petma kapas

शल्यक्रिया गर्दा महिलाको पेटमै छाडियो कपास, अस्पताल भन्छ– ‘हामीलाई थाहै छैन’

समाचार

काठमाडौँ । शल्यक्रिया गर्दा बिरामीको पेटभित्रै कपास छुट्यो । चिकित्सकले गर्भवती महिलाको पेटबाट बच्चा झिक्नु पर्ने थियो । उनीहरुले शल्यक्रिया गरेर बच्चा त झिके तर बदलामा कपास राखेर बाहिरबाट सिलाई पनि दिए । यो घटना मधेस प्रादेशिक अस्पताल सिराहामा भएको हो । महिलाको पेटभित्र कपास छुटेपछि आन्द्रा नै कुहियो । दोस्रो पटक शल्यक्रिया गरेर बिरामीको ३१ इन्च आन्द्रा काटियो । चिकित्सकको लापरबाहीका कारण अब पीडित महिलाको जीवन कष्टकर बन्ने निश्चित छ । तर अस्पताल भन्छ – कसले यस्तो गरेछ ? हामीलाई त थाहै छैन ।

सिरहाबाट टिभी जर्नलिष्ट दिलिप सहनीले पठाएको यो विशेष रिपोर्ट हेर्नुहोस्-

महोत्तरीको गौशाला नगरपालिका– १० बटौवाका अजयकुमार महतो आफ्नो श्रीमतीको उपचारमा गम्भीर लापरबाही गर्ने चिकित्सकलाइ कारवाहीको माग गरिरहेका छन् ।

तर, प्रहरीले जाहेरी दर्ता नगरिदिँदा अजयमाथि थप तनाव थपिएको छ । अजयले श्रीमती रिंकुकुमारी सिंहको शल्यक्रिया गर्ने प्रादेशिक अस्पताल सिराहाका चिकित्सक डाक्टर तेजशंकर यादवमाथि कारबाहीको माग गर्दै २५ जेठमा जिल्ला प्रहरी कार्यालय सिराहामा किटानी जाहेरी दिएका छन् ।

रिंकुको शल्यक्रिया गर्ने क्रममा डा.यादवले रगतले लत्पतिएको कपास पेट भित्रै राखेर शल्यक्रिया गरेका थिए । कपास पेटभित्रै कुहिएर उनको आन्द्रामा असर गरेको जसकारण फेरि शलयक्रिया गरी ३१ सेन्टिमिटर आन्द्रा काटेर फालिएको छ । जसकारण अहिले रिंकु हिँड्डुल गर्ने अवस्थामा छैनन् । शल्यक्रियाका क्रममा चिकित्सकले गरेको लापरबाहीले आफ्नी श्रीमतीलाई जीवनभर मानसिक तनाव हुन सक्ने भन्दै उनले लापरबाही गर्नेलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनु पर्ने माग राखेका छन् ।

पीडित पक्षले कानुन अनुसार कारवाहीको माग गर्दै प्रशासन गुहारेको एक साता नाघ्दा पनि प्रहरीले जाहेरी दर्ता गरेको छैन । यता प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादव भने अस्पतालको डाक्टरको कमजोरी अस्विकार गरेका छन् ।

शल्यक्रिया गर्ने डा. तेजशंकर प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवका भतिजा हुन् । उनी अहिले भतिजा जोगाउन अर्कै डाक्टरलाई फसाउन लागिपरेको चर्चा पनि भइरहेको छ । प्रहरीले प्रादेशिक अस्पताल सिराहालाई पत्र पठाउँदै बिरामीको शल्यक्रिया गर्ने चिकित्सकको नाम मागेको थियो । प्रादेशिक अस्पताल सिराहाले २८ जेठमा जिल्ला प्रहरी कार्यालय (अपराध अनुसन्धान शाखा) लाई चलानी नम्बर ३३६ मार्फत पठाएको पत्रमा डाक्टर राकेश सिंहले शल्यक्रिया गरेको उल्लेख छ ।

तर शल्यक्रिया चिकित्सक चाहिँ डाक्टर तेजसंकर यादव रहेको अस्पतालको कागजातबाट पुष्टि हुन्छ । ‘गाइनो/ओब्स’ रजिस्ट्ररको ७८ नम्बरमा रिंकुको नाम र शल्यक्रिया गर्ने चिकित्सक, सहयोग गर्ने अर्का चिकित्सक र सहभागी स्वास्थ्यकर्मीको नाम उल्लेख छ । जसअनुसार रिंकुको शल्यक्रिया टि एस वाई अर्थात तेजशंकर यादवले गरेको जनाइएको छ ।

प्रादेशिक अस्पताल सिराहाका सूचना अधिकारी अशोककुमार सिंहले रिंकुको शल्यक्रिया प्रादेशिक अस्पतालमै भए पनि कुन चिकित्सकले गरेको हो भन्ने आफूलाई जानकारी नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *