hatti1692270917 1

बाहिर निस्किन सकिन सेप्टिक ट्यांकीमा परेकी सुत्केरी हात्ती

गृह

बुधबार राति ९ बजेतिर सामुदायिक वनभित्र अरू दिनभन्दा फरक आवाज आइरहेको थियो। यो वर्ष पनि हात्ती आए भन्ने सबैलाई लाग्यो। शेरे भट्ट त्यही सामुदायिक वनका हेरालु हुन्। उनी राति पनि वनको किनारमै सुत्छन्। बुधबार राति पनि गेटनिरको घरमा उनी सुतेका थिए।

हिजो राति ९ बजेतिर हात्तीको बथान कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको किनारको सो वनमा चर्न आएको शेरेले चाल पाइसकेका थिए।

चरेर जाने भएकाले एक्लै आफू जान पनि उनी डराए। वनको भवन बाहिरको बत्ती बालेर अबेरसम्म उनी सुतेनन्। हात्ती नजिकै आए आवाज सुनिएला भनेर उनी पंखा बन्द गरेर बसे। १२/१ बजेतिर राति आवाज सुनिएन। हात्तीको बथान गयो होला भन्ने उनलाई लाग्यो। केहीबेर सुतेपछि उनको निन्द्रा खुल्यो। २/३ बजेतिर हात्ती कराएको आवाज सुनिएको उनले बताए। केहीबेर जोरसँग कराएको हात्ती एकछिन पछि शान्त भयो।

बिहान ६ बजे उठेर उनी अरू दिनको जस्तै बत्ती बन्द गर्न जाँदा भवन अगाडिपट्टि गमलाहरू राम्रै थिए। हात्तीले नोक्सानी गरेनछ भन्ने भयो। पछाडि वनतिर केही क्षति भएको छ कि भनेर हेर्न जाँदा त शौचालयको सेप्टिक ट्यांकीमा खुट्टा छिरेको अवस्थामा शान्त अवस्थामा हात्ती देखे। उनले तत्कालै वन समितिका अध्यक्षलाई फोन गरे। अध्यक्ष पुगे। अरू गाउँले पनि आइपुगे।

त्यहाँका स्थानीय मणिदत्त जोशीले बिहीबार बिहान सामुदायिक वनको भवन पछाडि पुग्दा एउटा हात्ती मरेको देखे। हात्ती मरेको खबर सुनेर त्यहाँ सयौं मान्छे पुगेका थिए। कसैले मरेको हात्तीलाई टीका लगाए। कसैले नमस्कार गरे। केहीले फूलपाती, धुप बालेर फर्के। हात्ती मध्यवर्ती सामुदायिक वनको भवनको शौचालयनेर सेप्टिक टंकीमा आधा भित्र पसेको र आधा बाहिरै अड्किएको अवस्था मृत भेटिएको थियो।

सो सामुदायिक वनका अध्यक्ष लोकेन्द्रराज जोशीले राति समूहबाट छुटिएर आएको हात्ती भएको बताए।

उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरे। निकुञ्जबाट हात्ती व्यवस्थापन, पशु चिकित्सक, संरक्षण अधिकृत लगायतको टोली आयो।

‘हात्ती हेर्दा यो पहिले पनि देखिने हात्ती हो, यसले कान कम सुनेजस्तो गर्थ्यो, खेततिर पनि आउने, वनमा कहिले तल, कहिले माथि जाने गरेको थियो,’ उनले भने।

मरेको हात्तीको पुच्छरमा टुप्पो टुटेको हुनाले यो त्यही हो भनेर चिन्न सकेको उनले बताए।

अध्यक्ष जोशीले अर्को एउटा दाँत भएको हात्ती पनि बस्ती नजिकै आउने गरेको बताए। हात्तीले क्षति नगरोस् भनेर रातभर बत्ती बाल्ने, तारबार गर्ने गरिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डाक्टर आवास श्रेष्ठले सेप्टिक ट्यांकी सानो तर गहिरो भएकाले हात्ती फसेको बताए।

हात्तीले अगाडिका खट्टा टेकेर अघि बढ्न पछाडिका खुट्टा पनि टेक्न खोजेको देखिन्थ्यो। चारै खुट्टा ट्यांकीमाथि परेपछि त्यसको ढक्कन धसेर हात्ती सेप्टिक ट्यांकीभित्र आधा छिर्यो। उसको पुच्छर र घाँटी ट्यांकीका पर्खालमा बजारिन पुग्यो। गहिरो भएकाले हात्तीका खट्टाले ट्यांकीको भुइँ छुन सकेनन्। घटना हेर्दा त्यसले घाँटीमा दबाब परेपछि श्वासनली नष्ट भएर सास फेर्न नपाई हात्तीको केहीबेरमै मृत्यु भएको उनले बताए।

‘मेडिकल भाषामा एस्फिक्सियन भन्छौं, त्यो भएर हात्तीले धेरै छट्पटिन पनि पाएन जस्तो देखिन्छ,’ उनले भने।

यो केसमा सास फेर्न नसकिने अवस्था आई शरीरमा अक्सिजनको कमी भएर मृत्युसम्म भएको उनले बताए।

मृत हात्ती चार महिना जतिकी सुत्केरी भएको हुनसक्ने अनुमान गरिएको छ। उसको थुनबाट दूध आइरहेकाले बच्चाले भर्खर–भर्खरै दूध खान छोडेकोजस्तो देखिएको डाक्टर श्रेष्ठले बताए।

हात्तीको मृत्युले देशलाई अमूल्य क्षति भएको संरक्षणकर्मीहरू बताउँछन्। एक हात्तीलाई जोगाउन लामो समय लागेको हुन्छ। त्यसमा राज्यले लगानी पनि गरेको हुन्छ। नेपालमा २ सय ७० को संख्यामा जंगली हात्ती रहेको तथ्यांक छ। त्यसमध्येको एक यो हात्ती पनि भएकाले यसको मृत्युले ठूलो क्षति भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले बताए।

‘अहिले भारत–नेपाल हात्ती बचाउन प्रतिबद्ध छौं, त्यो हिसाबले यसको मृत्युले ठूलो नोक्सान भएको छ,’ उनले भने।

हात्ती समूहमा आउने भएकाले यो छुट्टिएर एक्लो भएको हुनसक्ने उनको भनाइ छ।

हात्तीको आनीबानीका आधारमा संवेदनशील जनावर हो। यसले सुँघेर वा छोएर धेरै कुरा पत्ता लगाउन सक्ने मेहताको भनाइ छ।

खतरा हुनसक्ने बाटोमा हात्ती हिँड्दैन। यो केसमा झुक्किएर हात्ती दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ। बस्ती किनारमा रहेको सामुदायिक वनको भवनसँगै जोडिएको शौचालयको सेप्टिक ट्यांकीसम्म हात्ती आएको देखिन्छ।

यो जनावरको लागि कुनै सिमाना हुँदैन। उसले हरियो वन देख्छ। यहाँ आउने हात्तीले भारत–नेपाल घुम्ने गर्छन्। बाजे जुन बाटो हिँडे, तिनका पछिपछि हिँडेका छावा त्यही बाटो हुँदै आइपुग्छन्।

अहिले उनीहरूको बाटोमा कतिपय स्थानमा बस्ती बसिसके, त्यसकारण पनि हात्ती बस्ती नजिक आउने गरेका छन्।

‘घरको छेउमा हात्ती आउँदैन, यो नसोचेको भयो, अब शौचालयको यस्तो सेप्टिक ट्यांकी वन नजिक भए घेरेर राख्नुपर्ने हुन्छ,’ उनले भने।

मरेको हात्तीलाई डोजरले पनि उठाउन सकेन। सुरूमा साङ्लो लगाएर तान्न खोजिए पनि पछि अर्को डोजर पनि डाकेर छेउमै अर्को खाल्डो खनेर हात्तीको अन्त्येष्टि गरिएको छ।

कञ्चनपुरमा हात्ती यो सिजनमा बर्सेनि आउँछन्। यहाँका वनहरूमा कहिले माघ–फागुनसम्म बस्छन्। कहिले धानको सिजन सकिएपछि जान्छन्। सामुदायिक वनमा बाँस लगायतका आहार खोज्दै हात्ती आउने गरेका छन्। अहिले खोलामा बाढी र हिलो हुनाले सफा पानी खोजेर पनि अग्लो ठाउँ खोज्दै बस्ती नजिक हात्ती पुगेको हुनसक्ने संरक्षणमा लागेकाहरू बताउँछन्।

वनभित्रका आकाशे पानीबाट बनेका पोखरी पनि अहिले पुरिएकाले पनि प्यास मेट्न हात्ती बस्तीतिर आउने गरेका छन्। वन हेरालु शेरेले आफू काम गर्ने सामुदायिक जंगलभित्रका प्राकृतिक पोखरी अहिले सकिएको बताए।

त्यहाँका स्थानीयका अनुसार पोहोर पनि साउन भदौतिर हात्तीको बथान त्यहीँ पुगेको थियो। त्यो बेला हात्तीको एक घाइते बच्चा भेटिएको थियो। राष्ट्रिय निकुञ्जलाई खबर गरेपछि उद्धार गरिए पनि त्यसको मृत्यु भएको शेरेले बताए।

सोही ठाउँमै गत वर्ष हात्तीको आक्रमणबाट एक जना युवतीको मृत्यु भएको थियो। हात्ती बस्तीमा आएका बेला भाइलाई बचाउन जाँदै गरेकी युवतीलाई हातीले च्यापेर मारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *