received 7894070228629221690189828

जहाँ बिरामीलाई झ्यालमा राखेर गराइन्छ आकस्मिक उपचार

समाचार

अस्पतालको एनआइसियू कक्षको सेवा ठप्प भएको वर्षदिन भन्दा बढी भयो।

अल्ट्रासाउन्ड रिपोर्टलाई त्यहीँ कार्यरत चिकित्सक पत्याउँदैनन्। त्यसैले बिरामी अन्य अस्पतालमा गएर फेरि परीक्षण गराउनुपर्छ।

आकस्मिक कक्षमा ठाउँ अभाव भएपछि बिरामीलाई झ्यालमा राखेर उपचार गराइरहेको भेटिन्छ। कुनै बेडमा दुई जनासम्म बिरामी राखेर उपचार गराइन्छ।

यो दृष्य विराटनगरस्थित कोशी अस्पतालको हो। उल्लेखित समस्यामात्र होइन अरू धेरै अव्यवस्थाले यो अस्पताल जेलिएको छ।
लामो समयदेखि हुर्किएको यो अव्यवस्थाको मारमा भने बिरामी र तिनका परिवजारजन परेका छन्।

धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछि कोशी अस्पताल नै यो प्रदेशको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था हो।

कहलिएका चिकित्सकहरूबाट उपचार पाइने, निजीभन्दा धेरै कम खर्चमा उपचार हुने तथा बीमामार्फत पाइने औषधि सुविधा सहज हुने आसले बिरामीहरू यहाँ आउने हुन्। तर केही न केही उपकरण बिग्रेको अथवा चिकित्सक नभएको भन्दै निजी अस्पताल जान बाध्य हुन्छन्।

निर्धन बिरामीका लागि खर्चको बोझ मात्रै बढाएको छैन, कतिपयको ज्यान समेत जाने गरेको छ। अस्पतालको अव्यवस्थाकै कारण आफ्ना परिवारजनले क्षति वेहोर्नुपरेको अनुभव लिएर कतिपय बिरामी घर फर्किन्छन्।

upakarna 1

सुनसरीको कोशी गाउँपालिका ८ की सुस्मिता श्रेष्ठ ती मध्ये एक हुन्। आफ्नो नवजात छोराको ज्यान कोशी अस्पतालभित्रको अव्यवस्थाले लिएको उनी ठान्छिन्।

असार २१ मा सुस्मितालाई प्रसुति व्यथा लाग्ने बित्तिकै परिवारका सदस्यले हत्तपत्त विराटनगरको कोशी अस्पताल दौडाए।

स्वास्थ्य बीमामार्फत उपचार हुने, बीमा सुविधामा नपर्ने सेवाहरू लिनुपरे पनि अन्यत्रभन्दा सरल पर्ने आसले परिवारले उनलाई कोशी अस्पताल ल्याइपुर्‍याएको थियो।

अस्पतालको स्त्री तथा प्रसुति विभागमा उनलाई पुत्रलाभ भयो। प्रारम्भिक स्वास्थ्य परीक्षण गर्नेबित्तिकै चिकित्सकले शिशुको श्वासप्रश्वासमा समस्या रहेको बताए।

‘बच्चालाई तत्कालै एनआइसियूमा राखेर उपचार थाल्नुपर्छ’, डाक्टरले यसो भनेपछि श्रेष्ठ परिवारले त्यसै गरिदिन आग्रह गर्‍यो।

डाक्टरले एनआइसियूमा राखेर उपचार गर्नुपर्छ त भने तर कोशीमा एनआइसियू सेवा उपलब्ध नभएकाले बाहिर लगेर उपचार गराउनुपर्ने भयो।

‘यहाँको एनआइसियू त एक वर्षभन्दा लामो समयदेखि बन्द छ,’ त्यहाँका स्वास्थ्यकर्मीहरूले भने ‘यहाँ भएको भए सस्तो पर्थ्यो। अहिले छैन। बाहिर अलि महंगो पर्छ होला।’

सुस्मिताका आफन्तले एनआइसियू शुल्कबारे बुझ्न खोज्दा स्वास्थ्यकर्मीले कोशीमा दैनिक एक हजार शुल्क लाग्ने बाहिर कति लाग्छ भन्ने थाहा नभएको जवाफ दिए।

तत्कालै नवजात शिशु लिएर विराटनगरकै एउटा निजी अस्पताल पुगेका उनीहरूलाई अस्पतालले सुरूमै अत्यायो।

त्यो निजी अस्पतालले दैनिक १५ हजार रूपैयाँ लाग्ने जानकारी दियो।

स्वास्थ्य विमा र सस्तो उपचारको आसमा कोशी आइपुगेका उनीहरूका लागि त्यत्रो खर्च धेरै बोझिलो थियो। शिशुको उपचार थालिहाल्न भनेपछि उपचार सुरू भयो। एनआइसियूमा भर्ना गरेर तीन दिन उपचार गराएपछि उनीहरूको साथमा रहेको पैसा सकिन थाल्यो। अस्पतालको बिल भने बढेको बढ्यै थियो।

‘दिनको १५ हजार रूपैयाँ लाग्छ भनेपछि हामीले भर्ना गरायौं, तीन दिनमा ४५ हजार सकियो,’ सुस्मिताकी छिमेकी रमा प्रधानले भनिन् ‘त्यसपछि उहाँहरूको परिवारले योभन्दा सरल अस्पताल खोजिदिन भन्नुभयो। स्वास्थ्य विमामार्फत उपचार गर्न सकिने मोरङ सहकारी अस्पताल लैजाने सल्लाह भयो। त्यहाँ पुर्‍याएको एक घन्टा नबित्दै शिशुको मृत्यु भयो।’

मोरङ सहकारी अस्पताल परिसरमा भेटिएका श्रेष्ठ परिवारका सदस्यहरू कोशी अस्पतालको एनआइसियू चलिदिएको भए आफ्नो बच्चा बचाउन सकिने थियो कि भन्ने आस लागेको बताए

‘हामीले खर्चले धान्न नसक्ने भएरै यहाँ लिएर आएका थियौं,’ परिवारकै एक सदस्यले भने ‘तर, खर्च अभावले अस्पताल डुलाउँदा–डुलाउँदै बच्चाको ज्यान गयो।’

कोशी अस्पतालको एनआइसियू सेवा ठप्प हुँदा यसरी दुःख पाएका सर्वसाधारणको सूची लामो छ। यद्यपि एक वर्षदेखि स्टोरमा थन्क्याएर राखिएका एनआइसियूका उपकरण जडान गर्ने र सेवा सुचारू गर्ने विषयमा कोशी अस्पताल उदासीन छ।

‘सेवा सञ्चालनको तयारी भइरहेको’ तथा ‘जनशक्ति अभावका कारण सेवा सन्चालन गर्न नसकिएको’ रेडिमेड जवाफ बोकेर बसेको अस्पताल प्रशासनसँग पनि सेवा कहिलेदेखि सुरू हुन्छ भन्ने थाहा छैन।

कोशी अस्पतालमा एक वर्षअघिसम्म एनआइसियूमा ६ वटा बेड सञ्चालमा थिए। नयाँ भवन बनाएर बाल रोग विभाग सारेपछि भने एनआइसियूको सामान स्टोरमा थन्किएको थन्कियै छ।

यो अस्पतालमा दैनिक सरदर १ हजारदेखि १ हजार ५ सय जनासम्मले ओपिडी सेवा लिने गरेका छन्। अस्पतालका अधिकांश विभागका ओपिडी र बेडहरू भरिभराउ नै हुन्छन्।

अस्पतालका बालरोग विभाग प्रमुख डा. रामनारायण चौधरी ‘जनशक्ति अभावका कारणले एनआइसियू सञ्चालन नभएको’ बताउँछन्। उनी मात्रै होइन, अस्पतालका हरेक जवाफदेही अधिकारीको भाषा यस्तै हुन्छ। तर, प्रदेशको सबैभन्दा ठूलो अस्पतालमा ठप्प रहेको सेवा सुचारू गर्न के कस्तो पहल हुँदैछ भन्ने प्रश्नको ठोस जवाफ कसैसँग पनि छैन।

मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झा एनआईसियू सेवा सञ्चालनको तयारी भइरहेको बताउँछन्।

‘अहिले निर्माण कार्य भइरहेको छ। जनशक्ति व्यवस्थापन गरेर एनआईसियू संचालन गर्ने तयारी गरेका छौं,’ झा को जवाफ वर्ष दिनयता फेरिएका तीन जना मेडिकल सुपरिटेन्डेन्टले दिएभन्दा फरक छैन। सस्तो उपचारको आसमा यो अस्पताल आइपुग्ने विरामी र तिनका आफन्तलाई भने यसले धेरै फरक पारेको छ। जसोतसो सक्नेहरूले निजीमा उपचार गराइरहेका छन्, नसक्नेहरूले भने सस्तो सेवा खोज्दाखोज्दै स्वजन गुमाउनु परिरहेको छ।

‘कोशीमा आइपुग्ने बहुसंख्यक बिरामी आर्थिक रूपले विपन्न अवस्थाकै हुन्छन्,’ कोशी अस्पतालका एक चिकित्सकले भने ‘तर, उनीहरूले सेवा नपाउँदा सास्ती सहिरहेका छन्।’

कोशी अस्पतालको स्त्री तथा प्रसुति विभाग सधैं व्यस्त रहने विभाग हो। दैनिक सरदर २० देखि ३० जनासम्मको प्रसूति हुने यहाँ ५ देखि १० शिशुलाई एनआइसियूमा राख्नुपर्ने अवस्था हुन्छ।

‘हामीले उपचारमा कठिन भयो एनआइसियू तत्काल चलाउँ भनेको भन्यै छौं,’ ती चिकित्सकले थपे ‘तर, जनशक्ति र निर्माणको कारण देखाएर पोहोर असारयता सेवा चलाइएको छैन। उपकरणहरू स्टोरमा थन्केका छन्।’

२ करोड भन्दा बढी लागतमा निर्माण भएको लिफ्टसहितको नयाँ भवनमा बच्चा वार्ड सरेको एक वर्ष भइसक्दा पनि एनआइसियू सुचारू हुन नसक्दा सर्वसाधारणले सहरका महँगा अस्पतालमा कुस्त पैसा तिरिरहनु परेको छ।

अस्पतालको आकस्मिक कक्षमा पुग्ने बिरामीले पनि अर्को सकस खेप्दै आएका छन्।

अघिल्लो आइतबार दिउँसो अस्पतालको आकस्मिक कक्ष विरामीले भरिभराउ थियो। जम्मा ४० शैय्याको आकस्मिक कक्षका कुनै बेड खाली थिएनन्। त्यही बेला विराटनगर – ३ का ७० वर्षे हेमराज मगरलाई उनका आफन्तले दौडाएर अस्पताल ल्याइपुर्‍याए। बारीमा घाँस काट्दै गर्दा सर्पले डसेपछि उनलाई उपचारका लागि ल्याइएको थियो। आकस्मिक कक्षका सबै बेड भरिएकाले उनलाई त्यही परिसरको झ्यालमा औषधि झुण्ड्याएर उपचार सुरू गरियो।

उनले भने, ‘२४ घण्टा बडा कठिन तरिकाले काटियो। झ्यालमा औषधि झुण्ड्याइएको छ हलचल नगरि टुक्रुक्क त्यही बसेर उपचार गराइयो।’

received 198591949850795

कोशीका स्वास्थ्यकर्मीका अनुसार आकस्मिक कक्षमा धेरैजसो एउटै बेडमा दुई जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता छ। त्यसबाहेक ह्विलचियर, ट्रलीमासमेत बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था बारम्बार आउने गरेको छ।

कुल ३ सय ५० बेडको कोशी अस्पतालमा मेडिकल वार्डमा ३२ बेड, आइसियूमा १२ बेड, र एचडीयूमा ५ बेड छन्।

‘आकस्मिक कक्ष, आइसियू, मेडिकल वार्ड र एचडियुमा बेड थप गरिदिए र एनआइसियू सन्चालनमा आए सहज हुने चिकित्सकहरू बताउँछन्।

अस्पताल प्रशासनले भने कोशीमा जनशक्ति अभावले नै यस्ता समस्याहरू दोहोरिएको बताउँदै आएको छ।

‘अहिले पनि एक जना स्वास्थ्यकर्मीले ३० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता छ,’ अस्पताल प्रमुख झाले भने ‘जनशक्ति थप गरेपछि बेड पनि बिस्तार गर्ने योजना छ। हामी प्रयास गरिरहेका छौं।’

ओपिडीमा आउनेमध्ये दैनिक दुईसय हाराहारीका बिरामीको कोशीमा अल्ट्रासाउण्ड (भिडिओ एक्सरे) भइरहेको हुन्छ। त्यही रिपोर्टको आधारमा बिरामीको उपचार भइरहेको हुन्छ। तर, चिकित्सकहरू यहाँको रिपोर्ट पत्याउँदैनन्। आफैं कार्यरत अस्पतालको सबभन्दा ठूलो समस्या नै रेडियोलोजी विभागमा रहेको चिकित्सकहरूले बताउने गरेका छन्।

‘पहिलो कुरा यहाँ स्थायी रूपले काम गर्ने अनुभवी चिकित्सककै अभाव छ,’ अस्पतालका एक चिकित्सकले भने, ‘दक्ष जनशक्तिको अभाव भएपछि त्यसको प्रभाव रिपोर्टमा देखिने भयो। अर्को कुरा, भएका जनशक्ति पनि नटिक्ने समस्या ठूलो छ।’

धेरै बिरामीलाई भने आफूहरूले एउटै मात्रै रिपोर्टमा भर नपर्न अर्को कुनै ठाउँमा दोहोर्‍याएर फेरि गर्न भनेर सुझाव दिने गरेको ती चिकित्सक सुनाउँछन्।

‘हामीकहाँ उपचारका लागि आउने धेरै बिरामी न्यून आर्थिक स्तर भएकाहरू हुन्। उनीहरूका लागि बाहिर खर्च गरेर अल्ट्रासाउण्ड गर्ने कुरा असम्भव जस्तै हुन्छ।’

प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालको यो बेहाल अवस्थामा राजनीतिक हस्तक्षेप सबैभन्दा जिम्मेवार रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

‘यहाँ मन्त्री फेरिँदैपिच्छे अस्पताल प्रमुख फेरिन्छन्, विकास समिति उस्तै अस्थिर हुन्छ,’ अस्पतालका एक जना पूर्व मेडिकल सुपरिटेन्डेन्टले भने ‘अस्पताललाई दलका स्थानीय नेताहरुले शक्ति अभ्यासको केन्द्र बनाएका छन्। यहाँ कसैले पनि योजना बनाएर काम गर्न पाउँदैन। अनि कसरी अवस्था सुधार हुन्छ?’

अनिश्चित कार्यकालको त्रास बोकेर नेतृत्वमा आउने व्यक्तिले चाहेर पनि राम्रो र योजनाबद्ध काम गर्न नसक्ने उनको भनाइ छ।

‘मैले पनि गर्न सकिनँ,’ उनले भने ‘सत्ताधारी अझ स्वास्थ्य मन्त्रालय सम्हाल्ने दलले भर्ती केन्द्र बनाउने चलन बन्द नभएसम्म अवस्था यस्तै हो।’

आक्रोशित सुनिने यी पूर्वप्रमुख छोटो समयमै प्रमुख पद खोसिनेमा पर्छन्। यद्यपि कोशीमा यो नौलो कुरा भने होइन। स्वास्थ्य मन्त्रालयमा राजनीतिक नेतृत्व परिवर्तन हुनेबित्तिकै अस्पताल प्रमुख परिवर्तन हुने क्रम यहाँ सधैं चल्दै आएको छ।

कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको नियुक्तिलाई स्वास्थ्य मन्त्रालय सम्हालिरहेको दलले सधैं आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएका छन्। त्यसैले मन्त्री फेरिँदैपिच्छे अस्पताल प्रमुख पनि फेरिने गरेका छन्।

‘केन्द्रमा जुन दलको स्वास्थ्यमन्त्री बन्यो, त्यो दलको स्थानीय संयन्त्रको मुख्य ध्येय नै आफूनिकट मेसु ल्याउने कुरामा केन्द्रित हुन्छ,’ औषधि व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकाल भन्छन्, ‘अहिले मात्रै होइन विगतमा त्यही भयो। भविष्यमा पनि हुने यही हो।’

koshi

लामो समयदेखि कोशी अस्पताल सुधारका पक्षमा लेख्दै र बोल्दै आएका औषधि व्यवसायी ढकालले भने झैं अस्पतालमा यति चाँडो नेतृत्व फेरिन्छ कि पछिल्लो १६ महिनामा तीन जना मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन्।

यसअघि २०७८ फागुन ५ गते स्वास्थ्य मन्त्री विरोध खतिवडा नियुक्त भएपछि हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. यज्ञराज खरेल प्रमुख बनेका थिए। ६ महिना नबित्दै स्वास्थ्य मन्त्रीमा भवानी खापुङ नियुक्त भए। खापुङले डा. लक्ष्मीनारायण यादवलाई निमित्त मेसुको जिम्मेवारी दिए।

यादवको नेतृत्व छ महिना पनि टिकेन। एमाले नेता पदम गिरी जसै स्वास्थ्यमन्त्री भए, उनको पद खोसुवामा पर्‍यो। २०७९ फागुन २ मा डाक्टर रविनराज सिंहलाई निमित्त मेसुको जिम्मेवारी दिइयो।

अहिले मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री बनेसँगै सिंहको पद पनि चार महिनामै खोसिएको छ। नयाँ मेसुमा चन्द्रभाल झा नियुक्त भएका छन्।

‘यसरी दलीय चलखेलको मारमा पर्ने अस्पतालको प्रमुखलाई यहाँ कसले टेर्छ?’, कोशी अस्पताल नजिकैका औषधि व्यवसायी ढकालले भने ‘न कुनै योजना बनाउन पाउँछ, न उसले सहकर्मीहरूकै सहयोग पाउँछ। यो सबै नहुँदा अस्पतालमा अव्यवस्था हुर्किन्छ। दुःख धेरै पैसा खर्च गरेर निजीमा जान नसक्नेहरूले पाउँछन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *