jumlaha1690627120

त्यो कालो रात!

बिचार

यो आजभन्दा करिब ३ वर्ष अगाडिको घटना हो, जब सिंगो संसार कोभिडको कोलाहलबाट ग्रसित थियो।

आफ्ना कामले यत्रतत्र छरिएर बसेका परिवारका सदस्यहरू कोभिडले गर्दा एकजुट थिए। सहर बजारलाई कोभिडले ग्रसित पारेको थियो। गाउँमा भने कोभिडको असर कम नै देखिन्थ्यो। त्यसैले हामी गाउँलेहरू घण्टा घण्टामा समाचार हेर्दै, पढ्दै, बारीको स-साना खेतीपातीको काममा व्यस्त हुन्थ्यौं। कोभिडताका दिनहरू यसरी नै बित्दै थिए।
भदौको महिना थियो।

छिनमै चर्को घाम अनि छिनमै वर्षातले जमिन बाफिएको थियो। तराईको ठाउँ गर्मी पनि त्यस्तै, सर्पको जोखिम झन् बढी।

कोभिडभन्दा एक वर्ष अगाडि जब हामी (म र मेरो दादा) काठमाडौंमा अध्ययन गर्दै थियौं, त्यतिखेर बाबाले फोन गरेर ठूलोबुवालाई विषालु सर्पले टोकेमा खबर सुनाउनु भयो।

एकछिन हाम्रो मनले खबर पत्ताउनै मानेन। सर्पले टोक्नेबित्तिकै ठूलोबुवाले थाहा पाउनु भएको हुँदा बेलैमा ठूलो बुवाको उपचार सम्भव भयो। ठूलो बुवाले थाहा नपाउनु भएको भए के हुन्थ्यो, त्यो भगवानलाई मात्रै थाहा होला।

शून्यताले छाएको संसार, शून्य आकाश, पीडाका रोदन चिच्याहटबीच कोभिडका दिनहरू बित्दै थिए।

हामी ४ जनाको सानो परिवार। बाबा, ममी, म अनि मेरो दादा।

दादा र म जुम्ल्याहा। हामीबीच जम्मा एक मिनेटको फरक तर पनि म दादा भन्न रुचाउँथे। दादा र म आमाको गर्भदेखि नै साथी भयौं। सँगै जन्मियौं, सँगै हुर्कियौं, सँगै पढ्यौं। एउटालाई चोट लाग्दा अर्को रुन्थ्यौं। एक्लै हामी कतै जाँदैनथ्यौं। जता गए पनि सँगै, जे गरे पनि सँगै। भनौं न एक बिना अर्कोको अस्तित्व नै नरहे बराबर।

ती दिनहरूमा हामी दिउँसोभरी घरका मोटा मसिना काम, गफगाफ, हाँसो ठट्टापछि बेलुका थकित भएर सुत्नको लागि मात्र कोठामा जान्थ्यौं।

एकरात खाना खाइसकेर, जुठो भाडाको काम सकेर मोबाइल चलाउँदै कोठाभित्र पस्यौं। बाबा ममी नयाँ घरमा सुत्नुहुन्थ्यो। हामी दाजु बहिनी पुरानो घरमा।

सधैं ढिलै सुत्ने म त्यो दिन ९ नबज्दै निदाएँ। दादा राति ११-११:३० सम्म मोबाइल चलाएर बस्नु भाको रहेछ। म गहिरो निन्द्रामै थिएँ तर दादाले अनुपा भनेर बोलाउने बित्तिकै म झसङ्ग भएर बिउँझिएँ।

‘के भयो दादा?’ मैले प्रश्न गरें।

‘कस्तो पेट दुख्यो मेरो त, साप्रामा पनि केले टोकेको जस्तो भाछ’ भन्नुभयो। ‘बोल्नै मिलेको छैन अनुपा’ भन्नुभयो।

एक्कासि यस्तो खबर सुन्दा म चिसिएँ। सञ्चै सुतेको मान्छेलाई अचानक मध्यरातमा के भयो होला त भनी मनमनै सोचें।

अनि एक्कासि कसरी आयो, कताबाट आयो, किन आयो थाहा छैन तर दादाले यस्तो यस्तो भाछ अनुपा भन्ने बित्तिकै मैले सबभन्दा पहिले दादाको खुट्टा चिमोट्दै ‘सर्पले त टोकेन?’ भनी प्रश्न गरें।

‘दादाले सहजै होइन होला यो कोठाभित्र कताबाट आउला र!’ भन्नुभयो।

यो दुई तीन मिनेटको कुराकानीपछि दादालाई झन् गाह्रो हुँदै गएको थियो। मैले हत्तपत्त ढोका खोलेर नयाँ घरमा सुत्नु भाको बाबा मम्मीलाई उठाउन गएँ।

‘बाबा! बाबा! दादालाई गाह्रो भाछ छिटो ढोका खोल्नु त’ भनें। बाबा मम्मी निन्द्राबाट बिउँझिँदै, हतासिँदै ‘के भो के भो’ भन्दै बाहिर निस्किनुभयो।

बाबा मम्मीलाई बोलाउनेबित्तिकै म पुरानो घरमा हुनुभएको दादालाई बाहिर आँगनमा निकाल्न हतारिँदै गएँ।

दादा हिँड्न सक्ने अवस्थामा हुनुहुन्थेन। समातेर बाहिर ल्याएँ। बाहिर आउनासाथ दादालाई बान्ता भयो। बाबा मम्मी निरास हुँदै ‘के भयो बाबु’ भनी सोध्दै हुनुहुन्थ्यो। ‘दिउँसो मासु खाएको भएर पेट दुखेको होला चिन्ता नगर बाबु बिहान उज्यालो हुनेबित्तिकै हस्पिटल जानी’ भनेर सान्त्वना दिँदै हुनुहुन्थ्यो।

यता मेरो मन पनि आत्तिरहेको थियो। सुरूमै सर्पको शंका लागेको मलाई पछि पनि ध्यान त्यतै गइरहेको थियो।

म केही नबोली भित्र कोठामा पसें, सर्प पो छ कि भनी चेक गर्नका लागि। थाहा छैन त्यतिखेर ममा एउटा बन्द कोठाभित्र एक्लै सर्प खोज्न जाने आँट कसरी आयो, कहाँबाट आयो।

हुन त मेरो सिङ्गो ज्यान त दिन सक्ने मेरो दादाको लागि सर्प खोज्ने काम त्यतिखेर, त्यो अवस्थामा मलाई निक्कै सामान्य लाग्यो। साना कुरामा धेरै डराउने म त्यति खेर रत्तिभर पनि डर लागेन।

दुखद् अवस्थामा भगवानले पनि साथ दिनुहुन्छ भन्ने सुनेको थिएँ, हो जस्तो लाग्यो। भगवानले नै मलाई बाटो देखाइदिए जसरी भित्र कोठामा गएर अन्त कतै नहेरी सिधै दादा सुत्नु भाको ‘लो बेड’ तानेर भित्ताका छेउछाउ हेरें। म बेस्सरी चिच्याएँ। किनकि त्यहाँ सर्प थियो। कालो सर्प, लम्पसार परी लाटो भएर बसेको। छाँगाबाट खसे सरी भएँ, हात खुट्टा लल्याक लुलुक हुन थाले। हतार हतार बाबालाई बोलाएँ। बाबा पनि आत्तिँदै आउनुभयो। सर्प हेरेर ‘ओहो यो त करेट हो’ भन्नुभयो। तराईमा पाइने विषालुमध्येको एक। ३० सेकेण्ड बाबाले सर्पलाई बेस्सरी गाली गर्नुभयो।

मेरो घर पुरानो, थोत्रो, सानो भएर मेरो छोरालाई टोक्न आको होइन त। पख् तलाई ३ तला घर बनाएर देखाउँछु।

जसरी ममा सर्प खोज्ने हिम्मत आको थियो, त्यसरी नै बाबामा पनि भर्खरै ३ तला घर ठड्याइदिने हिम्मत, शक्ति अथवा भनौं क्रोध उत्पन्न भयो!

म रुदै मममी र दादा भए ठाउँमा पुगें। अंगालो हालेर बेस्सरी रुन मन थियो। तर अहँ रोइन। दादाको हिम्मत हौसला बनें।

दादाले ‘अनुपा सर्प कताबाट आएछ त? घरमा चारैतिर जाली छ। खै खै अनुपा म पनि हेर्न जान्छु’ भन्नुभयो।

मैले ‘हुँदैन दादा, तपाईं झन् डराउनु हुन्छ’ भन्दै सम्झाएँ।

उता बाबाले ठूलो बुवा अनि अंकललाई फोन गर्दै हुनुहुन्थ्यो। म र मम्मी दादालाई अंगालो कसेर कापेको स्वरमा ‘केही हुँदैन नआत्तिनु है’ भनेर सम्झाउँदै थियौं।

दादालाई सर्पले टोकेको कतिबेर भाको थियो, हामीले अनुमान लगाउन सकेका थिएनौं। तर दादामा देखिएका लक्षणले अवस्था गम्भीरमै पुगिसकेको जस्तो लाग्थ्यो। विषालु सर्प करेटले टोकेको ३/४ घण्टाभित्र मान्छेको मृत्यु समेत हुन सक्छ भन्ने थाहा थियो। त्यही भएर पनि होला मलाई त्यति खेर यस्तो लाग्दै थियो कि मैले मेरो प्राणभन्दा प्यारो दादाको मृत्यु नजिकबाट नियाल्दै छु।

दादालाई केही हुने बित्तिकै हाम्रो सानो खुसी परिवारमा निकै ठूलो बज्रपात आउनेवाला थियो। हामीले फेरि कहिल्यै खुसी भन्ने कुरा पाउँदैन थियौं भन्ने कुरा दिमागमा खेलिरहेको थियो।

यही कल्पनाबीच झसंग भएँ अनि अहँ कुनै हालतमा पनि यो अवस्था आउन दिनु हुँदैन भनी दरो मनोबल बनाएँ।

ठूलो बुवा, ठूलोमम्मी, आमा, अंकल, आन्टी भाइबहिनीहरू सबै केही मिनेटभित्रै आइपुग्नुभयो। केही वर्ष अगाडि ठूलो बुवालाई पनि सर्पले टोकेको तीतो घटनाको अनुभव गरेको हुँदा यो यो प्रक्रिया हुँदै अघि बढ्नुपर्छ भन्ने कुराको एउटा सामान्य नक्सा तयार भयो।

ठूलो मम्मीको दिदीको छोरी, ज्वाइँ अनि छोरा मेडिकल फिल्डतिरको हुनुभएको हुँदा प्रक्रियामा अगाडि बढ्न सजिलो भयो।

यता दादालाई झन् भन्दा झन् गाह्रो हुन थालेको थियो। कत्ति पनि समय खेर नफाली बाबा अनि ठूलो बुवाले गाडीमा राखेर हस्पिटल लैजानु भयो।

दादालाई गाह्रो भएदेखि हस्पिटल लैजाँदा सम्मको समय जम्माजम्मी ३०-३५ मिनटको थियो।

अघिसम्म दादालाई केही हुँदैन भन्दै दादालाई हिम्मत हौसला दिँदै बसेका हामी आमा छोरी, दादा जाना साथ अंगालो हालेर बेस्सरी रोयौं। आन्टी, ठूलोमम्मी, आमा, दिदीहरू सबैको रुवाबासी नै चल्यो। साह्रै नै ढिलो भइसक्यो कि, बेलैमा थाहा पाइएन कि भन्ने भयो।

सर्पले टोकेको बिरामीलाई भेन्टिलेटर नभई नहुने रैछ। एन्टिभेनम दिएपछि भेन्टिलेटरमा राख्नै पर्ने रैछ।

तर त्यस बखत कोभिडको महामारी भएको हुँदा भेन्टिलेटर जता सुकै प्याक रहेछ। सरकारी हस्पिटल पुग्दा भेन्टिलेटर खाली नभएको कुरा थाहा भयो।

बिहान ३-४ बजेतिर दादालाई एन्टिभेनम त दिइयो तर त्यसपश्चात अति आवश्यक भेन्टिलेटर हस्पिटलमा खाली थिएन। डर झन् बढ्दै गयो। एन्टिभेनम दिएर मात्र दादालाई ठीक हुने वाला थिएन।

बाबा, ठूलो बुवाले जताततै फोन घुमाउन थाल्नुभयो, चितवनमा कुनै हस्पिटलमा भेन्टिलेटर खाली छ कि भनी बुझ्न। त्यति खेरसम्म ५-५:३० भइसकेको थियो। भाग्यवश चौबिस्कोटीको पुष्पाञ्जली हस्पिटलमा एउटा बेड खाली भएको कुरा थाहा भयो।

दादालाई एम्बुलेन्समा राखेर सरकारी हस्पिटलदेखि पुष्पाञ्जली हस्पिटलसम्म ह्यान्डपम्पको सहायताले अक्सिजन दिँदै लैजानु भयो। यो अवस्थासम्म दादालाई धेरै नै गाह्रो भइसकेको थियो। बोल्न सक्ने अवस्थामा हुनुहुन्थेन, कपी कलम मागेर केही लेख्न खोज्दै हुनुहुन्थ्यो तर हात चल्ने कुरै भएन।

त्यसबेला दादा अचेत अवस्थामा पुग्न लाग्नु भएको थियो रे। त्योभन्दा अगाडि ‘म अनुपाको लागि भए पनि जसरी नि बाँच्नैपर्छ’ भन्ने सोच नै अन्तिम सोच आको रहेछ। पछि यो कुरा थाहा हुँदा परिवारमा कसैको पनि आँखा ओभाना थिएनन्।

त्यसपछि दादालाई पुष्पाञ्जली हस्पिटलमा भेन्टिलेटरमा राखियो। २-३ दिन सम्म दादा काठको मुडाजस्तै हस्पिटलकाे बेडमा सुत्नु भाको थियो। शरीरमा कुनै हलचल थिएन, बेहोस अवस्थामा हुनुहुन्थ्यो। ठीक हुन्छ वा हुँदैन केही भन्न सक्ने अवस्थामा थिएन।

अन्तत, भाग्यवश दादालाई होस आयो। सबैको अनुहारमा अलि अलि उज्यालोपन देखिन थाल्यो। दादाले बिस्तारै दाल, जाउलो खान थाल्नु भयो। नर्स दिदीहरूको निकै राम्रो हेरचाह सँगै विभिन्न थेरापीले बिस्तारै अवस्थामा केही सुधार हुँदै जान थाल्यो।

हस्पिटलमा पनि कोभिडको डर भएको हुँदा अब घरमै हेरचाह गर्ने भन्ने सल्लाहका साथ ९ दिनको दिनमा पुष्पाञ्जली हस्पिटलबाट दादा डिस्चार्ज हुनुभयो।

जीवनको त्यो निकै जटिल परीक्षालाई यसरी पार गरियो। यो कठिन परीक्षा पास गर्न ठूलो सहयोग गर्नु हुने डाक्टर, नर्स, थेरापिस्ट सान्त्वना दिनु हुने आफन्तजन, इष्टमित्र छरछिमेक सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं।

यो घटना घटेको आज ३ वर्ष हुन लाग्यो। तर यो घटनाको नमिठा तीता यादहरू अझै पनि मेरो मन मस्तिष्कमा नराम्ररी गडेर बसेको छ। अध्ययनका लागि अहिले म भैरहवामा छु। नेपालकै गर्मी मध्येको एक, जहाँ सर्पको जोखिम पनि उत्तिकै छ। त्यसैले पनि होला कमिलाले शरीरमा कतै टोकेर दुख्दा पनि सर्पले पो टक्यो कि! भनेर झस्किने गर्छु।

दादालाई त्यति जटिल अवस्थामा पुर्याएको सर्पलाई पहिलोचोटि आफैंले देखेको भएर होला, अचेल मलाई सर्पदेखि निकै डर लाग्छ। दुई पटकसम्म त आत्तिँदै म हस्पिटल नै पुगेकी छु सर्पले नटोक्दा पनि सर्पले टोक्यो कि भन्ने शंकाले।

डाक्टरले नआत्तिनुस् डर र कमजोरीले गर्दा यस्तो भाको हो भनी स्लाइन पानी चढाएर फर्काइदिनु भाको छ।

गर्मी लागे सँगै पत्रपत्रिका समाचारहरूमा सर्पदंशका घटनाहरू धेरै आउने गर्छन्। यी समाचारले विगत सम्झाएर झन् धेरै झस्काउँछन्।

सर्पको टोकाइबाट पछिल्ला ५ वर्षयता देशभर १०५ जनाले अकालमै ज्यान गुमाएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विसं २०७५ देखि २०८० असार २७ गते सम्म सर्प टोकाइको तथ्याङ्क अनुसार १६४ घटना घट्दा १०५ जनाको मृत्यु भएको छ।

केही दिन अगाडि मात्र दाङ र रूपन्देही जिल्लामा दुई दिनको अन्तरालमा ४ जनाले अकालमै ज्यान गुमाए।

आमाको काख नै रित्तै हुने गरी सँगै सुतेका दाजुभाइको ज्यान गयो।

मुख्यतः नजिकै सर्पदंशको उपचार केन्द्र नहुँदा सर्पदंशमा परेकाहरूले अकालमै ज्यान गुमाउन परेको छ।

कति मानिसहरू अझै पनि सर्पले टोक्दाका लक्ष्यणहरू के कस्ता हुन्छन् भन्नेबारे अज्ञात छन्। योबारे विभिन्न जनचेतनामूलक कार्यक्रमहरू प्रभावकारी ढंगबाट गरिनु पर्छ।

यो एउटा जीवले टोक्दा समयमा उपचार नपाएर नै मान्छेले आफ्नो अमूल्य जीवन खेर फाल्नु पर्ने हो??

आफ्नो घरपरिवार, इष्टमित्र, साथीभाइ सबै छाडेर मृत्युको यात्रा गर्नुपर्ने हो?

आफ्ना जनताको ज्यानको सुरक्षाको लागि जिम्मेवार त सरकार नै हुनुपर्ने!! जनताका समस्याका अगाडि दरो खम्बा बनेर सरकार उभिदिनु पर्ने होइन र?

तर जनताको मतलब नै नभएको, जनताका लागि केही गर्छु भन्ने ताप नै नभएको लाचार जिम्मेवारहीन सरकारलाई हामी पीडित जनताले के भन्ने, कति पटक भन्ने खै???

चाँडै नै हाम्रो सरकार जिम्मेवार सरकार बनेको देख्न पाइयोस्। अनि गर्वका साथ छाती फुलाएर हिँड्न पाइयोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *