Premkali JajarkotEarthquake 1699236702

छिमेकीहरूले ‘एक्लै भई, अब कसले हेर्छ’ भन्दा उनको अनुहार कालोनीलो हुन्थ्यो आँखाबाट तरर आँसु बग्थ्यो

समाचार

१३ जनाको सामूहिक दाहसंस्कार गर्न आइतबार दिउँसो भेरी नदी किनारतर्फ गएका जाजरकोटको नलगाड नगरपालिका-१ चिउरी गाउँका मलामीहरू साँझसम्म पनि फर्किएका थिएनन्।

गाउँमा रहेका एकाध मानिस खेतबारीमा पराल ओछ्याएर रात काट्ने बिछ्यौना बनाउन लागिरहेका थिए। चिउरीको पूरै बस्ती भग्नावशेषमा परिणत भएकाले खेतबारीलाई आश्रयस्थल बनाउनुको विकल्प पनि छैन।

त्यसमा पनि इम्ले टोल अझ बढी शोकमा थियो। कारण, यहाँ आफ्नै घरभित्र हिरे कामीको परिवारका चार जना पुरिएर बितेका थिए। यो परिवारमा अब आठ वर्षीया प्रेमकली विक मात्रै जीवित छिन्।

चिउरी गाउँमा अधिकांशतः दलितहरूको बसोबास छ। त्यसमध्ये इम्ले टोलमा नौ घर छन्। यी नौ वटै घर ध्वस्त भए पनि मानवीय क्षति भने हिरे कामीको घरमा मात्र भयो।

हिमालखबरको टोली इम्ले पुग्दा आठ वर्षीया प्रेमकली आफ्नो भग्न घरअगाडि टोलाएर बसिरहेकी थिइन्। घरमा पुरिएर उनी पनि घाइते भएकी थिइन्। भर्खरै अस्पतालबाट ल्याइएको थियो उनलाई। उनको टाउको, हात र ढाडमा चोट लागेको छ। हातको औंलामा ब्यान्डेज र टाउकोमा रातो कलरको फेटा बाँधेकी उनले जिउ कटकटी खाएको सुनाइन्।

उनको शरीरमा गम्भीर चोट देखिंदैनथ्यो। तर मानसिक रूपमा उनी विक्षिप्त भएको प्रस्ट थियो। परिवारमा परेको बज्रपात यी आठ वर्षीयाले प्रस्ट महसूस गरेकी थिइन्। वेलावेला छिमेकीहरूले ‘एक्लै भई, अब कसले हेर्छ’ भन्दा उनको अनुहार कालोनीलो हुन्थ्यो। आँखाबाट तरर आँसु बग्थ्यो। बोली फुट्दैनथ्यो। तर उनको मनमा गएको पहिरो महसूस गर्न सकिन्थ्यो।

छिमेकीहरूले सान्त्वना दिंदा पनि उनी भक्कानिंदै रुन्थिन्। केही बेरपछि त उनीसँग रुने शक्ति पनि हराइसकेको थियो।

परिवारका सबै सदस्यको एकै चिहान भए पनि एउटा आश गर्न सकिने ठाउँ छ- प्रेमकलीका एक जना दाइ चार वर्षअघि वैदेशिक रोजगारीका लागि भारत गएका थिए। हुन त त्यसयता ती दाइ सम्पर्कमा छैनन्। तर पनि उनी फर्केलान् कि भन्ने छिमेकीलाई आश छ। प्रेमकलीलाई त दाइको अनुहार पनि याद छैन।

“यो बालखलाई दैवले पनि ठगे, यो गरीब गाउँमा यसलाई कसले हेर्ला र!” प्रेमकलीकी छिमेकी देवमाया विकले भनिन्।

शुक्रबार राति बुबा हिरे कामी, आमा र १२ र १४ वर्षका दाजुहरू भुइँतलामा सुतेका थिए। प्रेमकली र उनकी छिमेकी दिदी रूपा विक दोस्रो तलामा थिए। दोस्रो तलामा भएका रूपा र प्रेमकलीलाई पुरिएको अवस्थामा निकालियो। उनीहरू बाँच्न सफल भए। अरूको समयमै उद्धार हुन पाएन, बिते।

१४ वर्षीया रूपा विकको पनि टाउको र ढाडमा चोट लागेको छ। आफू सुतेको घरका चार जना बितेपछि उनको सातो गएको छ। दुई जना मात्र बाँचेको देख्दा उनलाई उदेक लागेको छ।

शुक्रबार रातिको घटनाबारे उनलाई खासै याद छैन। “बिहान प्रेमकलीका बुबाआमा र दाजुहरूलाई लस्करै सुताइएको थियो, त्यो देखेपछि भने म झनै डराएँ,” रूपाले भनिन्।

प्रेमकली स्थानीय विद्यालयमा कक्षा ३ मा पढ्छिन्। रूपा कक्षा ९ मा पढ्छिन्।

प्रेमकलीलाई उद्धार गर्न राति १२ बजे तल्लो घरको विमला विक पुगेकी थिइन्। बिजुली नभएको अन्धकार गाउँको उक्त घरबाट ‘गुहार गुहार’ आवाज सुनेर उनी त्यहाँ पुगेकी थिइन्।

उनी त्यहाँ पुग्दासम्म हिरे कामीकाे परिवारका सबै सदस्य जीवितै थिए। “मलाई छिटो बचाऊ बचाऊ भनिरहेका थिए। तर समयमै ढुंगा पन्छाउन सकिएन,” विमलाले भनिन्।

छरपस्ट घरका ढुंगाहरू। यिनै ढुंगा समयमै पन्छाउन नसक्दा हिरे कामीको परिवारले मृत्युवरण गर्नुपरेको हो।
विमलाका अनुसार प्रेमकली र रूपालाई पहिला उद्धार गरेपछि हिरे कामी र परिवारका अरू सदस्यलाई निकाल्न प्रयास गरिएको थियो। एक घन्टासम्म पनि हिरे कामीले गुहार मागिरहेका थिए। तर अन्धकार र ढुंगा पन्छाउने ‍औजार नहुँदा उनीहरूलाई बचाउन नसकिएको विमलाले बताइन्।

सोही टोलका दिलबहादुर विकका अनुसार पुरुषहरू भएको घरमा पुरिएकालाई बचाउन सके पनि महिला र केटाकेटी भएको ठाउँमा उद्धार सम्भव भएन। किनकि भूकम्प जानासाथ अधिकांश मानिस पहिला आफ्नै घरमा पुरिएकाहरूको उद्धार गर्न सक्रिय थिए। यस्तै, परिवार सबै पुरिएको ठाउँमा पनि उद्धार सम्भव भएन। “समयमै उद्धार गर्न सकेको भए धेरैलाई बचाउन सकिन्थ्यो कि,” दिलबहादुरले लख काटे।

भूकम्पले धेरै क्षति गरेको गाउँमध्ये एक हो चिउरी। यो गाउँमा लगभग ८० घरधुरी छन्। यहाँ र आसपासका अरू गाउँमा मानवीय क्षति तुलनात्मक रूपमा कम भए पनि कुनै पनि घर बस्नलायक भने छैन।

हिउँद करीब करीब शुरू भएकाले चिसो बढ्दो छ। तर भग्न घरबाट मानिसहरूले ओढ्ने-ओछ्याउने समेत निकाल्न सकेका छैनन्। अन्नपात र भाँडाकुँडा पुरिएकाले तातो खाना खान पाउने अवस्था पनि छैन।

राहत लिएर गएका गाडीहरू पनि चिउरी गाउँ पुग्न सकेका छैनन्। सडकभन्दा माथि थुम्कामा पर्ने यो गाउँमा शोकमाथि भोक थपिएको छ।

स्थानीय भगवती विक अब बाँचेकाहरूलाई गाँस, वास र लत्ताकपडा आवश्यक भएको बताउँछिन्। पराल ओछ्याएर रात काट्ने ठाउँ बनाउँदै गरेकी भगवती गहभरि आँसु पार्दै भन्छिन्, “अन्नपात र लत्ताकपडा भएन भने त हामी चिसोले मर्छौं होला।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *