आइतबार ०९ बैशाख २०८१

bakhra 1693556172

दाङको बबई गाउँपालिका-२ जहरेबासमा बाघले १३ वटा बाख्रा मारिदिएको छ। ट्वाङखोलाका छविलाल खत्रीले गत मंगलबार चराउन लगेका बाख्रा बाघले मारिदिएको हो।

नजिकैको बनमा बाख्रा छोडेर घर आएका खत्रीले फर्किएर जाँदा बाघले बाख्रा मारेको देखेका थिए। बाघले बोकासहित १३ वटा बाख्रा मार्दा तीन लाख बढी क्षति भएको छविलालले बताए।

‘मेरो त सपना नै चकनाचुर भयो,’ उनले भने, ‘अब छोरालाई कसरी पढाउने भन्ने चिन्ता भइरहेको छ।’ छविलालका एक छोरा तुलसीपुरमा कक्षा ११ मा पढ्छन् भने दुई छोरीले १२ पास गरेका छन्।

२०७२ मा कतारबाट फर्किएका छविलालले व्यवसायिक रूपमा बाख्रा पाल्न थालेको थियो। खत्री परिवारले टीकादेवी बाख्रा फर्म दर्ता गरेका छन्।

उनक फर्ममा झन्डै ७० वटा खसी बाख्रा थिए। बेच्ने तयारी अवस्थाका खसी, बोका तथा स-साना पाठापाठीसहित माउहरू चराउन नलगी त्यसदिन उनले १६ बाख्रा चराउन लगेका थिए।

उनले बाख्राको बीमा गराएका थिएनन्।

‘यस्तो होला भनेर सोचिएन र घटना भएपछि बल्ल बीमा गरेको भए हुने रैछ भन्ने लागेको छ,’ छविलालले भने, ‘बीमा गरेको नभए पनि आफूजस्ता मर्कामा परेका किसानको हौसलाका लागि स्थानीय सरकार र निकुञ्जले पनि केही राहत तथा क्षतिपूर्ति दिनुपर्छ।’

यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्र हो। बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा विश्वबाटै लोपोन्मुख अवस्थाको पाटे बाघको संख्या बढ्दै गएको पछिल्लो गणनाको तथ्याङ्कले देखाउँछ। बाघको संख्या बढेसँगै बाघ-मानिस द्वन्द्व बढेको छ। किसानहरूले धेरै आर्थिक क्षति व्यहोर्नु परेको छ।

यो गाउँपालिकामा यसअघि पनि बाघले बस्तुभाउ मार्ने गरेको थियो। गत वर्ष बबई-५ बबरपुरकी शोभा खड्काको खोरमै पसेर बाघले १० बाख्रा मारेको थियो।

बबरपुरकै मेनका खत्रीका पाँच वटा बाख्रा खोरमै र देवबहादुर वलीका दुई वटा बाख्रा बबरपुर खेल मैदानमा चरिरहेको अवस्थामा बाघले मारिदिएको थियो।

क्षतिपूर्तिका लागि उनीहरूले बबई गाउँपालिका, वन कार्यालय, निकुञ्जलगायत निकायमा क्षतिको विवरणसहित निवेदन दिए पनि अहिलेसम्म राहत पाएका छैनन्।

निकुञ्जको सीमावर्ती क्षेत्रमा पर्ने बबई-१ का सिमलकुना, बबई नदी पारीको फुर्के सल्ली, वडा नं. ७ मलई क्षेत्रमा वन्यजन्तुले क्षति पुर्‍याउँदै आएको स्थानीयको गुनासो छ।

‘मकै हुँदा बाँदरले सताउनु सताउँछन् र धान फूल्न थालेपछि बँदेलले हैरानी दिन्छन्,’ छविलालले भने, ‘कि हामीलाई अन्यत्र सारियोस्, होइन भने हाम्रा बालीको सुरक्षा होस्।’


Last Updated on: September 1st, 2023 at 9:08 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया