आइतबार ०९ बैशाख २०८१

ghar1690542341 1

बझाङमा एक जनाले बनाउँदै गरेको घर गाउँलेहरूले भत्काइदिएका छन्। बझाङको बित्थडचिर गाउँपालिकामा करण ओखेडाले बनाइरहेको घर सार्वजनिक जग्गामा परेको भन्दै गाउँलेले भत्काएका हुन्।

भारतको दिल्लीमा रोजगारी गर्ने ओखेडाको वडा नम्बर-७ मा जमिन छ। उनका बुवाले २०५७ सालमै सो जमिन किनेको बताए। आफ्नो जमिनमा घर बनाउँदा ३०/४० जना गाउँले आएर भत्काएको उनको भनाइ छ।

‘सार्वजनिक जमिन हो, तेरो होइन भनेर घर पनि भत्काए। बाली, मकै काटेर आफ्ना गाईभैंसीलाई लिएर गएछन्,’ उनले भने, ‘मलाई दलित तँ के गर्न सक्छस् भने।’ त्यसपछि उनले आफ्नो बन्दै गरेको घर भत्काउँदै गरेको दृष्य लुकेर मोबाइलबाट भिडिओ बनाएको बताए।

करण केही दिनअघि दिल्लीबाट आएका थिए। रोपाइँ सकेर उनले घर बनाउन थालेका थिए। मिस्त्री, कामदार लगाएर काम भइरहेको थियो। चार भाइ भएकाले पुरानो घर साँघुरो हुन थालेपछि थप्न खोजेको उनले बताए।

‘मेरो जमिनभन्दा माथि वन छ, त्यो सार्वजनिक होला, हामीले आफ्नै जमिनमा घर बनाउन खोजेका हौं,’ उनले भने। त्यहाँका स्थानीयको भुइँतलामा गोठ, बीचमा घर र माथिल्लोमा पाँण (तीन तले घर) बनाउने चलन छ। करणले गोठ तलामा चिनाइ सुरू गरी ढोका लगाउँदै गर्दा घर भत्काइएको बताए।

ओखेडाको घरसँगै अरू जमिन पनि छ। ६ नम्बर वडामा पनि उनको घर छ।

उनले बनाउँदै गरेको घर भत्काइएको विषय अहिले जिल्ला प्रहरी कार्यालयमा पुगेको छु। ओखेडाले घर भत्काउनेविरूद्ध मुद्दा हाल्ने सोच बनाएको बताए। उनका बुवा र भाइ जिल्ला प्रहरी कार्यालय बझाङ पुगेका थिए।

ओखेडाले मिलापत्र गराउन खोजे आफू नमिल्ने बताए। ‘मेरो घर फालेका छन्, मेरो परिवार छ, गाई गोरु छन्, म त मिल्दैन,’ उनले भने।

यो विषय तीन महिनाअघि गाउँपालिकाको कार्यालयमा पुगेको थियो। गाउँपालिकाका अध्यक्ष अमरसिंह महरका अनुसार पहिले नै सार्वजनिक जमिनमा घर बनाएको भनेर अरूले विरोध गरेका थिए। स्थानीयले यो विषयको निवेदन ल्याएर गाउँपालिका आएका थिए। त्यतिबेला पछि अमिन ल्याएर कुरा गरौंला भनिएकोमा अहिले गाउँलेहरूले घर भत्काइदिएको अध्यक्ष महरले बताए।

जग्गा ऐलानी भए पनि जसको कित्ताको नजिक छ, उसैले भोगचलन गर्न पाउने भनाइ ओखेडा परिवारको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ओखेडाले आफ्नो घर भत्काइदिएको भन्दै उजुरी दिएका छन्।

प्रहरीले प्रारम्भिक रूपमा बुझ्ने काम गरिरहेको बताएको छ। सार्वजनिक जमिन भए पनि वडाले गर्ने काम स्थानीयले गरेपछि कानूनविपरीत भएको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले दुबै पक्षलाई बोलाएर के भएको हो, कसको जग्गा हो भनेर छलफल भइरहेको बताए। अहिले सो घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।


Last Updated on: July 28th, 2023 at 2:52 pm
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया