IMG 9468

पढाउन पाऊँ भनेर आमरण अनसन बसेकी दृष्टिविहीन शिक्षक शोभा

समाचार

पोखराकी शोभा पौडेल विगत १६ वर्षदेखि पोखराकै राष्ट्रिय माविमा पढाउँछिन्। निमावि तहको स्थायी शिक्षक समेत रहेकी शोभा ८ वर्षयता प्लस टुसम्म पढाइरहेकी थिइन्। विद्यालयमा यत्तिका वर्ष पढाएकी अनुभवी शोभालाई शिक्षणमा कुनै समस्या छैन।
कक्षा कोठामा पढाउने उनको विधि फरक छ। विद्यार्थीलाई लेखाउनुपर्ने नोट उनी आफैं लेखेर जान्छिन्। उनको नोट हेरेर विद्यार्थीले आलोपालो गरी बोर्डमा लेख्छन्। विद्यार्थीले बोर्डमा लेखेका नोट विद्यार्थीले सार्छन्।
विद्यार्थीले लेखेका गृहकार्य परीक्षण गर्ने विधि पनि उनको फरक छ। कक्षाकोठामा २ जना विद्यार्थीको कापी उनले परीक्षण गर्छिन्। बाँकी विद्यार्थीको कापी उनले विद्यार्थीहरूलाई नै परीक्षण गर्न लगाउँछिन्।
‘मैले परीक्षण गरेका कापी हेरेर एक जनाको कापी अर्कोलाई वितरण गरी गृहकार्य परीक्षण गर्न लगाउँछु, यसले विद्यार्थीलाई पनि सिर्जनशील बनाउँछ,’ उनले भनिन्, ‘ल बाबुनानी तिमीहरू नै आफूले लेखेको गृहकार्य साथीसँग साटेर परीक्षण गर भन्दा विद्यार्थी पनि खुसी हुन्छन्, हाम्रो पाठ्यक्रमको थिम पनि यही हो।’
दृष्टिविहीन भएकै कारण पढाउन नसक्ने कतिपय व्यक्तिको दृष्टिकोण उनले चिरेकी छन्। उनको विषयमा विद्यार्थी अब्बल छन्। शिक्षक साथीहरू, विद्यार्थी र अभिभावकबाट उनले माया र सम्मान पाएकी छन्। शिक्षणमा उनी खुसी थिइन्।
राहत दरबन्दीमा पढाउँदा पढाउँदै उनले २०७९ असारमा शिक्षक सेवा आयोगको परीक्षा दिइन्। पृथ्वीनारायण क्याम्पसबाट नेपाली विषयमा स्नातकोत्तर शोभा परीक्षणमा मात्र होइन, अन्तर्वार्तामा पनि उत्तीर्ण भइन्। जब उनले आयोगको परीक्षा उत्तीर्ण गरेर निमावि तहमा स्थायी शिक्षकमा नाम निकालिन्, तब उनका दु:ख सुरू हुन थाल्यो।
Laxmi bank
शिक्षक सेवा आयोगले नाम निस्केका शिक्षकलाई विद्यालयहरूमा खटाउन थाल्यो। गण्डकीका स्कुलहरूमा क्षेत्रीय शिक्षा निर्देशनालयले दरबन्दी वितरण गर्‍यो। शोभाले लमजुङको दुर्गम दोर्दी गाउँपालिकाको फलेनीस्थित बालकल्याण मावि पुर्‍याइदियो।
भौगोलिक कठिनाइ भएको लमजुङमा उनी हाजिर हुन पुगिन्। उनलाई शिक्षक र गाउँपालिकाले अस्वीकार गर्‍यो। अपाङ्गता भएका शिक्षकलाई सरकारले सहयोगी उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि उनलाई सहयोगी दिन नसक्ने गाउँपालिकाले पत्र दियो। पालिकाले जिल्ला शिक्षा समन्वय इकाइमा पठाइदियो।
The web
लमजुङको शिक्षा समन्वय इकाइले पनि अपाङ्गता भएकी शिक्षकलाई राख्न नसक्ने भन्दै शोभालाई फेरि शिक्षा निर्देशनालय पोखरा फिर्ता पठाइदियो। निर्देशनालयले शिक्षा विभाग काठमाडौं पठाइदियो। उनी पत्र लिएर धाएको धायै गरिन्।
उनले शिक्षक सेवा आयोगको परीक्षा दिँदा शिक्षासम्बन्धी कार्यविधिमा अपाङ्गता भएका शिक्षकले विद्यालय रोज्न पाउने व्यवस्था थियो। उनको रिजल्ट आउनुअघि सरकारले कार्यविधि संशोधन गरेर उक्त व्यवस्था हटाइदियो। उनले विद्यालय रोज्न पाइनन्। जुन संविधान र अपाङ्गतासम्बन्धी अन्तर्राष्ट्रिय कानुनविपरीत भएको उनले बताइन्।
‘संविधानमा हामीले सामाजिक न्यायका कुरा गर्छौं, समानताका कुरा गर्छौं तर मैले मेरो क्षमता अनुसार काम गर्छु भन्दा पनि पाइनँ,’ उनले भनिन्, ‘एक वर्षदेखि म शिक्षा निर्देशनालयदेखि मन्त्रालयसम्म धाएको धायै छु, केही लागेन।’
पटक पटक शिक्षा सचिवलाई भेट्दा सकारात्मक कुरा गर्ने गरे पनि उनले पढाउन पाइनन्। अपाङ्गता भएका व्यक्तिलाई भीर र पहारा भएको दुर्गममा पठाउनु नै गलत भएको उनले बताइन्।
‘म आँखा देख्दिनँ भन्ने राज्यलाई थाहा थियो, नदेख्दा दुर्घटना हुने ठाउँमा जानाजान पठाइयो,’ उनले भनिन्, ‘मलाई असक्षम भनेर करार गर्न राज्य नै लाग्यो।’
पोखरा महानगरभित्र बस चढेर आउजाउ गर्न सक्ने विद्यालयमा पढाउन पाउनुपर्ने उनको माग छ। त्यही माग राखेर उनले आइतबारदेखि मंगलबारसम्म आमरण अनसन बसिन्। क्षेत्रीय शिक्षा निर्देशनालय पोखराको प्राङ्गणमा अनसन बसेकी शोभाले अपाङ्गमैत्री विद्यालयमा पढाउन पाउनुपर्ने एकसुत्रीय माग राखेकी थिइन्।
‘म शिक्षक सेवा लडेर आएकी हुँ, मैले पढाउन पाउनुपर्छ भनेर आमरण अनसन बस्नुपर्‍यो,’ उनले भनिन्, ‘मलाई यही विद्यालय चाहिन्छ भन्दिनँ, तर एउटै बसमा जान सक्ने र अपाङ्गमैत्री संरचना भएको विद्यालय चाहिन्छ।’
उनका श्रीमान श्रीकान्त सापकोटा पनि दृष्टिविहीन हुन्। सापकोटा पोखराकै संस्कृति माविमा पढाउँछन्। उनीहरूका २ जना छोरा छन्। छोराहरूले भने आँखा देख्छन्। संविधान, कानुन र अपाङ्गता अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीमा नेपाल सरकारले हस्ताक्षर गरे पनि व्यवहारमा भने विभेद कायमै रहेको उनले बताइन्।
‘संविधान र कानुनमा व्यवस्था नगरेको भए हामी अधिकारको लडाइँ लड्थ्यौं, कानुनमा व्यवस्था छ,’ उनले भनिन्, ‘विश्वलाई देखाउनका लागि मात्र सरकारले कानुन बनायो, लागु गरेन।’
अपाङ्गता भएका व्यक्तिले क्षमता अनुसार प्रतिस्पर्धामा उत्रिएर काम गर्न खोज्दा आफूले जस्तै दु:ख अरूले पनि पाएको उनले बताइन्। आफूले पढ्ने बेला ३ दिनको सुत्केरी हुँदा पनि परीक्षा दिएको स्मरण गर्दै उनले कसैको दयामा नभई दु:ख गरेर शिक्षक बनेको बताइन्।
‘म क्षमता अनुसार नै काम गर्छु, मागेर खाँदिनँ,’ उनले भनिन्, ‘मैले लडेर नाम निकाल्दा एक वर्षदेखि दरबन्दीमा पढाउन पाएको छैन, सरकारले नै पढाउन दिएन।’
तीन दिन आमरण अनसन बसेपछि मंगलबार साँझ पोखराभित्रै उनलाई शिक्षणको व्यवस्था मिलाउने सहमति बनेको छ। क्षेत्रीय शिक्षा निर्देशनालयसँग सहमतिपश्चात उनले अनसन तोडेकी छन्।
लमजुङको फलेनीस्थित बालकल्याण माविमा गएर हाजिर गर्ने र पोखरा सरूवा गरेर ल्याउने सहमति भएको पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए।
‘उहाँलाई छिट्टै पोखरा सरूवा गरेर ल्याउँछौं, उहाँको क्षमतामा हामीले प्रश्न गरेको होइन,’ आचार्यले भने, ‘अब उहाँले नियमित पढाउन पाउनुहुन्छ, हामी व्यवस्था मिलाउँछौं।’
पढाउन पाउनुपर्ने माग राखेर अनसन बसेको थाहा पाएका विद्यार्थीले प्रश्न गरे के भनेर जवाफ दिने उनी विलखबन्दीमा छिन्। कक्षाकोठामा देशभक्ति, सामाजिक न्याय र समानताका विषय उठ्दा विद्यार्थीले प्रश्न गर्न सक्ने उनले बताइन्।
‘सामाजिक न्यायका कुरा गर्दा कक्षाकोठामा तपाईं किन अनसन बस्नुभयो भनेर विद्यार्थीले सोध्न सक्छन्, मैले के भनेर जवाफ दिने,’ उनले भनिन्।
मोतियाविन्दुका कारण शोभाले दुबै आँखाको दृष्टि गुमाएकी थिइन्। पोखरामा हिमालय आँखा अस्पताल खुलेपछि उपचार गर्न जाँदा आँखाको नशा र रेटिना सुकेको उनले बताइन्। उनलाई जस्तै समस्या भएका बिरामीले अब दृष्टि गुमाउन पर्दैन। अस्पतालको व्यवस्था र आँखाको उपचारमा भएका विकासले आफूलाई जस्तो समस्या पर्दा दृष्टि गुमाउन नपर्ने उनले बताइन्।
‘मेरो त अब उपचार छैन, अँध्यारो र उज्यालो छुट्याउन मात्र सक्छु,’ उनले भनिन्, ‘मेरो आँखा फनफनी नाच्छ रे, मलाई त केही पनि थाहा हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *