आइतबार ०९ बैशाख २०८१

nani bik

मुगु । यहाँकाे छायाँयानाथ रारा नगरपालिका वडा नम्बर १२ भिताडकी नानी बिक उपचारपछि घर फर्केकी छन् । २६ वर्षकी बिककाे असार महिनाको अन्तिम साता लडेर हात भाँचिएको थियो । त्यतिबेला उनी ८ महिनाकी गर्भवती थिइन् । उनले गरिबीका कारण बेलेमा उपचार खर्च धान्न नसक्दा ढिलाइ भयाे । अहिले सहयोगी मनहरुको साथ पाएर उनकाे उपचार सफल भएकाे हाे । उपचार गरेर घर काखमा दुधेबालक सहित उनी घर फर्केकी हुन् ।

बिहान-बेलुकीकाे छाक टार्न समेत गाह्राे थियो उनकाे । ८ महिनाको गर्भ भएकै बेला खेतमा काम गर्न गएको बेला लडेर हात भाँचिदा थप पिडा भएको थियो । उपचार गर्नको लागि आर्थिक अभाव थियो । सरकारी जिल्ला अस्पताल मुगुले जुम्ला रिफर गरेको थियो । तर गोजीमा एक रुपैयाँ पनि थिएन । कसरी उपचार गर्ने अब, जीवनभरिको अपाङ्ग भएर जिन्दगी बिताउनुभन्दा मर्नु निकाे भन्ने सोचमा थिइन् उनी ।

उनकाे उपचारका लागि यसअघि नै हामीले समाचार बाहिर ल्याएका थियाैँ । त्यसपछि बिककाे घरकाे अवस्था निकै दयनीय रहेको कारण ‘मेची-महाकाली बुहारी’ मुगुकी अध्यक्ष सुर्यदेवी मल्लकाे पहलमा नगद रू २० हजार संकलन गरी उपचार अभियान थालनी थरिएकाे थियाे । त्यसपछि विदेशमा बस्ने मुगाली रारा प्रवास समाजका सदस्य र अन्य नेपाली दाजुभाईले समेत सहयाेग उठाइदिए । साथै मुगु जिल्ला अस्पतालका डाक्टर नकुल शाही, जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन डाक्टरले उनको भाँचिएकाे हातकाे अप्रेशन चार्ज, इम्प्लान्ट चार्ज र औषधी सबै निःशुल्क गरीदिए । अनि उनकाे उपचार सम्भव भयाे ।

‘मलाई हरेक क्षेत्रबाट सहयोग गर्ने सबै मेरो लागि भगवान भेटिएझैँ लाग्छ । बल्ल नयाँ जन्म पाएको अनुभूति भएकाे छ,’ नानी बिकले भनिन् ।

अहिले नानी बिकको भाँचिएको हातको अप्रेसन पनि सफल भएको छ भने सुत्केरी पनि सकुशल भएर काखमा छोराे समेत खेलाउँदै घर आएकी हुन् ।


Last Updated on: August 7th, 2023 at 1:19 pm
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया