता र राजावादी समूहलाई झापा डोर्‍याए।

जसबाट आन्दोलनमा आएका झण्डै आधाभन्दा बढी राजावादी र हिन्दुवादी शक्ति झापातिर लाग्दा यता आन्दोलन कमजोर हुन पुगेको प्रसाईं समूहका अभियान्ताहरूको दाबी छ।

यस्तै प्रसाईंको आन्दोलन तुहिनमा पूर्वराजा ज्ञानेन्द्रले कुनै अभिव्यक्ति नदिनु पनि एक कारण रहेको अभियान्ताहरू बताउँछन्। ‘राजतन्त्रकै लागि मानिसहरू सडकमा ओर्लिएका छन्। राज्यको दमन सहिरहेका छन्। तर स्वयम् पूर्वराजा नै उनिहरूले बोकेको अजेन्डामा नबोलिदिदा आन्दोलन कमजोर हुनपुग्यो,’ प्रसाईं समूहका सह प्रवक्ता माण्डव्य भन्छन्,‘जसका लागि आन्दोलनमा आइयो उही बोल्दैन भने किन सडकमा कुटाई खाने ? किन थुनिने भन्ने परेको छ।’

प्रसाईंको अराजक बोली र प्रशासनको चलाखी

प्रसाईं समूहको आन्दोलन तुहिनको मुख्य कारण प्रसाईंकै अराजक बोली हो। प्रसाईं स्वयम्ले श्रीलंकाजस्तै सिंहदरबार कब्जा गर्ने, नेताहरूलाई सडकमा ल्याएर लघार्ने, मार्ने, बैंक तथा वित्तीय संस्थामा आगो लगाउने, वैदेशिक नियोग, व्यापारिक प्रतिष्ठानविरुद्ध पनि हिंस्रक अभिव्यक्ति दिनथाले। जसमा उनका समर्थक पनि भड्काव गतिबिधि गर्ने सम्भावना देखियो।

प्रसाईंको त्यही अराजक बोलीकै कारण स्थानीय प्रशासन र सुरक्षा निकायलाई कठोर हुन मद्दत गर्‍यो। यही कारण प्रसाईं समूहले दोस्रो दिन (मंसिर ८ गते) तीनकुनेमा गर्ने भनिएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय काठमाडौंले हुन दिएन। प्रसाईंलाई भक्तपुर ठिमीस्थित उनकै घरमा स्थानहद (नजरबन्द) गरिदियो। यसबाहेक तीनकुने आउन खोज्ने प्रसाईं समर्थकलाई दिनभर धरपकड गरेर तितरबितर बनाइदियो।

यस्तोमा पनि प्रसाईंको अराजक बोली रोकिएन। उनले घरमै पटक–पटक पत्रकार सम्मेलन गरेर अराजक वयान दिइरहे। उनी जति अराजक बयान दिइरहे उनको हैसियत बुझेका स्थानीय प्रशासन र सुरक्षा निकाय कठोर रूप अख्तियार गर्न थाले। यसैक्रममा बल्खुमा प्रहरीमाथि ढुंगा हान्ने पाँचजना पक्राउ गरेर सार्वजनिक शान्तिविरूद्धको कसुर र अभद्र व्यवहार मुद्दा चलाउने तयारी छ।

बल्ल तेस्रो दिन (मंसिर ९) गते प्रसाईं समूह तीनकुने र माइतीघरको हठबाट पछि फर्किएर सिफल चौरमा कार्यक्रम गर्न राजी भयो। जहाँ प्रसाईं समूहको आन्दोलन तुहिएको वास्तविक रुप देखियो। न्युन सहभागितामा सभा आयोजना गरेर प्रसाईंले काठमाडौंबासीले आफूलाई सहयोग नगरेको भन्दै दुखमनाउ गरे।

त्यसपछि चौथो दिन (मंसिर १० गते) धर्मगुरुहरूको आवरणमा प्रसाईं समूहले गौशालामा प्रदर्शन गर्‍यो। त्यहाँ प्रसाईं समूहले प्रहरीमाथि ढुंगामुडा गरेपछि झडप भयो।

झडपमा प्रहरीमाथि ढुंगामुडा गरेको आरोपमा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जना पक्राउ परेका थिए। सोही कार्यक्रममा हिंस्रक अभिव्यक्ति दिने विवादित धर्मगुरु श्रीनिवास आचार्य पनि पक्राउ परेका थिए।

जसमध्ये थापा, श्रीनिवाससहित ८ जनालाई सार्वजनिक शान्तिविरूद्धको कसुर र अभद्र व्यवहार मुद्दामा चलाउने प्रहरीको तयारी छ।

यसरी प्रसाईंले सबैको ध्यान तान्दै प्रमुख दल र सरकारलाई समेत त्रसित बनाएको आन्दोलन करिब–करिब तुहिएको छ। अब काठमाडौंमा आफ्नो पक्षमा मानिस उत्रिने सम्भावना नदेखेपछि प्रसाईं समूहले बाहिरबाट ल्याएका समर्थकलाई पनि फिर्ता पठाएको छ।


Last Updated on: November 29th, 2023 at 1:46 pm
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया