आइतबार ०९ बैशाख २०८१

indian currency1689932501 1

नेपालले १ फागुन २०४९ सालदेखि भारतीय रूपैयाँ एक सयको विनिमय दर एक सय ६० रूपैयाँ राखेको छ।

विगत मंसिरदेखि भने भारतीय सीमानाकामा एक सय भारतीय मुद्रा (भारू) साट्दा एक सय ५० देखि एक सय ५५ रूपैयाँ मात्रै पाइरहेका छन्। पछिल्लो समय एक सय भारूलाई एक सय ५० रूपैयाँ तिर्न समेत व्यवसायीहरू चाहिरहेका छैनन्।

मुद्रा कमजोर भएर सटहीमा समस्या भएपछि भारू लिएर हिँड्न समेत सर्वसाधारण डराउन थालेका छन्।

‘काम विशेषले भारत जानुपर्ने थियो। त्यसैले राष्ट्र बैंकले तोकेभन्दा थप केही भारू साथमा राख्ने सोचेको थिएँ,’ झापा, शिवसताक्षीका प्रितम अर्यालले भने, ‘तर भारू थप घट्ने भएकाले अहिले नै रकम लिएर नबस्न साथीहरूले सुझाए।’

सीमानाकामा भारतीय मुद्रा कमजोर भएको विषयले संसदीय समितिमा पनि चर्चा पाएको छ। बिहीबारको अर्थसमिति बैठकमा केही सांसदहरूले यसमा सहजीकरण गर्न राष्ट्र बैंकलाई सुझाए।

अहिले सीमानाकामा नेपाली मुद्राभन्दा भारू कमजोर हुँदा विभिन्न चर्चा भइरहेका छन्।

कतिपयले नेपालको अर्थतन्त्र बलियो हुँदै गएकाले भारूको सटही दर कम भएको त होइन भन्दैछन्। त्यस्तै नेपालले हालसम्म भारतीय मुद्रामा राखेको स्थिर विनिमय दर चलाउन खोजेको त होइन भन्ने असमञ्जस्यता पनि देखिएको छ।

राष्ट्र बैंकका अधिकारीहरूले भने यी दुवै कुरालाई सोझै इन्कार गरेका छन्।

‘नेपालको व्यापारमा अहिले पनि भारतको हिस्सा ६० प्रतिशत हाराहारी छ। स्थिर विनिमय दर राख्दा नै धेरै फाइदा छ। त्यसबाहेक विनिमय दर चलाउने कुरा त्यतिकै हुँदैन,’ राष्ट्र बैंकका एक अधिकारीले भने।

यसका लागि अध्ययन गरेर नै निर्णय लिनुपर्ने उनी बताउँछन्।

राष्ट्र बैंकका विदेशी विनिमय विभाग प्रमुख तथा कार्यकारी निर्देशक रामु पौडेलका अनुसार अहिले नेपालमा एक सय भारू भन्दामाथिको नोट चल्दैन। एक सयसम्मका भारू नोट सटहीका लागि भने कुनै समस्या छैन। यसरी नोट साट्न आउनेलाई राष्ट्र बैंकले थप ०.७ प्रतिशत कमिसन समेत दिने गरेको छ।

‘हामीले अहिले पनि भारू किन्न डलर खर्चिनुपर्ने अवस्था छ,’ पौडेलले भने, ‘यही कारण भारतीय मुद्रा साट्दा यस्तो कमिसन दिने गरेका छौं।’

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० को ११ महिनामा मात्रै राष्ट्र बैंकले चार अर्ब ३० करोड डलर खर्चिएर तीन खर्ब ५१ अर्ब भारू खरिद गरेको थियो। राष्ट्र बैंकलाई नै भारूको आवश्यकता हुने भए पनि यसरी सहजै सटही नहुनुको मुख्य कारण भारतीय मुद्राको अवैध स्रोत नै हो।

‘यहाँ अनौपचारिक रूपमा आइपुग्ने भारू भारतमा पनि अनौपचारिक रूपमै रहेको हुन्छ। तर अहिले पहिलो पटक यसरी भारतीय मुद्राको भाउ घटेको हो,’ एक व्यवसायीले भने।

मुलुकभित्र अनौपचारिक अर्थतन्त्र उच्च दरमा बढेको र बजारमा आपूर्ति उच्च भएकाले भारूको भाउ घटेको ती व्यवसायी बताउँछन्।

पहिले पहिले अनौपचारिक कारोबारमा नेपाली मुद्रा दिएर भारू किन्नुपर्दा थप एक दुई प्रतिशत दिनुपर्थ्यो। अहिले भारूको आपूर्ति उच्च भएकाले सस्तोमा पाइन थालेको हो। भारू आपूर्ति बढ्नुमा एक नभई विभिन्न कारण रहेको व्यवसायीहरू बताउँछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीबाटै भारतीयले डलर खरिद गर्ने र यहाँ हुन्डीमार्फत कारोबार मिलाउने, नेपालबाट अनौपचारिक रूपमा भारततर्फ सुन तस्करी लगायत हुनु जस्ता कारणले अनौपचारिक अर्थतन्त्र मौलाएको ती व्यवसायी बताउँछन्।


Last Updated on: July 21st, 2023 at 12:17 pm
२ पटक हेरिएको

तपाईको प्रतिक्रिया