आइतबार ०९ बैशाख २०८१

blan

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ले लिएका पछिल्लो केही कदमले उनको चर्चा बढेको छ । आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नेदेखि काठमाडौंमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउनेसम्मका उनका निर्णयलाई हरेक नेपालीले साथ दिएका छन् ।

दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश एक संवाद हटाउन उनले अल्टिमेटम नै दिएका थिए । आफूले दिएको समय सीमा भित्र फिल्मको संवाद नहटेपछि बालेनले काठमाडौंमा सम्पूर्ण भारतीय फिल्मको प्रदर्शन नै रोकेका छन् । अहिले उनले एक कविता लेख्दै आफू नेपाल देशको नागरिक भएको जिम्मेवारी पूरा गरेको बताएका छन् । उनले लेखेको कविता यस्तो छ

जब देशमा सबै मरेका हुन्छन् ,
तब एक जनाले सास फेरेर देखाउनु पर्छ,
की, म बाचेको छु ।
मेरो देशलाई कसैको गुलाम नभई , देश मानेको छु ।
म सबै भन्दा ज्ञानी त हैन, तर नागरिक हुन जानेको छु ।
मैले म ठुलो , मेरो देश सबै भन्दा ठुलो भनिन ,
तर मेरो देशलाई, देश त ठानेको छु ।

सिनेमा थाल्ने बेला दृश्यमा लेखिन्छ– यो कथा कसैको जीवनसँग मेल खान गएमा संयोग मानिन्छ । ठिकठिकै स्तरको मानिएको ‘आदिपुरुष’ माथि नेपालमा यति बेला चर्को बहस भइरहेको छ । त्यस सिनेमामा ‘सीता’बारे प्रयुक्त संवादलाई नेपाली दर्शक र सार्वजनिक वृत्तले संयोग मात्रै मान्न सकिरहेको छैन ।

भारतीय संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा काठमाडौंले व्यक्त गरेको असन्तुष्टिको बाछिटा फिल्म ‘आदिपुरुष’ प्रकरणसम्म सर्न पुगेको हो । काठमाडौं मेयर बालेन शाहले कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेपछि माहोल झनै गर्माएको थियो । भारतीय मिडियाले समेत यो विवादलाई भारत भर्सेस बालेन विवादझैं गरी देखाइरहेका छन् । भारतका सोसल मिडिया प्रयोगकर्तामा बालेन नाम ट्रेन्डिङ भइरहेको छ । भेटघाट र कुराकानीमा भारतीयहरु बालेनका बारेमा सोधखोज गरिरहेका छन् ।

रामायणबाट प्रभावित भनिएको उक्त फिल्मका लेखक तथा गीतकार मनोज मुन्तशिरले आजतकसँगको अन्तर्वार्तामा सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको र जानकी भारतकै भएको विवादित बयान दिएपछि त परिस्थिति झन् गिजोलिएको छ । मुन्तशिरको बयान र जानकी भारतीय छोरी भएको संवादको पृष्ठभूमिमा बालेनले सोमबारदेखि महानगर क्षेत्रभित्र भारतीय फिल्मलाई निषेध गर्ने घोषणा गरेका छन् ।


Last Updated on: June 19th, 2023 at 11:12 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया