Untitled 1 48

२००७ कार्तिक २२ गते बच्चैमा ज्ञानेन्द्र शाह यसरि राजा घोषित भएका थिए

समाचार

अहिले कार्तिक तेस्रो हप्ता छ । आजकै हप्ता नेपाली इतिहासमा आफू अगाडिका दुई पुस्ता ज्युँदा हुँदाहुँदै ज्ञानेन्द्र शाहले राजा हुने सौभाग्य पाएका थिए । वि.सं २००७ कार्तिक २२ गते ज्ञानेन्द्र तत्कालीन मोहनशमशेर नेतृत्वको सत्ताबाट राजा घोषित भएका थिए । कार्तिक २१ गते तत्कालीन राजा त्रिभुवन, युवराजाधिराज महेन्द्रलगायत सबैजसो त्रिभुवन परिवार भारतीय राजदूतावासमा शरण लिएर पुगेका थिए ।

शिकार खेल्न नागार्जुन जान भनेर हिँडेको राजपरिवार शीतल निवासको तत्कालीन भारतीय दूतावासमा शरण लिनपुग्यो । चार सवारीमा बिहान १० बजे गएको राजपरिवार दूतावासबाट फिर्ता गर्न तत्कालीन प्रधानमन्त्री मोहनशमशेरले पहल गरे । प्रधानमन्त्रीका भतिजा जर्नेल अर्जुनशमशेर र छोरा जर्नेल विजयशमशेर राजासँग भेट्न गए । तर, राजाले भेट दिएनन् । त्यसपछि सुरु भयो नयाँ राजा बनाउने खेल । त्यसमा उम्मेदवार भए ज्ञानेन्द्र ।

दुई सय बढीको सभाले निर्णय गरेको थियो ज्ञानेन्द्रलाई राजा बनाउने

२०८० वैशाखमा प्रकाशन भएको नयराज पन्तको डायरीमा उनले ज्ञानेन्द्र राजा भएको प्रसंग उल्लेख गरेका छन् । पन्तले २००७ कार्तिक २४ गतेको डायरीमा लेखेअनुसार त्रिभुवन भारतीय दूतावासबाट नआएको र राजगद्दी खाली हुनु राम्रो नभएको भन्दै राणाहरुले वि.सं १९०४ वैशाखको जस्तै परम्परा दोहोर्‍याए । १९०४ मा तत्कालीन राजा राजेन्द्रलाई राजगद्दीबाट हटाएर सुरेन्द्रलाई राजा बनाइएको थियो । त्यही परम्परा दोहोर्‍याउँदै तत्कालीन समयमा २४ सय रुपैयाँ वर्षको तलब खाने जङ्गी तथा निजामती कर्मचारीहरुलाई मोहनशमशेरले कार्तिक २२ गते बिहान ७ बजे सिंहदरबारमा बोलाए । सबैले त्रिभुवनसँगै टोलीमा जान छुटेका ज्ञानेन्द्रलाई नै सुरेन्द्रलाई जस्तैगरी राजा बनाउन सुझाए । सुझाउनेहरुमा राणाका १००, गुरु पुरोहित १० र अरु १०० जना भएको पन्तले लेखेका छन् ।

त्यो बेला ज्ञानेन्द्र सवा तीन वर्षको मात्रै भएको नयनराज पन्तले कार्तिक २२ गतेको डायरीमा लेखेका छन् । उनै सवा तीन वर्षका ज्ञानेन्द्रलाई सो दिनको साढे दुई बजे नासलचौक बीचको डबलीमा राजा बनाइएको पन्तले लेखेका छन् ।

ज्ञानेन्द्रको पहिलो श्रीपेच लगाएको त्यो दुर्लभ घटनाको दृश्य पनि पन्तले खुलाएका छन् । उनले तत्कालीन दृश्यका बारेमा व्याख्या गर्दै लेखेका छन्, ‘नासलचोक बीचको डबलीमा सुनका गजुर भएका १२ वटा खामामाथि रातो चँदुवा टाँगिएको देखियो । डबलीमा सेतो तन्ना कसिएको थियो । डबलीको छेउछेउमा रातो कार्पेट ओछ्याइएको थियो । तन्नामाथि पश्चिम फर्काएर सुनका तीन वटा सिंहासन राखिएका थिए । बीचमा राखिएको नागको छतरी भएको सिंहासन ठूलो थियो । चारैतिर गरी ३० वटा जति मेच राखिएका थिए । डबलीको दक्षिणपट्टि कालो टोपी, माथि रातो तह कालो लुगा, कालो जुत्ता- जङ्गी पोशाक लगाएका, हातमा बन्दुक लिएका, सय जना जति सिपाही तीन लहरमा उत्तर फर्केर उभिएका थिए । डबलीको पूर्वपट्टि हतियार भिरेका, महाराज मोहनशमशेरका गारत उभिएका थिए । पश्चिमपट्टि पेटीमा महाराजाधिराज, महाराजा, गुरहरुका खानदानहरु उभिएका देखिन्थे ।’

प्रत्यक्षदर्शी पन्तले त्यो समयमा ज्ञानेन्द्रलाई थरिथरिका चित्र भएको छाता ओढाएको बताएका छन् भने ज्ञानेन्द्रको शीरले थाम्न गाह्रो भएको भन्दै लेखेका छन्, ‘बालक महाराजाधिराजको माथले श्रीपेच थाम्न नसक्ला भनी नायब बडागुरुज्यू हेमराजले आफ्नो हातले श्रीपेच समातिराख्नुभयो ।’

तत्कालीन समयमा धर्माधिकार बडागुरु भने हेरम्बराज भएको र उनी ८० नाघेको पन्तले लेखेका छन् । ज्ञानेन्द्र राजा भएपछि उनलाई हात समाएर मोहनशमशेरले डोर्‍याएको भन्दै पन्तले लेखेका छन्, ‘बालक महाराजाधिराजलाई हातमा लिइ महाराज केही पाइला हिँड्नुभयो । अनि बालकलाई धाईको पिठ्युँमा बोकाएर तलेजु भवानीको प्रसाद लिइवरी नृसिंह आदि देवताहरुको दर्शन गराई भेटी चढाइकन महाराजा चौघोडे बग्गीमा मौसुफलाई दक्षिणपट्टि राज गराएर जुद्ध सडक हुँदै सिंहदरबार जानुभयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *