IMG 20230214 074716 780x470 1

“घर ज्वाइँ बस्ने केटा खोजिरहेको छु, पाए भने विहे गरिहाल्छु” – टीका सानु (भिडियो सहित)

मनोरंजन

दाङ तुलसीपुरमा जन्मिएकी टीका सानु बिक पछिल्लो समय चर्चित लोकदोहोरी गायिका बनेकी छन्।सानैदेखि गीत संगीतमा रूचि राख्दै अगाडि बढेकी उनी अहिले काठमाडौंमा रहेर गीत संगीतकै बाटोमा हिँडिरहेकी छन्।खास गरी लाइभ दोहोरी प्रतियोगितामा सहभागी हुँदै कहिले जीत कहिले हारको सामना गरेर अहिले आफ्नै स्वरमा धेरै गीत रेकर्डङ गरिसकेकी छन्।

लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो छ। दाङ तुलसीपुरमा उनी घरकी ४ दिदिबहिनी मध्ये माइँली छोरी हुन्। बाबा आमा २ दिदी र दुई बहिनीको परिवार रहेको उनको बाल्यकाल अभाव र पीडामा बित्यो।

सामान्य परिवारमा जन्मिएकी उनले गरिवीसँगै परिवारमा भएको लैंगिक असमानतासँग लडेरै बित्यो।स्टेज प्रोग्राम र लाइभ दोहोरीमा व्यस्त यी गायीका फुर्सदको समयमा आफ्नो बाल्यकाल सम्झिन्छिन्।पुरूष प्रधान समाजमा हुर्किएकी उनले बुबा र हजुरआमाको काखमा खेल्न कहिल्यै पाइनन्।उनकी आमाले चार सन्तानलाई जन्म दिए पनि छोरा नजन्माएको भन्दै बुबा र हजुरआमाले उनकी आमा र चारै दिदीबहिलाई कहिल्यै आफ्नो सन्तान जस्तो माया गरेनन्।

‘सानो हुँदा मिठो गाँस पाइनँ, स्यारसुसार त टाँढाको वस्तु थियो मेरा लागि। बिचरी मेरी आमाको के दोष? छोरा नजन्मिनुमा,’ आँखाभरी आँशु पारेर अगाडि भनिन्,‘आफू जन्मेको एघार दिन नपुग्दै हजुर-आमा र आफ्नै बुबाले सुत्केरी आमा र मलाई घरबाट निकालिदिनु भएको थियो।’हजुरआमा र बुवाको हेलाको सिकार लामो समयसम्म उनले भोगिन्।हजुरआमा मरेर गए पनि उहाँले कहिल्यै मिठो शब्द बोलेको हामीलाई थाहा छैन। उहाँले बारम्बार भन्नुहुन्थ्यो- छोरीले धन खानु र भैसीले बन खानु एउटै हो।

हाम्रो परिवारमा लैंगिक असमानता निकै थियो। मेरी आमाले शारीरिक यातना र मानसिक यातना धेरै भोग्नुभएको छ। हामी सबै छोरी नै छोरी जन्मिएपछि आमाले बुबाको कति कुटाइ खानुभएको थियो।हुँदा हुँदा बाबाले आमामाथि दुई वटा सौता थपिदिनुभयो। कारण एउटै थियो- छोरा जन्माउन। तर, हामी भाग्यमानी रहेछौ। सौतेनी आमाहरू एक-दुई वर्षमै अर्कैतिर जानुभयो।जीवन निकै अप्ठेरो थियो। साँझ- बिहान के खाने भन्ने समस्या थियो।

गरिबीले सताइरहँदा हामी छोरिलाई समाजमा हेरिने दृष्टिकोण फरक थियो। हाम्रो बाल्यकाल हेला, तिरस्कार, र अभावमै बित्यो।घर वरपर सांस्कृतिक कार्यक्रम भएको बेला खुट्टामा लगाउने चप्पलसमेत हुँदैन थियो। म कयौं कार्यक्रममा भाग लिन जाँदा चप्पल नलगाई खाली खुट्टा नै गएको छु। गीत गाउन विभिन्न महोत्सवमा जाँदा धेरै पटक पुरस्कार जितेको छु। थोर पटक मात्र हारेको छु, जित्दा फुरूङ्ग हुने यो मन हार्दा नरमाइलो लाग्थ्यो।

त्यस्तै सात-आठ कक्षामा पढिरहँदा धेरै लोक-गीत प्रतियोगितामा भाग लिएको छु। प्रतियोगिताका लागि बाहिर जाँदा आफूसँग पैसा नहुँदा आमाले अरूसँग २०-३० रूपैयाँ ऋण खोजेर भए पनि मलाई कार्यक्रममा पठाउनु हुन्थ्यो। कतिले त ऋणसमेत पत्याउँदैन थिए। आमाले पैसा सापट माग्दा अरूले गरेको नराम्रो व्यवहारका दिनरू मैले अझै सम्झिरहेको छु।कार्यक्रममा भाग लिन जाँदा आफूसँग राम्रो लगाउने लुगा नहुँदा धेरै पटक साथीको लुगा लगाएरै गएको छु।

कमजोर पारिवारिक अवस्थाका कारण आफूले सोचे जस्तो सफलता पाउन नसकेको उनी सांगीतिक दुनियाँमा संघर्ष गर्न २०६८ सालमा तुलसीपुरदेखि काठमाडौं आइन्।तर काठमाडौंमा पनि कहाँ सजिलो थियो र? उनी काठमाडौं आएपछि घरको अवस्था झन खस्किँदै गयो। दुई छाक खान र एकसरो कपडा लगाउनसमेत समस्या भएपछिआमालाई वैदेशिक रोजगारीका लागिपठाउनु परेको उनी बताउँछिन्।

घरमा दिदिबहिनी मध्ये दिदी र एक बहिनीले बिहे गरेर गएपछि उनलाई काठमाडौं बसेर सांगीतिक यात्रा अगाडि बढाउन थप समस्या भयो। घरको समस्याले सताउन थाल्यो। त्यसपछि पुनः ‍उनी गाउँ फर्किइन्।‘घरमा दिदी बहिनी नै नभएपछि आफूलाई व्यवहारले च्याप्दै गयो अनि संघर्ष गर्दागर्दै घर फर्किए,’उनले ब्रेकएनलिक्ससँग भनिन्,‘यो दुनियाँमा अलिपछि परेपनि संघर्ष गरेर आफूलाई चिनाउन लागि मेहनत गरेरै छाडेँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *