kukurbro 1694599247

नौ वर्ष सेवा गरेर प्रहरीबाट बिदा भए टाइगर, जोन र शेरे

समाचार

गत वर्ष मंसिरमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ज्यामिरेकी २८ वर्षीया महिला हराइन्। खोजी गर्ने क्रममा घरदेखि करिब ५ सय मिटर माथि बारीको पाटामा गाडिएको अवस्थामा ती महिलाको शव फेला पर्‍यो।

अपराधीको खोजी गर्न प्रहरीले नियुक्त गरेका कुकुरहरू ती महिलाको खोजी गर्न सफल भएका थिए।

गत चैत १४ गते रामेछापको गोकुलगंगा-४ बेताली लेसेखानीमा अज्ञात समूहले खुकुरी प्रहारगरी ८२ वर्षीय शमशेरबहादुर मगरको हत्या गर्‍यो। प्रहरीले तत्कालै घटनास्थलमा कुकुर परिचालन गर्‍यो। घटनास्थलमा पाइएको सबुत प्रमाणहरू सुँघाएर परिचालन गरिएको कुकुरले हत्यामा संलग्न व्यक्ति फेला पार्‍यो।

यी दुई घटनामा मुख्य भूमिका खेलेका थिए के-नाइन(प्रहरी कुकुर) टाइगर, जोन र शेरेले।

विभिन्न स्थानमा भएका जघन्य प्रकृतिका शंकास्पद घटनाहरूमा अपराधीको पहिचान गरी अनुसन्धान गर्नमा महत्वपूर्ण सहयोग गर्ने यी कुकुरहरू बुधबारबाट सेवा निवृत्त भएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकाअनुसार टाइगर, जोन र शेरेलाई बुधबारबाट सेवा निवृत्त गरिएको हो। टाइगर र जोन जर्मन सेफर्ड जातका हुन् भने शेरे लावरडोर जातको हो। सेवा निवृत्त भएसँगै उनीहरूको नाममा सरकारले पठाउने रासन कटौती भएको छ।

जोन र शेरेले आफ्नो सेवा अवधिमा १२ सय पटक लागू औषधको खोजी गरेका थिए। तीमध्ये धेरैमा सफलता हासिल गरे। टाइगरले ७ सय पटक विशिष्ट व्यक्तिहरू सहभागी रहेको समारोहस्थल, बाटो, संसद भवनलगायत विभिन्न स्थानको सुरक्षाका लागि चेकजाँचको जिम्मेवारी निभाएको थियो। यसबाहेक उनीहरूले धेरै जघन्य प्रकृतिका शंकास्पद घटनाका दोषीहरूलाई कानुनी कठघरामा उभ्याउन सहयोग गरेका थिए।

उनीहरूलाई सानैमा के-नाइन(प्रहरी कुकुर) शाखामा भर्ना गरी तालिम दिइएको थियो।

‘सानैमा ल्याएर तालिम दिइन्छ। तालिम प्राप्त भएपछि उनीहरू कार्यक्षेत्रमा खटिन्छन्,’ बागमती प्रदेश प्रहरीका सूचना अधिकारी एसएसपी दीपक रेग्मीले भने, ‘काममा प्रभावकारी देखिन छाडेपछि सेवा निवृत्त गर्ने चलन छ।’

सामान्यत: जर्मन सेफर्ड जातको कुकुरको आयु ९ देखि १३ वर्षको हुन्छ। लावरडोर जातका कुकुरको १० देखि १४ वर्षसम्मको आयु हुन्छ।

निवृत्त भएका कुकुरको विकल्पमा र्‍याक्स र जुनु तयार भइसकेका छन्। उनीहरू बेल्जियम सेफर्ड जातका हुन्।

‘तालिम पाएकाहरू काम गर्दै जान्छन्। सँगसँगै नयाँलाई तालिम दिइरहेका हुन्छौं। विकल्प तयार भइरहेको हुन्छ,’ एसएसपी रेग्मीले भने।

अहिले बागमती प्रदेश प्रहरी कार्यालयमा ७ वटा तालिम प्राप्त र तालिम लिइरहेका कुकुरहरू रहेको उनले बताए। उनीहरूसँग लागूऔषध, अपराधी पहिचान, विष्फोटक पदार्थको पहिचान गर्नेजस्ता क्षमता छन्।

यी तीनै कुकुरहरूलाई प्रहरी कुकुरहरूको विषयगत संख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्तसम्बन्धी कार्यनिर्देशन-२०८० बमोजिम सेवा निवृत्त गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

‘तालिम प्राप्त भएर काममा खटेका कुकुरहरूको बेला बेलामा कार्यक्षमताको परीक्षण गरिन्छ। यसका लागि विज्ञहरूको समिति हुन्छ। त्यो क्रममा कुकुरहरूले राम्रो कार्यसम्पादन नगरेको पाइएमा उनीहरूलाई प्रक्रिया पूरा गरेर सेवा निवृत्त गर्ने चलन छ,’ एसएसपी रेग्मीले भने, ‘उमेर धेरै भएपछि सुँघ्ने क्षमता कम हुन्छ। हिँड्ने, दौडिन गाह्रो हुन्छ। यी तीन वटा कुकुरहरू त्यहीअनुरूप निवृत्त भएका हुन्।’

परीक्षणका क्रममा भनेको टेरेन, गलत कुरा समात्यो भने कुकुरको नम्बर घट्छ। परीक्षामा फेल भएको अवस्थामा उसलाई सेवाबाट निवृत्त गरिन्छ।

सेवा निवृत्त भएका कुकुरहरूलाई प्रहरी कुकुरहरूको विषयगत संख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्तसम्बन्धी कार्यनिर्देशन-२०८० को नियम १७ बमोजिम सम्बन्धित दाता, बहालवाला प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी तथा सर्वसाधारणलाई वितरण गरिन्छ।

‘उनीहरूलाई लगेर राम्ररी पाल्छु भनेर आउनेलाई दिन सकिन्छ। यसका लागि निवेदन दिनुपर्छ,’ रेग्मीले भने, ‘लैजाने नभेटिएसम्म अन्य कुकुरका लागि छुट्टाइएको रासनबाट बाँडेर खुवाउँछौं। मृत्यु नभएसम्म रासन, आवास, औषधी उपचारको व्यवस्थापन सम्बन्धित प्रहरी कार्यालयले नै गर्नेछ।’

प्रहरी कुकुरहरूले अपराधीको खोजीमामात्रै नभएर प्राकृतिक विपत्तिमा पनि महत्वपूर्ण भूमिका खेल्ने गरेको एसएसपी रेग्मीले बताए।

‘२०७२ सालको भूकम्पमा हराएका व्यक्तिको खोजीमा कुकुरले ठूलो काम गर्‍यो। अन्य विपदमा पनि उनीहरूले खोजीमा सघाउने गरेका छन्,’ उनले भने, ‘अपराधीलाई नियन्त्रणमा लिन कुकुरको भूमिका त जताततै सफल भएकै कुरा हो।’

प्रहरीले आवश्यकताअनुसार विदेशबाट पनि कुकुर ल्याउने गरेको छ। अहिले प्रहरी आफैंले ब्रिडिङ सेन्टर स्थापना गरेर कुकुरका छाउराहरू उत्पादन गर्न थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *