Sapana Rokka Magar 2 1

बेवारिसे लासकी आफन्त

समाज

मैले लगभग सबैजसो त्रिवि शिक्षण अस्पतालबाट नै बेवारिसे लास ल्याएर दाहसंस्कार गर्दै आएकी छु । कुनै पनि ठाउँमा लास भेट्टाइएपछि सम्बन्धित ठाउँको प्रहरीले हेर्छ । उसले अनुसन्धान गर्दै पोस्टमार्टमका लागि अस्पताललाई लास दिन्छ । लासमा भेट्टाइएको तथ्य, प्रमाणको आधारमा स्थानीय निकायसम्म पत्राचार गरेर खोजी कार्य अगाडि बढाइन्छ ।

जब ४५ दिनसम्म त्यसका बारेमा कुनै आफन्तहरू आएनन् वा त्यसबारेमा जानकारी प्राप्त भएन भने त्यो लास बेवारिसे ठानिन्छ । केही गरी आफन्त आउँछन् कि भन्ने आशले केही महिनासम्म अस्पतालमा पनि राखिन्छ ।

Sapana Rokka Magar 1

तर, उक्त लास दुर्गन्धित भएर अन्य लासलाई असर गर्ने वा लास राख्न समेत समस्या भयो भने प्रहरी प्रशासनले हाम्रो संस्थालाई पत्र लेख्छ । पत्रमा लेखिएको शवको नम्बर अनुसार हामी लासलाई शववाहनमा हालेर पशुपति घाटमा पुर्याउँछौं ।

घाटमा जलाउनका लागि एउटा लास बराबर १८०० रुपैयाँ पशुपति क्षेत्र विकास कोषलाई बुझाउनुपर्छ । त्यसबाहेक दाउरा, पराल अन्य समान प्रयोग गरेर अन्त्येष्टि गर्न १२ देखि १५ हजार रुपैयाँ खर्च लाग्छ ।

यस्ता बेवारिसे लास सामान्यतः ८–९ महिनासम्मका हुन्छन् । आफन्तले लिन आउँछन् कि भनेर कुरेर बस्दा कुनै लास दुई वर्षसम्म पनि बेवारिसे अवस्थामा रहेका हुन्छन् । धेरैजसो ५० वर्षभन्दा माथिका मानिस बेवारिसे अवस्थामा फेला पर्छन् ।

मैले दाहसंस्कार गर्ने लास अधिकांश मधेशी वर्णका देखिने खालका हुन्छन् । यस्ता मानिस सडक, पेटी, मठ–मन्दिरमा मृत्यु भइसकेको अवस्थामा भेटिन्छन् । कोही खोला, जंगलमा अस्थिपञ्जर मात्रै भएको अवस्थामा भेटिन्छन् ।

खोला तथा झाडीमा जन्मिंदै आमा–बाले नवजात शिशु मारेर फालेका पनि हुन्छन् । परिवार, समाजलाई मेरो सन्तान हो भन्न डरले जिउँदो बच्चा मारेर फोहोरमैला तथा झाडीमा फालिएको अवस्थामा भेटिन्छन् ।

Sapana Rokka Magar 4

स–साना कलिला लास अन्त्येष्टि गर्दा एकदमै दुःख लाग्छ । कलिलाको तुलनामा ज्येष्ठ नागरिकको लास जलाउँदा कम दुःख हुन्छ । किनकि, मृत्यु सत्य छ । हामी सबैले एक दिन संसार छोड्नै पर्छ । उमेर पुगेका मानिसहरू आज नभए भोलि वा पर्सिका दिनमा मर्नु नै थियो । तर, ती बच्चाहरूले पूरै जीवन देख्न बाँकी थियो । आमा–बुबा को हो भनेर चिन्न नपाउँदै उनीहरूलाई मारेर फालिन्छ ।

हाम्रो समाजमा ११ वर्षभन्दा कम उमेरका बालबालिकालाई जलाउन मिल्दैन, गाड्नुपर्छ भनिन्छ । किनकि, ११ वर्ष पूरा भएपछि बालिका महिनावारी भएर महिला बन्न र बालक पनि पुरुष बन्न योग्य भएको मानिन्छ । ११ वर्षभन्दा कम उमेरका बालबालिका भगवानकै आत्मा भएकाले जलाउन नमिल्ने र गाड्नुपर्ने भन्ने मान्यता छ ।

अर्को कुरा, २०–२५ वर्षको लास जलाउँदा एकदमै धेरै चित्त दुख्छ । त्यस्तो लास जलाउँदा कसको परिवार थियो होला, कहाँ घर थियो होला भनेर सोचिरहेकी हुन्छु म । बुढेसकालमा आमा–बुवाको हात समातेर सहारा दिनुपर्ने अवस्थामा यस्ता मानिसले मेरो हात समातेर चितासम्म जानुपर्छ । त्यस्ता घटनाले मुटु दुख्छ । यस्ता लास जलाउँदा म धेरै रोएकी छु ।

बेवारिसे रूपमा भेटिने लास अधिकांश मागेर खान बसेकाहरूका हुन्छन् । यस्ता मानिस सडकमा झरी, पानीले भिजेर बिरामी भएका हुन्छन् । अचेत अवस्थामा स्थानीय प्रहरीले अस्पतालसम्म पुर्याएका हुन्छन् । र, उपचारको क्रममा उनीहरूको मृत्यु हुन्छ ।

पशुपतिनाथको घाटमा लगिसकेपछि चिता बनाइन्छ । चितामा राखेर बागमतीको पानीले मुख, हात–खुट्टा धोइदिने, खुवाइदिने गरिन्छ । त्यसपछि दागबत्ती दिएर लास जलाइन्छ ।

बेवारिसे मानिसको जात, धर्मको पहिचान नहुने भएकाले अधिकांशलाई हिन्दु परम्परा अनुसार नै जलाइदिने गरिन्छ । तर, जात वा धर्म खुलेको अवस्थामा उनीहरूकै संस्कार अनुसार अन्त्येष्टि गरिदिन्छौं । तर, यस्तो घटना न्यून संख्यामा हुन्छन् ।

‘आफैं बेवारिसे भएकाले यो कर्ममा प्रेरित भएकी हुँ’

हिजोका दिन म आफैं पनि सडकमा मागेर जीवन बचाएकी मान्छे हुँ । त्यो अवस्थाबाट उठेर आज यो अवस्थामा आइपुगेकी छु । हिजोका दिनमा सडकमा मरेको भए म पनि बेवारिसे अवस्थामा हुन्थें होला । आफैं पनि बेवारिसे जस्तै अवस्थामा पुगेकी हुनाले यो कर्म गर्नुपर्छ भनेर लागेकी हुँ ।

संसारदेखि हार मानेर आत्महत्याको सोच आएका मानिसका लागि प्रेरणादायी कक्षा राखेका हुन्छौं । त्यसैगरी, मृत्यु भइसकेको बेवारिसे लासको पनि सम्मान सहित अन्तिम सद्गत पाउने अधिकार हुन्छ भन्ने हिसाबले यो कर्ममा लागेकी हुँ । चार वर्षको अवधिमा एक हजारभन्दा बढी बेवारिसे लास व्यवस्थापन गरेकी छु ।

पशुपतिघाटमा दर्ता गर्ने ठाउँमा ‘बेवारिसे सपना’ भनेर मेरो नाम, नम्बर लेखेर टाँसिदिएका छन् । बेवारिसे लासको सद्गत गर्न पैसा नभएकाहरूले मलाई फोन गर्नुहुन्छ । उहाँहरूले दागबत्ती आफैं दिनुहुन्छ र त्यहाँ लाग्ने सम्पूर्ण खर्च हामी उपलब्ध गराउँछौं ।

हिजो–आज त मध्यरातमा अमेरिका, अष्ट्रेलिया लगायत देशबाट फोन आउँछ । कुनै कुनैले त फलानो ठाउँमा मेरा आमा–बुबाको मृत्यु भएको छ । मलाई नेपाल आउन–जान लाखौं लाग्छ । बरु म पैसा पठाइदिन्छु मेरो बुबा–आमाको लासलाई दाहसंस्कार गरिदेऊ भन्छन् । अहिलेसम्म मैले ५० वटाभन्दा बढी यस्ता बुवा–आमालाई आफ्नै हातले दागबत्ती दिएकी छु ।

त्यस्तालाई पैसा पठाउन पर्दैन । तपाईं छोरा हुँदाहुँदै पनि म छोरी बनेर अन्तिम संस्कार पूरा गर्न पाउँदा खुसी छु भन्ने जवाफ दिन्छु । कतिपय मानिस आफ्ना आमा–बुवाको अन्तिम बेलामा अनुहार देख्न पाइएन भने आफ्नो भाग्यलाई दोष दिन्छन् ।

तर कतिपय विदेश बस्ने मानिसका बाध्यता पनि हुँदा रहेछन् । उनीहरू धेरै पैसा लाग्ने वा त्यहाँको जागिर नै जाने भन्दै आफ्ना बुवा–आमाको अन्तिम संस्कार गर्न समेत आउँदैनन् ।

मानिसको मृत्यु भएकाले दागबत्ती दिंदै गर्दा एकदम दुःख लाग्छ । दुःख भन्दा पनि अर्को खुसीको कुरा वर्षौंदेखि कुहिएर बसेका लासलाई अन्त्येष्टि गर्दा धार्मिक परम्परा अनुसार उनीहरूको आत्माले मुक्ति पाउँछ । स्वर्ग वा नर्क जाने उनीहरूले गरेको कर्मको आधारमा भर पर्ला । तर, त्यहाँ जानका लागि मुख्य ढोका मैले खोलिदिएको हुन्छु नि !

चिता जलिरहेका बेला अरू मानिसले त्यहाँ शरीर जलिरहेको मात्रै देख्छन् । तर, मैले एकदमै खुम्चिएको लासलाई परम्परा अनुसार दागबत्ती दिएर जलाउँदै गर्दा विस्तारै खुल्दै मानिसको संरचनामा आएको देख्छु । यसरी बेवारिसे लासलाई आफ्नै हातले दागबत्ती दिंदा मलाई मनमा शान्ति मिल्छ ।

(समाजसेवी रोका ‘सपनाको चाहना समृद्ध नेपाल’ संस्थाकी संस्थापक हुन् । उनीसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *