madeep

नवजीवन हस्पिटलमा शल्यक्रिया गराएका विरामीको घुँडाभित्रै कपास छाडेपछि…

समाचार

जनकपुरधाम । जनकपुरको नवजीवन हस्पिटलमा घुँडाको शल्यक्रिया गराएका एक विरामीको घुँडाभित्रै कपास (गज) छाडेको खुलेको छ ।

महोत्तरीको भंगहा नगरपालिका ९ का ३० वर्षीय मन्दीप यादव भदौ ५ मा नवजीवन अस्पतालमा बाँया घुँडाको शल्यक्रिया गराएका थिए । शल्यक्रिया पश्चात उनको घुँडाभित्रै चिकित्सकले कपास छाडेको खुलेको हो ।

मोटरसाइकल दुर्घटनामा यादवको घुँडामा चोट लागेको थियो । चोट लागेको ठाउँमा दुख्न थालेपछि उनी जनकपुरकै नारायण इ.एन.टी एण्ड प्लास्टिक सर्जरी सेन्टरमा डा. मुकुन्द झासँग चेकजाँच गराए ।

चेकजाँच गराएपछि यादवलाई डा. झाले शल्यक्रिया गराउनुपर्ने र त्यसका लागि नवजीवन हस्पिटलमा भर्ना हुन सल्लाह दिए । उनी हस्पिटलमा भर्ना भएपछि डा.झाले नै शल्यक्रिया गरे । तर शल्यक्रिया गरेर टाँका लगाउँदा भित्रै कपास छाडे ।

आठ दिन हस्पिटलबाट डिस्चार्ज भएपछि यादव घर पुगे । घरमा शल्यक्रिया गरेको घुँडाबाट पिप आउन थाल्यो । घुँडा रातो भयो । त्यसपछि उनी डा. झासँग सम्पर्क गर्दा नभएपछि प्रादेशिक अस्पतालमा भर्ना भए ।

प्रादेशिक अस्पतालका उनी पुगेपछि शल्यक्रिया गरेको घुँडाभित्रै कपास छाडेको भेटिएको छ । अर्थोपेडिक सर्जन डा. सन्दीप शर्माले पुनः शल्यक्रिया गरेर घुँडाबाट कपास निकालेको विरामी मन्दिपले बताए ।

समयमै पुनः अप्रेशन गरेर घुँडाबाट कपास निकालिएको कारण उनको खुट्टा जोगिएको छ । विरामी मन्दिपले भने, ‘शल्यक्रिया गराउन ढिला गरेको भए खुट्टा नै गुमाउनु पर्थ्यो भनेर डाक्टरले भन्नुभएको छ ।’

बिरामी मन्दिपले लापरबाही गर्ने डाक्टरलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनले डा. झा र अस्पताललाई कारबाही गर्न मेडिकल एशोसिएसन (एनएमसी)मा उजुरी समेत दिएका हुन् ।

उनी भन्छन्, ‘शल्यक्रिया गर्दा ६५ हजार रुपैयाँ तिरेको छु । तर मेरो भविष्यसँग खेलवाड गर्यो । अस्पताल र डा.झामाथि कानून बमोजिम कारबाही हुनुपर्छ ।’ उनले कानून बमोजिम क्षतिपूर्ति पनि दावी गरेको बताए ।

शल्यक्रिया गर्दा भित्रै कपास छाडेका डा. झा भने सम्पर्क विहिन छ । उनको क्लिनिक पनि बन्द छ । उनको मोवाइल अफ छ ।

नवजिवन हस्पिटालका म्यानेजर सन्जीव साहले मन्दिपको घुँडाको शल्यक्रिया आफ्नो हस्पिटलमा भएको तर डिस्चार्ज भएर गएपछि पुनः सम्पर्कमा नआएपछि समस्या भएको/ नभएको थाहा नपाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *