IMG 9155

बेपत्ता डा कोइरालाको शव कोशीकाे भँगालाेमा भेटियाे

समाचार

झापा । कोशीमा बेपत्ता भएका झापा दमक १ का डा प्रज्वल कोइराला १० दिनपछि मृत अवस्थामा फेला परेका छन् । उनकाे शव काेशीकाे भँगालाेमा भेटिएकाे हाे । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा माछा मार्ने व्यक्तिले शव देखेर प्रहरीलाई खबर गरेका थिए । पछि शव गएर हेर्दा डा कोइरालाको फोटोसँग मिल्दोजुल्दो भएको विपद व्यवस्थापनमा कार्य गर्दै आएका सुरक्षा बेस क्याम्प चतराका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए । उनका अनुसार हिजो दिउँसो साढे ४ बजेतिर खबर आएपछि विपद व्यवस्थापनमा खटिएको टोली पुगेर शव ल्याउँदा साँझ ६ बजेको थियो । शव धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको छ । डा कोइराला अघिल्लो आइतबार बेलुकी ड्युटी सकेर हिँडेका थिए । बेपत्ता भएको भोलिपल्ट भदौ ११ गते उनको सवारीसाधन चतराको पुलपारी फेला परेको थियो । गाडी राखेको क्षेत्रमा लगाइएको सीसीटीभी क्यामेरा फुटेजमा उनी चतराको पुलमा यताउता गरेको र खोलामा टहलाएको देखिन्छ । आफ्नो मोवाइल, जुत्ता उनले गाडी र पुलमा नै छोडेका थिए । प्रहरी स्रोतका अनुसार अन्तिम समयमा उनकी प्रेमी भनिएकी एक युवतीसंग कुराकानी भएको देखिन्छ । ती युवतीसंग बयान लिँदा दुई जनाबीच प्रेमसम्बन्ध रहेको खुलेको छ । मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत ३२ वर्षीय डा काइरालाले दमकको लाइफलाइन अस्पतालमा ३ वर्षभन्दा बढी समय काम गरेका थिए । डा कोइरालाले कसैसँगको प्रेम सम्बन्ध सफल हुन नसक्ने देखेर कोशीमा हामफालेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । फेला परेको शवलाई आफन्तले पहिचान गरिसकेका छन् । शव आज घर ल्याउने तयारी गरिएको बताइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *