आइतबार ०९ बैशाख २०८१

IMG 9389

गएको वर्ष संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतबाट दोषी ठहर भएर विभिन्न कारागारमा कैद जीवन बिताइरहेका २१ जनालाई आममाफी र ६८१ जनाको ५० प्रतिशत कैद मिनाहा घोषणा गरेकी थिइन्।
असल चालचलन भएको भन्दै कैद मिनाहा पाएका व्यक्तिहरू मध्येका एक हुन् नवलपुरको गैंडाकोट–७ का ३५ वर्षीय सुरेशबहादुर कुमाल। कैदमुक्त भएपछि उनले गरेको हर्कतले कानुनको फाइदा उठाएर कस्ता व्यक्तिहरूले आममाफी पाइरहेका छन् भन्ने देखाउँछ।
कुमालले २०६९ सालको कात्तिक ११ गते आफ्नै काकी र हजुरआमाको घाँटी थिचेर हत्या गरेका थिए। यो अभियोगमा नवलपरासी जिल्ला अदालतले उनलाई सर्वस्वसहित जन्म कैदको सजाय सुनायो।
कैद भुक्तान गर्नेक्रममा नवलपरासी कारागारबाट स्थानान्तरण भई झुम्का कारागार हुँदै २०७४ सालमा कुमाल चितवन जिल्ला कारागार आइपुगे। चितवनको कारागारमा सुरेशको भेट माडीका जीवन नेपालीसँग भयो। कारागारमै उनीहरूको दोस्ती भयो। सुरेशले जीवनको ठेगाना त्यही बेलामा थाहा पाएका थिए।
सुरेशलाई चितवन कारागारबाट मकवानपुरको भिमफेदी कारागारमा पठाइयो। यता जबरजस्ती करणीको मुद्दामा कारागार पुगेका जीवन कैद भुक्तान गरेर मुक्त भए। सर्वोस्वसहित जन्मकैदको सजाय पाएका सुरेशलाई पनि २०७९ असोज ३ गते संविधान दिवसको दिनमा असल चालचलन भएको भन्दै कैद मिनाहा गरेर छाडिएको थियो।
मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार हरेक वर्ष संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतिले कैदीहरूलाई आममाफी दिने चलन छ। कैदीको असल चालचलन र मुद्दाको प्रकृति हेरेर सरकारले सिफारिस गरेपछि राष्ट्रपतिले आममाफी र कैद मिनाहा गर्छन्।
Laxmi bank
यसरी सरकारले असल चालचलन भएको भनेर कैद मिनाहा गरिदिएका सुरेशले ४० दिनमै जीवनको हत्या गरे।
भिमफेदी कारागारबाट कैदमुक्त भएपछि काठमाडौं पुगेका सुरेश दसैंको केही दिनअघि करागारमा साथी भएका जीवनलाई खोज्दै माडी नगरपालिका–४ घोसरी पुगे। आफ्नै काकी र हजुरआमाको हत्या गरेका कारण उनको घर फर्किन सक्ने अवस्था थिएन।
The web
जीवनले सुरेशलाई गाउँमा स्वागत गरे। छिमेकीसँग चिनाए। आफ्नै घरमा आश्रय दिए। दसैंपछि जीवनको दाइ रमेशको ब्लक उद्योगमा काम गर्न थाले। दिन बित्दै जाँदा सुरेश र जीवनको सम्बन्धमा चिसो बढ्दै गयो।
बेला–बेलामा हुने भनाभन, विवादको विषयमा सुरेशले रिस साँध्न थाले।
‘आफ्नो जाने ठाउँ कतै नभएको र जीवनले पनि हेपाहा व्यवहार गरेकाले उसलाई मार्ने विचार मनमा आयो। जीवन शारीरिक रूपमा तन्दुरूस्त भएकाले जहाँ पायो त्यही मार्न सक्ने अवस्था नभएकाले एकान्तपारि मौका मिलाएर मार्ने विचार गरें,’ सुरेशले अदालतमा गरेको बयानमा उल्लेख छ।
बयानमा सुरेशले कारागारमा रहँदा पनि क्यान्टिनमा खाजा खाएको पैसा तिर्ने विषयमा जीवनसँग २ पटक वादविवाद भएको र पछिल्लो व्यवहारपछि त्यो पनि सम्झिएको उल्लेख गरेका छन्।
कात्तिक ११ तिहारको टीकाको भोलिपल्ट सुरेशले जीवनलाई उनकै घरमा रक्सी खुवाएर सुतेको अवस्थामा हत्या गरेका थिए। पछाडिबाट धारिलो हतियारले टाउको पटक–पटक प्रहार गरेपछि घाँटीको रूद्रघण्टीमा रेटी आफ्नै साथीको विभत्स हत्या गरेको उनले स्वीकारेका छन्।
सुरेश त्यतिमै रोकिएनन्। जीवनको आडैको घरमा बस्ने ४० वर्षीया रूपा नेपालीको पनि हत्याको प्रयास गरेका थिए। कोठामा सुतिरहेकी रूपाले लगाएको सुनको रिङ कानको लोती नै च्यातिनेगरी लुछेर घाँटी थिची मरेको बुझेपछि उनी त्यहाँबाट भागेका थिए। तर रूपालाई केही भएन।
यो हत्याको अभियोगमा कुमाललाई चितवन जिल्ला अदालतले जीवन रहेसम्म कैद हुने फैसला गरेको छ। जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले गएको जेठ ३ गते उक्त फैसला गरेको हो। फैसलाको पूर्णपाठ भने हालसालै मात्र तयार भएको छ।
घटना भएको भोलिपल्ट माडीको बसन्तपुरबाट पक्राउ परेका सुरेशलाई जिल्ला अदालतले गत मंसिर ८ गते नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। उनलाई मनसायपूर्वक हत्या गरेको मुद्दा लगाइएको थियो।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू सरकारका यस्ता निर्णयका कारण काम गर्ने मनोबल कमजोर बन्ने बताउँछन्।
‘हामीले कत्रो मेहनत गरेर काम गरिरहेका हुन्छौं। तर हामीसँग सामान्य परामर्श पनि नगरी राज्यले आममाफी दिने, कैद मिनाहा गर्नु राम्रो कुरा होइन। गम्भीर प्रकृतिका घटनामा संलग्न व्यक्तिको विषयमा निर्णय गर्दा राज्यले विचार गर्नुपर्ने देखिन्छ। आममाफी दिने, कैद मिनाहा गर्नुअघि सम्बन्धित कार्यालयको राय लिनुपर्छ,’ प्रहरी अधिकारी भन्छन्, ‘जघन्य अपराधमा संलग्न व्यक्तिलाई समेत आममाफी दिने प्रवृत्तिले कानुनी राज्य स्थापित गर्न गाह्रो पर्छ।’
यस वर्ष संविधान दिवसको अवसरमा चितवन जिल्ला कारागारमा रहेका १९ जनालाई पनि कैद मिनाहा गरी मुक्त गर्ने निर्णय राष्ट्रपतिले गरेका छन्।


Last Updated on: September 21st, 2023 at 3:23 pm
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया