IMG 9653

यस्ता छोरा कसैका नजन्मिउन् !

समाचार

आइतबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमा शम्सानघाटमा एउटा शवको दाहसंस्कार गर्दै गरेको तस्बिर देखा पर्‍यो। मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ताले पोष्ट गरेको उक्त तस्बिरमा स्टाट्स लेखिएको थियो, ‘दाह संस्कार नगर्ने छोरा कसैलाई पनि नपरोस्।’

घाटमा एक युवकले चित्तामा शव जलाउँदै गरेको तस्बिरमा मेरो पनि ध्यान तान्यो। ‘देवेशले फेसबुकमा किन यस्तो तस्बिर हाले? किन यस्तो स्टाट्स लेखे?’ मेरो मनमा प्रश्न उठ्यो। देवेश वीरगन्जकै युवा भएकाले चिनजान पनि राम्रै रहेकाले उनलाई मैले फोन गरेँ।

फोनमा देवेशले भने, ‘दाइ यो घटना वीरगन्जको होइन। जनकपुरको हो। जनकपुरस्थित मानव सेवा आश्रमका विवेक महतो भाइको मोबााइल नम्बर दिन्छु। उनलाई नै सम्पर्क गर्नुभयो भने यसबारे सविस्तार जानकारी पाउनुहुनेछ।’

देवेशबाट जनकपुरका विवेकको मोबाइल नम्बर लिएर उनलाई फोन गरेँ। फोनमा कुराकानी भयो। अघि मैले भनेको फेसबुकको फोटो र लेखिएको स्टाट्सबारे विवेकबाट जब सविस्तार जानकारी पाएँ, मन अमिलो भयो। सोँचें, म एउटा पत्रकार पनि हुँ। बुढेसकालमा सहारा बन्नुको सट्टा आफ्नै बुबालाई सडकमा वर्षौंदेखि अलपत्र छाड्ने, मानव स्वंयसेवीहरूले पारिवारिक पुनर्मिलन गराउन घरमै लिएर पुग्दा पनि अस्विकार गरी आश्रममा फिर्ता पठाइदिने, अनि कालगतिले निधन हुँदा दाहसंस्कारको लागि आग्रह गर्दा पनि ‘मलाई मतलब छैन, जे गर्न मन लाग्छ त्यही गर्नु’ भनेर पन्छिने ती छोराहरूबारे समाज सुसचित हुनैपर्छ।

सर्लाहीको हरिवन नगरपालिकाको नयाँरोडस्थित सडकमा २०७८ चैत १२ गते अलपत्र अवस्थामा भेटिएका रौतहटको चन्द्रपुर नगरपालिकाको डुमरिया टोलका ७५ वर्षीय अशक्त वृद्ध बद्री माझीलाई मानव सेवा अश्रमका स्वंयसेवीहरूले सडकबाट उद्धार गरेर त्यहीँको मानव सेवा आश्रममा लगेर राखे।

सामान्य हिंडडुलसमेत गर्न नसक्ने बिरामी अवस्थामा रहेका माझीलाई आश्रममा राखेर उपचार गरियो। करिब तीन महिनाको उपचार र सेवा सुसारपछि तङ्ग्रिएका माझीले सन्तानका नाममा रहेको एक्लो छोराले नै हेला गरेपछि २० वर्ष पहिले नै आफू घर छाडेर हिंडेको बताएका थिए। त्यसपछि आश्रमका स्वंयसेवीहरूले माझीलाई लिएर चन्द्रपुरस्थित घरमै पुगेका थिए। तर, माझीका छोराले घरमा राख्नै मानेनन्। त्यसपछि माझीलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित मानव सेवा आश्रममा लगेर रााखियो।

आश्रममै रहेका बेला यही असोज १३ गते विहान कलगतिले माझीको निधन भयो। आश्रमका मधेस प्रदेश संयोजक विवेकले फोनमार्फत् माझीको निधनको खबर चन्द्रपुरस्थित घरमा रहेका छोरालाई सुनाए। दाहसंस्कारका लागि आइदिन आग्रह पनि विवेकले गरे। तर उताबाट छोराको जवाफ आयो, ‘हामी केही गर्न सक्दैनौं। जे गर्न मन छ त्यही गर्नु। अब हामीलई फोन पनि नगर्नु होला।’

यस्तो निर्दयी जवाफ सुनेका विवेक भन्छन्, ‘छोराले यही तीन वाक्य बोलेर फोन नै काटिदिए। राम्रोसँग कुरा गर्न पनि चाहेनन्। अनि हामीले प्रहरीलाई खबर गर्‍यौं। प्रहरीले पनि छोरालाई फोन गर्‍यो। प्रहरीले फोन गर्दा पनि छोराले कुरा गर्न मानेनन्।’

प्रहरीले मुचुल्का उठाएर अस्पतालमा पोष्टमार्टम गरेपछि असोज १४ गते विवेकसहित आश्रमका स्वंयसेवीहरूले माझीको शव जनकपुरकै स्वर्गारी घाटमा लगेर हिन्दू रीतिरिवाज अनुसार अन्तिम दाहसंस्कार गरिदिए। मानव सेवा आश्रमका प्रदेश संयोजक विवेक भन्छन्, ‘यस्तो छोरा कसैलाई पनि नपरोस्। एक त जिउँदै हुँदा बुढेसकालको साहरा बन्नुको सट्टा सडकमा अलपत्र पारिदिए। मरेपछि दाहसंस्कारका लागि हामीले आग्रह गर्दा पनि मतलब छैन भन्ने छोरा पनि हाम्रै समाजमा रहेछन्।’

जनकपुरस्थित आश्रममा माझीजस्तै घरपरिवारबाटै बेवास्ता गरिएका अशक्त, वृद्धवृद्धा, सडकमा अलपत्र पारिएका गरी ४२ जना लक्ष्मीनारायणहरू रहेको विवेक बताउँछन्। अन्नपूर्ण पाेष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *