JEQ 01 1699193210

जाजरकोट भूकम्पः नेतादेखि प्रधानमन्त्रीसम्म पुगे, पुगेन राहत

गृह

जाजरकोटको भेरी नगरपालिका–३ स्याँलाका भीमबहादुर विकको परिवार सोमबार बिहानदेखि थाप्ले बजारमा आएर सरकारबाट दिइने राहत सामग्री पर्खिरहेका छन्।

भुइँचालोले घर चर्किएपछि उनीहरू अहिले पुरानो त्रिपालमुनि बारीमा बसिरहेका छन्।‘त्रिपालमै बस्नुपरे पनि नयाँमा बसे शीत छेकिन्थ्यो, डर लाग्ने घरभित्र छिरेर सामान निकाल्न पनि सकिँदैन। राहत दिने भए छिट्टै दिए हुन्थ्यो नि,’ भीमबहादुरले भने।

सदरमुकामस्थित थाप्लेका गणेश खत्रीले पनि अहिलेसम्म त्रिपाल र अन्य राहत सामग्री पाएका छैनन्।सोमबार एउटा संस्थाले दिएको एक थान कम्बल मात्र उनको हातमा परेको छ।भुइँचालोले उनको घर पूरै भत्किएको छ।

‘चार दिन बितिसक्यो, अहिलेसम्म राहत सामग्री पाउन सकिएको छैन,’ उनी भन्छन्, ‘बाहिरबाट गाडीमा र हेलिकप्टरमा आएको मात्र देखिन्छ, हाम्रो हातमा परेको छैन।’

एकै गाउँमा धेरै क्षति भएको नलगाड–१ को चिउरीमा पनि राहत पुगेको छैन।एकै घरका ४ जनासहित १३ जनाको मृत्यु भएको चिउरी गाउँमा १८६ घरधुरी छन्।

पूर्ण क्षति भएका बाहेकका घरहरू पनि भित्र बस्न नमिल्ने गरी चर्किएका छन्। सरकारले पठाउने राहत गाउँमा पुगेको छैन।चिउरीमा ‘विलिङ्क नाव’ फाउण्डेसनले आइतबार गाउँमा आफ्नो तर्फबाट केही राहत लगिदिएको छ।

फाउण्डेसनले एक सय बोरा चामल, एक सय थान कम्बल र चाउचाउ पुर्‍याएको छ।‘यो गाउँमा आवश्यकताअनुसारको राहत पुगेको छैन, त्रिपालमुनि सबै मानिस बस्न पाएका छैनन्,’ नलगाड–१ का वडाध्यक्ष धर्मेन्द्र महरले भने, ‘तत्काललाई खानाका लागि चामल संस्थाले दिएको छ, बाँकी जिल्लाबाट पठाउने कुरा भएको छ।’

नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावतले सोमबारदेखि प्रभावित क्षेत्रमा राहत पुर्‍याउन थालिने बताए।‘हाम्रो पालिकामा ९० प्रतिशत घरका मानिस बाहिर बस्नुपर्ने अवस्था छ, आइतबारसम्म घाइतेहरूको उपचार र दाहासंस्कारमा व्यस्त भयौं,’ उनले भने, ‘आजदेखि केही ठाउँमा त्रिपाल पठाइसकेका छौं, अरूमा पनि जाने क्रम सुरू हुन्छ।’

उनका अनुसार अहिलेसम्म पालिकामा ७४५ त्रिपाल तथा त्यस्तै मात्रामा अरू सामान पुगेका छन्। आवश्यकताअनुसार भने सामग्री आइनपुगेको उनले बताए।
आफूले प्रमुख जिल्ला अधिकारीलाई राहत सामग्री छिटो पठाइदिन आग्रह गरेको मेयर रावतले बताए।

सरकारलगायत विभिन्न क्षेत्रबाट आएको राहत सामग्री भने सदरमुकाम खलंगामा थन्किएको छ। सदरमुकाममा ती राहत बुझ्ने काम प्रशासन र स्थानीय तहले गरिरहेका छन्। सदरमुकाममा थुप्रिएको राहत भने एकद्वार प्रणालीमा वितरण गर्न खोज्दा प्रभावितसम्म पुग्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *