pakraum2 1

सात घर आगजनी प्रकरण : प्रहरीद्वारा आरोपित सार्वजनिक, आफू गरिब भएकाले अरुको घर जलाएको वयान

समाचार

जुम्ला । जुम्लामा सात वटा घरसहित सवारीका साधनसमेत आगजनी गरेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पक्राउ पर्नेमा गुठिचौर ४ उखाडि घर भई चन्दननाथ नगरपालिका – २ भण्डारीवाडा घरज्वाई वस्ने बर्ष ३० का रत्नबहादुर अधिकारी रहेका छन् ।

पक्राउ परेका उनलाई आज जुम्ला प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनले गत साउन ५ र ६ गते विभिन्न स्थानका सात घर, ट्रयाक्टर र अटो रिक्सा समेत जलाएर फरार भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए ।

प्रहरीले अधिकारीलाई गत साउन ६ गते नै पक्राउ गरेपनि विभिन्न अनुसन्धान र वयानपछि बिहीबार मात्रै सार्वजनिक गरेको हो ।

‘२०८० साउन ५ र ६ गते विहानसम्म सात वटा घर जलाइएको घटनामा रत्नबहादुर अधिकारीको संलग्नता रहेको पुष्टि भएको छ । त्यसका साथै सोही समयमा ट्रयाक्टर, अटो समेत उनले नै जलाएको खुलेको छ,’ प्रहरी उपरीक्षक कार्कीले भने ।

उनका अनुसार अधिकारीले गरेको आगजनीबाट चन्दननाथ नगरपालिका – १ स्थित डुडाखोचका रतनबहादुर बुढाको ढुंगा माटोले वनेको २ तले कच्ची घर, जुम्ला गुठीचौर गाउँपालिका ४ विगारेका भिम प्रसाद जैसीको ढुंगा माटोले वनेको ३ तले कच्ची घर जलेका छन् ।

त्यस्तैगरी साउन ६ गते १ बजेतिर अधिकारीले गुठिचौर गाउँपालिका ४ खल्लावाडाका लालचन्द्र सार्कीको ढुंगा माटोले वनेको २ तले कच्ची घरमा पनि आगजनी गरेर हिँडेका थिए ।

त्यस्तै उनैको संलग्नतामा भएको आगलागीमा गुठिचौर गाउँपालिका वडा नम्बर ४ डाडावाँडा (क) बस्ने ५९ बर्षको कबिदत्त न्यौपानेको ढुंगा माटो जस्ताले बनेको ४ तले घरको भुईँतलामा आगनको झ्याल नजिकै रहेको खाटमा डस्ना, तन्ना, बार्दली र वारदलीमा क्षति भएको थियो ।

त्यस्तैगरी गुठिचौर गाउँपालिका वडानम्बर ४ डाडावाँडा (ख) कविदत्त न्यौपानेको ढुगा माटो जस्ताले बनेको घर, गुठिचौर गाउँपालिका वडा नम्बर ४ कै धवलपुरस्थित खडानन्द पाण्डेको जस्ताले वनेको ३ तले घर, सोही ठाउँका प्रेम प्रसाद न्यौपानेको घर पनि अधिकारीले नै जलाएको प्रहरीको अनुसन्धानले देखाएको हो ।

प्रहरीको अनुसन्धान अनुसार अधिकारीले २०८० साउन ६ गते विहान अन्दाजी ३ बजे नै विभिन्न घरमा आगजनी गर्दै गुठिचौर गाउँपालिकाको कार्यालय तर्फ जाने मुल सडक प्रयोग गरी गाउँपालिका नजिकैको फलामे पुल तरेर वडा नम्बर ५ प्रवेश गरेका थिए ।

त्यसपछि उनले झारज्वाला देखि जुम्ला बजारतर्फ आउने मुलसडकबाट धिता गाउँ नजिकै सडक स्तर उन्नतिका पार्किङ गरि राखिएको लु ५ त १२४४ नम्बरको ट्रयाक्टर आगजनी गर्न पनि भ्याएका थिए ।

त्यसैगरी अधिकारीलेनै २०८० साल असार २७ गते गुठीचौर निवासी कृष्णबहादुर अधिकारीको पार्किङ गरि राखिएको अटो रिक्सा अन्दाजी राति ३ बजे जलाएको प्रहरी अनुसन्धानले देखाएको छ ।

अधिकारीले साउन २ गते चन्दननाथ नगरपालिका १ बस्ने बर्ष ५२ को साउनेखर कामीको गुठिचौर गाउँपालिका ५ मा रहेको गाईभैसी बाँध्ने कच्ची गोठ समेत जलाएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएका छन् ।

श्रृङखलावद्ध रुपमा घटना घटाउने रत्नप्रसाद अधिकारीलाई प्रहरीले गत साउन ६ गते पक्राउ गरेको थियो । र, सोधपुछ गर्दा घटनाहरु आफूले नै घटाएको बताएका छन् ।

उनले आफू गरिब भएको र ऋण तथा उधारो माग्दासमेत नदिएकोले विभिन्न घरमा आगजनी गर्दै हिँडेको प्रहरी समक्ष वयान दिएको प्रहरीले बताएको छ ।

‘साउन ६ गते अन्दाजी २२–५५ मा चन्दननाथ नगरपालिका वडा नम्बर १ रानामा मुखमा कालो माक्स, ४ फिट लामो लाठी वोकेको व्यक्तिले स्थानीय सर्वसाधारणको घरमा गई ढोका ढकढक्याई को छ घरमा ? बास पाईन्छ कि नाई भनि सोध्ने गरेको खबर प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाईनै अपशब्द वोलेर प्रहार गर्न खोजेको हुदा अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको थियो । अनुसन्धानको क्रममा ति घटनाहरु घटाउने सवै आफु हुँ भनि रत्नबहादुर अधिकारी खुलेको जानकारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

रत्नबहादुर अधिकारी विरुद्ध जुम्ला गुठिचौर ४ निवासी कृष्णबहादुर अधिकारीले अटो रिक्सा धनी कृष्णबहादुर अधिकारीले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार रत्नप्रसाद अधिकारी नेपाली सेनामा भर्ति भइ जागिर छाडेका व्यक्ति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *