balak bepatta1690199501

सामाखुसीमा हिँड्दा-हिँड्दै नालामा खसेका थिए फुटसल खेल्न निस्किएका साजन

समाचार

आइतबार साँझ करिब साढे पाँच बजेतिर। केहीबेर भएको भारी वर्षाले काठमाडौं महानगरपालिका -३ रानीबारीस्थत एनसिएमटी कलेज अगाडिको सडक जलमग्न थियो।

ठूलो पानी परेकाले नालीको सतह भरिएर सडकसम्म आएको थियो। नालामा पानी भरिएर सडककै सतह बराबर हुँदा सडकको किनारा छुट्याउन मुस्किल थियो। पानी बग्ने नाला साँघुरो भएकाले वर्षाको पानी राम्ररी पास हुन सकेको थिएन र सडकमाथि बाट बगिरहेको थियो।

एनसिएमटी कलेज अगाडिसम्म सिमेन्टको स्ल्याबले नाला ढाकिएको छ तर अलि पर ह्वाङ्गै छ।

१२ वर्षीय साजन मगर भर्खर विद्यालयबाट घर आएका थिए । उनी पानीपोखरीस्थित भानुभक्त माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्छन्। पढाइमा अब्बल साजनको फुटबलमा रूची थियो। उनी राम्रो खेल्थे पनि।

फुटसल राम्रो खेल्ने भएकाले उनका बुवाले सामाखुसीको एक क्लबमा उनलाई भर्ना गरिदिएका थिए। साजन विद्यालय स्तरीय फुटसल प्रतियोगितामा पनि खेल्थे। आइतबार विद्यालयबाट फर्केपछि उनी फुटसल खेल्न भनेर निस्के । उनको घरनजिकैका एक जना साथी पनि उनीसँगै फुटसल खेल्थे।

पानी अलिअलि रोकिएको थियो। बाहिर निस्कँदा सडक जलमग्न थियो। सडकको पारिपट्टि थिए, उनीसँगै फुटसल खेल्न जान लागेका साथी। साजन जलमग्न सडकको किनारैकिनार हिँडिरहेका थिए। पारिपट्टिका साथी अगाडि थिए, उनी अलि पछि। हिँड्दा-हिँड्दै साजन अचानक नालामा खसे।

नजिकै किराना पसल चलाउने शान्तिदेवी कँडेलले साजन खसेको देखिन्। एकछिन त उनी के गर्ने, के गर्ने भइन्। केहीबेरमै बाहिर निस्किन् र बच्चा बगायो भन्दै कराउन थालिन्। ‘तर कोही आएनन्,’ उनले भनिन्।

साजनसँगै हिँडेका बालकले घर पुगेर परिवारलाई घटनाबारे भने। उनको परिवार तत्काल साजनको घर गएर घटनाबारे जानकारी गराएपछि प्रहरीलाई खबर भयो।

त्यतिबेला साजनका बुवा घरमा थिएनन्। उनी कामका लागि गोंगबु गएका थिए। ‍ खबर पाएपछि उनी छोरा खसेको ठाउँमा आए। रानीबारी चोकमै प्रहरी बिट छ। तर घटना भएको आधा घन्टापछि मात्रै प्रहरी पुगेको उनी बताउँछन्।

उनका अनुसार घटनास्थलमा पुगेको प्रहरी पनि एकछिन अलमलमा पर्‍यो। केहीबेरमा थप प्रहरी आएपछि खोजी कार्य सुरू भए पनि सोमबार साँझसम्म साजन फेला परेका छैनन।

उनका बुवालाई छोरा सकुशल भेटिने आशा छ। प्रहरी र सम्बन्धित निकायले संवेदनशील भएर नखोजेको उनको गुनासो छ।

‘आधा घन्ट सम्म खसेकै ठाउँमै खोजेर प्रहरी बसिरह्यो, त्यस्तो नभएको भए मेरो छोरा हिँजै भेटिन्थ्यो होला,’ उनले भने। प्रहरीले भने साजनको खोजी तीव्र रूपमा भइरहेको बताएको छ।

उनको खोजी गर्न काठमाडौंका विभिन्न युनिटहरू खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीले जानकारी दिए। उनका अनुसार सामाखुसीमा खसेका बालक बगेर विभिन्न खोलामा पुगेको हुन सक्ने भएकाले छुट्टै प्रहरी परिचालन गरिएको छ।

अहिले प्रहरी वृत्त बालाजुका १० जना र प्रहरी वृत्त सोह्रखुट्टेका १० जनाले विष्णुमती खोलामा खोजी गरिरहेका छन्। विपद् उद्धार महाशाखा सामाखुसीबाट २५ जनाको टोली पनि खटिएको छ।

‘डेडिकेटेड टिम ४५ जना खटिएका छन्। अन्य विभिन्न मातहतका प्रहरीहरूलाई पनि हेर्न भनिएको छ,’ एसएसपी मैनालीले भने, ‘अन्तिममा बागमतीमा पुगिने भएकाले कालिमाटी र कीर्तिपुरलाई पनि आवश्यक खोजी गर्न भनेका छौं।’ यस्तै बालकको खोजी गर्न सशस्त्र प्रहरी बलको पनि छुट्टै टोली खटिएको छ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाका अनुसार विपद् व्यवस्थापन तालिम प्राप्त ५६ जनाको संयुक्त टोली खटिएको छ। नं. १८ निलबाराही गणबाट डिएसपीको कमान्डमा २० जना, नं. २० विपद् उद्धार उपत्यका गणबाट इन्सपेक्टरको कमान्डमा १५ जना र नं. २४ बाघभैर गुल्मबाट इन्सपेक्टरको कमान्डमा २१ जना खटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *