pakrau 2

दाङमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

समाचार

दाङ, तुलसीपुरमा मध्यराति ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ। बिहीबार मध्यराति तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दियाे।

प्रहरीका अनुसार बलात्कार गरिरहेकै अवस्थामा दुईजना युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ का २० वर्षीय रेशम विक रहेका छन्।

उनीहरूलाई बसभित्र वृद्धामाथि पालैपालो बलात्कार गरिरहेकै अवस्थामा मध्यराती १२ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले सेतोपाटीलाई जानकारी दिए।

अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक सन्तोष आचार्यको नेतृत्वमा खटिएको तीन जनाको टोली र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको कमान्डमा खटिएको ६ जनाको टोलीले पीडित वृद्धालाई उद्धार गरी दुई युवकलाई पक्राउ गरेको हो।

वृद्धाको उद्धार गरी राति नै स्वास्थ्य परीक्षण गरी तुलसीपुरकै सेफ हाउसमा राखिएको प्रहरीले जानकारी दिएको छ।

डिएसपी मल्लका अनुसार पीडित महिला आँखाको उपचार गर्न तुलसीपुर आएकी थिइन्। बसपार्क छेऊमा उभिएकी उनलाई ती युवकहरूले ‍फकाएर बसभित्र लगेका थिए।

बसभित्र पुर्‍याएर बलात्कार गर्न थालेपछि वृद्धा चिच्याएकी थिइन्। उनी चिच्याएको आवाज सुनेर बाटो हिँड्ने सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए।

‘एक जना महिला बसभित्र रोइ कराइ गरिरहेकी छन्, त्यहाँ तपाईं छिटो पुग्नु पर्‍यो भनेर मलाई एकजना सर्वसाधारणले सूचना दिएका थिए,’ एक प्रहरी अधिकारीले भने ‘ त्यसपछि मैले तुरून्त इप्रका तुलसीपुरमा फोन गरी थप सहयोग मागेर घटनास्थल पुग्दा हामीले बलात्कार गरिरहेकै अवस्थामा दुई युवकलाई पक्राउ गरी महिलाको उद्धार गरेका हौं।’

प्रहरीका अनुसार ती वृद्धासँग खान र बस्न पैसा थिएन। पैसा नभएपछि बसपार्क क्षेत्रमै यताउती डुल्ने र उभिने गरिरहेकी थिइन्। त्यही मौकामा ती युवकहरूले ललाइफकाइ बसभित्र पुर्‍याएर बलात्कार गरेको डिएसपी मल्लले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *