aarati 31687428662

दाइजोका कारण २२ वर्षीया छोरीको मृत्युपछि, दिनरात सडकमा बसेर न्याय माग्दै….

समाचार

निर्मलादेवी साहले काठमाडौं, माइतीघर मण्डलको चिसो भुइँमा रात बिताउन थालेको बिहीबार एक साता भयो। साँझ पर्दै जाँदा भीडभाड कम हुँदै जान्छ। माइतीघर सुनसान हुन्छ। दिउँसो पोल्ने भुइँ साँझ चिसो हुन्छ।

निर्मलादेवीको ‍मनको छट्पटाहट भने एकैनासको छ। उनी मध्यरातमा माइतीघरको चिसो सडकमा बसेर रून्छिन्, कराउँछिन्, चिच्याउँछिन्। उनको आवाज उनका परिवारबाहेक अरू कसैले सुनेका छैनन्। उनी रातभर निदाउन नसकेर वरिपरि डुल्छिन्। उनको यो अनिँदोपन एक महिनाअघिदेखि चलिरहेको छ।

जेठको ७ गते, धनुषामा आरती साह श्रीमानको घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। २२ वर्षकी आरती निर्मलादेवीकी छोरी हुन्। त्यही दिनदेखि निर्मलादेवीले आफ्नो मनको छट्पटाहट कम गराउन सकेकी छैनन्।

आरतीले आत्महत्या गरेको भनिए पनि निर्मलादेवी र परिवारलाई यसमा पूरा भर लागेन। प्रहरीको अनुसन्धानमा उनीहरूलाई शंका छ। त्यसैले सत्यतथ्य छानबिनको माग राख्दै असार १ गतेदेखि उनीहरू धर्नामा छन्।

धर्नामा आरतीकी आमा निर्मलादेवीसँगै बुवा विनोदप्रसाद, दाइ प्रेम, बहिनी मनिषा, मामा सन्तोष, ठूलीआमा रञ्जनादेवी र सानीआमा मिनादेवी छन्।

धनुषाबाट न्याय माग्न केन्द्रीय राजधानी आइपुगेका उनीहरू चौबीसै घन्टा माइतीघरमा बस्छन्। तातो, चिसो, हावा, पानी जे आओस्, छेकिने ठाउँ वरिपरिका ब्यानर हुन्। तिनै ब्यानर जसमा उनीहरूका माग लेखिएका छन्, आरोप छन्, गुनासा छन्।

‘आरती साहलाई न्याय देऊ’ लेखिएको त्यही ब्यानरको फोटो हेर्दै निर्मलादेवीले भनिन्, ‘यस्ती राम्री छोरीको हत्या भयो।’ छोरी भन्नासाथ उनी भक्कानिन्छिन्। आँशु तररर बगिहाल्छ। विछिप्त निर्मलादेवीलाई देखेर उनका श्रीमान विनोदले भने, ‘यो रोएरै मर्ने भई।’

यही अवस्थामा एक साता बिते पनि सम्बन्धित निकायले चासो नदेखाएको दुखेसो पोख्छन् उनी। ‘यहाँ बसे सरकारले न्याय दिन्छ भन्ने आश लिएर आएका थियौं। तर सात दिन भयो कोही आएको छैन,’ उनले भने।

उनीहरू धनुषा जिल्ला नगराईन नगरपालिका-८ का हुन्। परिवार ठिकठाक थियो। दुई वर्षअघि जेठी छोरी आरतीको बिहे गरिदिए। राम्रो घरपरिवारमा बिहे भएको भन्दै विनोद र निर्मलादेवीको मन ढुक्क थियो। तर यो सन्तोक लामो समय टिकेन। एक महिनाअघि साँझको एक फोनले परिवारको कथा फेरिएको विनोद बताउँछन्।

जेठ ७ गते साँझ अन्दाजी साढे ६ बजे उनको मोबाइल बज्यो। फोन गर्ने आरतीका ससुरा मदनमोहन साह थिए। फोन उठाउनसाथ मदनमोहनले भने, ‘आरतीको स्वास्थ्य अवस्था खराब भएर जनकपुरको काव्या अस्पताल लगेको छ, तत्काल आउनुपर्‍यो।’

खबर सुनेर विनोद आत्तिए। हत्तपत्त कान्छी छोरी मनिषालाई फोन गरेर सुनाए। १९ वर्षीया मनिषा अध्ययनका लागि जनकपुरमै आफन्तकहाँ बसिरहेकी थिइन्। दिदी बिरामी भएको सुनेपछि पन्ध्र/बीस मिनेटमै अस्पताल पुगिन्।

‘अस्पताल पुग्नसाथ दिदीलाई धेरैपल्ट बोलाएँ तर दिदी बोलिनन्,’ मनिषाले भनिन्, ‘डाक्टरले अस्पताल ल्याउनुअगाडि नै मृत्यु भइसकेको भने। हामीलाई बोलाउन दिदी बिरामी भएको भनिएको रहेछ। यो कुरा अस्पताल पुगेर मात्र थाहा भयो।’

उनी अस्पताल पुगेको केही समय पछि विनोद, निर्मलादेवी र आरतीका दाजु प्रेम अस्पताल पुगेका थिए। मनिषा आत्तिएको देखेर उनीहरूले आरती यो संसारमा नरहेको कुरा बुझिहाले। त्यसपछि मनिषाले आफ्ना आमाबुवालाई सम्हाल्न सकिनन्।

‘म आफैं सम्हालिन सकेको थिइनँ, बाआमालाई कसरी सम्हाल्न सक्थेँ?’ उनले त्यो दिन सम्झिँदै भनिन्।

परिवारले बताएअनुसार आरतीको २०७८ असार ३० गते मिथिला बिहारी नगरपालिका-३ मिथिलेश्वर मौवाहीका मोतीबाबु साहसँग बिहे भएको थियो। इञ्जिनियर केटो, शिक्षित र आर्थिक पाटो राम्रो भएकाले बिहे गरिदिएका थिए। राम्रो परिवारमा छोरी पठाउने भएपछि विवाहमा कुनै कमी नराखिएको मनिषाले बताइन्।

‘विवाहमा २५ लाख रूपैयाँ खर्च भयो। पैसा जुटाउन बुबालाई सजिलो थिएन,’ मनिषाले भनिन्, ‘आफन्त र बैंकसँग ऋण लिनुपरेको थियो। तिर्न अझै बाँकी छ।’

उनको परिवारको कुनै व्यवसाय छैन। कृषि ज्याला-मजदुरी गरेर गुजारा गर्छन्। शिक्षित परिवारमा बिहे गरिदिए छोरीको पढाइ पनि पूरा हुने परिवारको आश थियो।

त्यति बेला आरती जनकपुर मोडल कलेजमा बिबिएस दोस्रो वर्षमा पढ्थिन्। पढ्न पाइन्छ भनेपछि आरती बिहे गर्न मानेकी थिइन्। उनलाई पढ्न भने दिइएन। उनले यसबारे घरमा गुनासो पनि गरिनन्।

बिहेपछि आरती परिवारसँगै जनकपुरधाम-८ थापाचोकमा बस्दै आएकी थिइन्। पाँच/सात महिना राम्रै चल्यो। बिस्तारै दाइजो कम भएको भन्दै श्रीमान र सासू-ससुराले बेलाबेला शारीरिक र मानसिक यातना दिने गरेको आरतीले माइती आउँदा सुनाउँथिन्। तर आमाबाले यस्ता कुरा भइरहने भन्दै सम्झाएर घर पठाइदिन्थे।

‘घटना हुनुभन्दा केही दिनअघि मात्र सासू र श्रीमानले मोटरसाइकल र दराज मागेका छन् भनेकी थिइन्,’ मनिषाले सुनाइन्, ‘मोटरसाइकल महँगो पर्ने भएकाले आमाले दराज दिने भन्नुभएको थियो।’

त्यसपछि घरमा केही कुराकानी भएन। दिदीबहिनीको भने कुरा भइरहन्थ्यो। दिदीले धेरैपटक शारीरिक यातना सहनुपरेको मनिषालाई सुनाउँथिन्।

दिनहुँ कुटपिट हुन थालेपछि दुई महिनाअघि आरती माइत आएर बसेकी थिइन्। झन्डै एक महिना माइतमै बसिन्। श्रीमान लिन आएपछि गइन्।

पछिल्लो समय फेरि दाइजो थोरै भएको निहुँमा दिनहुँ कुटपट हुन थालेको मनिषालाई सुनाएकी थिइन्। त्यही कारण हत्या भएको हुन सक्ने माइती पक्षको शंका छ। तर रिपोर्टमा के कारणले मृत्यु भएको प्रस्ट नखुलेको मनिषा बताउँछिन्।

प्रहरीले तथ्य लुकाउन खोजेको उनीहरूको आरोप छ। अस्पतालमा आफूले आरतीलाई अन्तिमपटक देख्दा शरीरको विभिन्न भागमा चोटपटक भएको मनिषा बताउँछिन्। तर पोस्टमर्टम रिपोर्टमा घाँटी र गालाको घाउ मात्र समेटिएको उनले बताइन्।

‘पोस्टमर्टममा शरीरको अन्य भागको चोटबारे केही उल्लेख छैन,’ मनिषाले रिपोर्ट देखाउँदै भनिन्, ‘रिपोर्टमा ह्यांगिङ इज पोसिबल इन नेचर लेखिएको छ।’ त्यसैले माइतीपक्ष आरती आफैं झुन्डिएको मान्न तयार छैनन्। अस्पतालको रिपोर्टमा समेत शंका लागेको मनिषाले बताइन्।

उनका अनुसार जेठ ७ गते साँझ साढे पाँच बजे पासो लगाएको अवस्थामा भेटिएको भनिएको थियो। तर जेठ ८ गते अपराह्न १ बजे आएको पोस्टमर्टम रिपोर्टमा मृत्यु २४ देखि ३६ घन्टाअघि भएको उल्लेख छ।

‘यी धेरै कुराले आरती आफैं झुन्डिएको नभएर हत्या भएको शंका गरेका हौं,’ मनिषाले भनिन्।

मनिषाको परिवार जेठ ८ गते जिल्ला प्रहरी कार्यालय धनुषा पुगेको थियो। आरतीका श्रीमान मोतीबाबु, सासू रेणुदेवी, ससुरा मदनमोहन र देवर रविलाई उनीहरूले हत्या आरोप लगाए। तर प्रहरीले उजुरी नै लिन नमानेको मनिषाले बताइन्।

पछि प्रहरीले हत्या नभई आत्महत्या दुरूत्साहनको आरोपमा उजुरी दिए मात्र दर्ता गर्ने भन्यो। प्रहरीले भनेझैं मोतीबाबु र मदनमोहनविरूद्ध आत्महत्या दुरूत्साहनको उजुरी दर्ता गराएको उनी बताउँछिन्। जेठ ८ गते राति उजुरी दर्ता भएपछि उनीहरूले आरतीको शवको अन्त्येष्टि गरे।

उजुरी दर्ता भएसँगै जिल्ला अदालत धनुषाले जेठ ३२ गते पेसी तोकेको थियो। अदालतले माइतीपक्षलाई पनि उपस्थित हुनुपर्ने भन्यो। अदालतमा निर्मलादेवी, विनोदप्रसाद, प्रेम र मनिषाको बयान लिइयो। त्यो दिन उनका मामा सन्तोष पनि गएका थिए।

बयान लिइसकेपछि हस्ताक्षर गर्ने क्रममा भनेको भन्दा फरक कुरा लेखिएको थाहा भएपछि झडप भएको मनिषा बताउँछिन्।

‘प्रहरी आफैंले बयान तयार पारेर ल्याएको रहेछ। त्यसमा हस्ताक्षर गर्न नमानेपछि हातपात भयो,’ उनले भनिन्, ‘उक्त घटना मोबाइलमा रेकर्ड गर्न थालेको थिएँ। प्रहरीले मोबाइल खोस्‍दै मलाई घिसारेर बाहिर ल्याइदियो।’ त्यसपछि अदालतमा झडपले ठूलो रूप लियो।

‘पुरूष प्रहरीले घाँटीमा समातेर उचाल्नुभयो। त्यति मात्र होइन मेरो पेटमा लात्ता हाने,’ उनले भनिन्, ‘त्यसकारण अहिले पनि रक्तश्राव भइरहेको छ।’ त्यति बेला आफूसँगै विनोद, प्रेम र सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको मनिषा बताउँछिन्। निर्मलादेवीले छुटाउन कोसिस गरिन् तर बिनाशर्त सकिनन्।

‘प्रहरीले खुट्टा ढोगेर माफी मागेपछि मात्र छोडिदिने भन्यो। आमा प्रहरीको खुट्टा ढोग्न तयार हुनुभयो,’ मनिषाले भनिन्, ‘प्रहरी कार्यालयका प्रमुखको खुट्टा ढोगेपछि प्रहरीले अबदेखि उक्त मुद्दामा केही अवरोध नगर्न भन्दै हस्ताक्षर गर्न लगाएर छोडिदियो।’

प्रहरीले छोड्दा रातको दस बजेको थियो। प्रहरी कार्यालयबाट निस्किएर उनीहरू सिधै जनकपुरको प्रादेशिक अस्पताल गए र उपचार गराए। जेठ ३२ गते रातभर अस्पताल बसे। असार १ गते बिहानै अस्पतालबाट निस्किएर सिधै माइतीघर आए।

‘हामीले एक जोर लुगासमेत ल्याएका छनौं,’ उनले भनिन्। पैसाको लेनदेनबाट मुद्दा मिलापत्र गराई प्रहरीले घटना सामसुम पार्ने प्रयास गरेको पीडित पक्षको आरोप छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकास गौतमले भने पीडित पक्षमाथि कुनै कुटपिट नभएको बताउँछन्।

‘उनीहरूले आरोप मात्र लगाएका हुन्। पीडितको पक्षमा काम गर्ने प्रहरीले त्यस्तो गर्‍यो होला त?,’ डिएसपी गौतमले सेतोपाटीसँग भने, ‘प्रहरीले पीडितलाई सहयोग गरिरहेको छ। यस्तो आरोप किन लगाइयो भन्ने कुरा थाहा छैन।’

गौतमका अनुसार मंगलबार जिल्ला अदालतले गरेको थुनछेक बहसपछि आरतीका श्रीमान मोतीबाबु र ससुरा मदनमोहनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। पीडित पक्षले भनेजस्तो छानबिनमा पीडक पक्षसँग कुनै लेनदेन, कारोबार नभएको उनले बताए।

आरतीको परिवारले भने यसमा सरकारले प्रस्ट छानबिन गर्नुपर्ने, पीडक चारै जना (आरतीको ससुराली परिवार) र आफूहरूमाथि कुटपिट गर्ने प्रहरीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *