आइतबार ०९ बैशाख २०८१

ddd 1

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबाट करणीमा परेकी युवतीको उमेर विवाद सुल्झाउन बिहीबार जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । सन्दीप लामिछानेले पेश गरेको कागजातअनुसार घटना भएको दिन पीडित युवती १८ वर्ष २ महिना सात दिनकी थिइन् ।

तर सन्दीपले पेश गरेको कागजात सहि हो कि होइन भन्नेमै दुविधा भएको छ । सन्दीपले पीडित गौशाला २६ को कक्षा आठको भर्ना किताबको फोटोकपी, अस्पताल रहेको जन्मदर्ता किताबको फोटोकपी, वडा कार्यालयमा रहेको अभिलेख र बसाइ सराई कागजातका आधारमा उनको जन्म ६१ साल जेठ १८ गते भएको दावी गरिएको थियो ।

तर जिल्ला अदालत आफैंले पीडितको जन्म विवरण अस्पतालसँग मागेको थियो । अस्पतालले दिएको विवरण र सन्दीपले पेश गरेको कागजातमा विवरणहरु फरक पाइएपछि अदालत गौशाला २६ लाई बालिका मान्ने कि नमान्ने भन्ने अलमलमा फसेको छ ।

यो अलमल नफुकाई फैसला गर्न पनि नमिल्ने ठानेर बिहीबार अदालतले – पीडित र उनकी आमाको समेत कुन विवरण सहि हो, सो खुलाएर ल्याउन आदेश दिएको हो ।

सन्दीपले गौशाला २६ सँग शारीरिक सम्पर्क नराखेको र उनी बालिका पनि नरहेको दावी गरेका छन् । उनले विभिन्न कागजातहरु पेश गरेर ती कागजातको सक्कल प्रति झिकाउन पनि माग गरेका थिए ।

सोही बमोजिम अदालतले अस्पतालको जन्म किताब माग गर्दा विवरण फरक परेपछि यो मामिलामा केही उल्झन थपिएको छ ।

अस्पतालले पठाएको दर्ता किताबमा ६१ सालको जेठ १८ गते चार जनाले मात्रै शिशुलाई जन्म दिएका थिए । ती चार जनामध्ये एक जनासँग गौशाला २६ की आमाको नाम मिल्छ । तर थर मिल्दैन । नाम बाहेकका अन्य विवरणहरु पनि मिल्दैनन् ।

सन्दीप पक्षले पीडितको उमेर १८ वर्ष पूरा भइसकेको प्रमाणित गर्न पेश गरेको कागजातहरुमा विवाद भएको यो पहिलो पटक भने होइन । यसअघि नै विवरणहरु शंकास्पद र आपसमा बाझिने प्रकृतिका भएकाले जन्म मितिमा विवाद उत्पन्न भइरहेको छ ।

केहीले गौशाला २६ को जन्म अस्पतालमा भएकै होइन, उनी घरमै जन्मिएकी हुन् पनि भनेका छन् ।

सन्दीपले पेश गरेको अस्पतालको दर्ता किताबमा गौशाला २६ को जन्म हुँदा उनकी आमा २८ वर्षकी थिइन् ।

यो आधारमा आमाको जन्म ३३ सालमा भएको हुनुपर्छ । तर बसाई सराई कागजातमा भने आमाको जन्म ५३ साल चैत २१ गते उल्लेख छ भने गौशाला २६ को जन्ममिति ६१ साल असार १८ उल्लेख छ ।

गौशाला २६ को उमेर १८ वर्ष पूरा भएको प्रमाणित हुन सक्दा उनीसँग सहमतिमा शारीरिक सम्पर्क गरेमा जबर्जस्ती करणी मानिदैन । तर १८ वर्षभन्दा कम उमेरकासँग सहमतिमा राखिएको सम्बन्ध पनि जबर्जस्ती करणीमै गणना हुन्छ ।

१६ देखि १८ वर्षमुनीका बालिकासँग यौन सम्पर्क भएमा १० देखि १२ वर्षको कैद सजाय हुन्छ भने बालिगसँग जबर्जस्ती करणी प्रमाणित भए ७ देखि १० वर्ष मात्रै कैद हुन्छ । यदि सहमतिमा शारीरिक सम्पर्क भएको पुष्टि भए कुनै सजाय हुँदैन ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले केही शर्त र २० लाख धरौटी लिएर थुनाबाहिरै रहेर मुद्दा पुर्पक्ष गर्न पाउने सुविधा दिएको थियो ।


Last Updated on: August 18th, 2023 at 10:14 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया