आइतबार ०९ बैशाख २०८१

thumb

पोखरा — आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखेर पोस्ट गरेको भन्दै गायिका समीक्षा अधिकारीले चार फेसबुक पेजविरुद्ध कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् । त्यस्तो कार्य साइबर अपराधसम्बन्धी घटना भएकाले कानुनबमोजिम कारबाहीको माग गर्दै उनले आइतबार निवेदन दिएकी हुन् ।

उनले ‘ताजा खबर,’ ‘ग्लोबल नागरिक’ ‘हाम्रो लर्निङ सेन्टर’ र ‘रुटिन अफ बुटवल बन्द’ नामका फेसबुक पेजले आफ्नो विषयमा अतिरञ्जित कुरा लेखी हुँदै नभएको कुराहरु बिना प्रमाण समाचारका रुपमा प्रेषित गरेको निवेदनमा उल्लेख गरेकी छन् । ‘कुनै प्रमाण नभइ बिना आधार जे मन लाग्यो त्यही कुराहरु लेखी पोस्ट गरेको हुँदा उक्त फेसबुक पेज चलाउने व्यक्तिलाई खोजतलास गरी कानुनी कारवाही गरी पाउँ र उक्त आईडीहरु बन्द गराइ पाउँ,’ निवेदनमा भनिएको छ ।

उनले आफ्नो विषयमा नराम्रो कुरा लेखी समाचार सम्प्रेषण गरेर मानसिक यातना दिएको निवेदनमा खुलाएकी छन् । उनले प्रमाणस्वरुप ती फेसबुक पेजबाट पोस्ट भएका सामग्रीको स्क्रिनसट प्रहरीलाई बुझाएकी छन् ।

अस्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूलाई कालो सूचीमा राखेको भन्ने झुटो खबर फैलाइएकाले त्यसको प्रतिवादस्वरुप जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको उनले आफ्नो फेसबुक पेजमार्फत बताएकी छन् ।

‘वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ,’ उनले भनेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले गायिका अधिकारीको निवेदन आइतबार साँझ ढिलो गरी आएकाले त्यस विषयमा के गर्ने भन्ने सोमबार छलफल गर्ने बताए । ‘उहाँलाई सोमबार छलफलका लागि बोलाएका छौं,’ उनले भने, ‘प्रदेश प्रहरी कार्यालयमार्फत साइबर ब्युरोमा पठाउने कि के गर्ने भन्ने सोमबार नै तय हुन्छ ।’


Last Updated on: August 28th, 2023 at 1:23 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया