bipin joshi parents 1700633633

विपिन जोशीका आमाबुबा भन्छन्- युद्धविरामको खबरले छोरा आउँछ भन्ने आस जागेको छ

समाचार

प्यालेस्टाइनको अतिवादी समूह हमास र इसराइलबीच ‍गजामा युद्धविराम गर्न सहमति भएको खबर सुनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका-३ स्थित महानन्द जोशीको परिवारमा छोरा सकुशल फर्कने आशा बढेको छ।

हमासको कब्जामा रहेका विपिनको अवस्था थाहा नपाउँदा महानन्द र उनकी श्रीमती पद्मा ४६ दिनदेखि व्याकुल थिए। बिहानै युद्धविरामको समाचारले ४६ दिनदेखिको पर्खाइको सुखद् अन्त्य हुने विश्वास जगाएको छ।

युद्धविराम घोषणा र हमासको नियन्त्रणमा रहेका ५० जनालाई छुटाउने सहमति भएको खबरबारे हामीले कञ्चनपुरमा रहेका विपिनका आमाबुबालाई सोधेका थियौं। विपिनका बुबा महानन्द जोशीले उनी अब छिट्टै फर्किने विश्वास जागेको बताए।

‘युद्धविराम नै भएको हो र? हमासले एकतर्फी गर्दैछ भन्ने सुनेका थियौं, युद्धविराम नै भएछ भने अब हाम्रो छोरा फर्केला,’ उनले भने, ‘जे भयो राम्रो भयो, त्यहाँका मान्छेले पनि सुख पाउलान्, हाम्राले पनि सुख पाउलान्। छोरो फर्केर आउला।’

विपिन गत असोज २० देखि हमासको नियन्त्रणमा छन्। छोरालाई हमासले बन्धक बनाएदेखि उनीहरूको भोक निन्द्रा दुवै हराएको थियो। त्यसबीच उनीहरूले कयौंपटक सरकारका मन्त्री र प्रशासन गुहार्दै छोरा फिर्ता ल्याइदिन अनुनय गरे।

विपिनको अवस्था अज्ञात रहेकै बेला सोमबार बिहान इसराइली सैनिक (आइडिएफ) ले एउटा भिडिओ सार्वजनिक गरेको थियो, जसमा हमासले दुई घाइतेलाई उपचार गर्न अस्पताल पुर्‍याएको दृश्य थियो।

आइडिएफले उक्त भिडिओमा देखिएका दुई घाइतेमध्ये एक जना नेपाली नागरिक रहेको बताएको थियो। भिडिओ सार्वजनिक गर्नुअघि आइडिएफले इसराइलस्थित नेपाली दूतावासलाई पनि त्यसबारे जानकारी गराएको थियो।

भिडिओ हेरेपछि आफूहरू अझै तड्पिएको महानन्द बताउँछन्।

‘विपिनका साथीहरूले भिडिओ देखाए। त्यसमा देखिएको मान्छे विपिन हो भनेर हामीले चिनेनौं, विपिनले त्यो दिन (असोज २० गते) त्यही कपडा र चप्पल लगाएको थियो रे!,’ महानन्दले भने।

एक-दुई दिनदेखि आएका सकारात्मक समाचारले उनकी हजुरआमा पनि आशावादी बनेकी छन्। केही खबर आयो कि भनेर पटकपटक सोध्ने विपिनकी हजुरआमालाई त्यो खबर सुनाउँदा उनी खुसी भएकी थिइन्।

महानन्द र पद्मा शिक्षक हुन्। छोरा बेपत्ता भएदेखि राम्ररी काम गर्न नसकेको उनीहरू बताउँछन्।

‘स्कुल जान मन लागेको छैन। नोकरी नगरे भोलि के गर्ने, स्कुल गए पनि चिन्ता हुन्छ, दुई चार दिनका लागि विदा मागेको छु,’ उनले भने।

युद्धविराम गरेको हमासले नियन्त्रणमा रहेका ५० जनालाई छाड्ने बताएपछि परराष्ट्र मन्त्रालयले पनि उनलाई यही बेला उद्धार गर्न सक्दो प्रयास गरिरहेको बताएको छ।

‘हामीले यो खबर भर्खरै पढ्यौं,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘यही लटमा विपिनको उद्धार गर्न कता कता के पहल गर्न सकिन्छ, हामी काम सुरू गरिहाल्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *