आइतबार ०९ बैशाख २०८१

chhau goth 21686744865

बालु थापा १६ वर्षकी भइन्। उनको महिनावारी सुरू भएको तीन वर्ष भयो। हरेक महिनावारी नजिकिँदै गर्दा उनलाई चिन्ताले सताउँछ।उनको घरनजिकै छ सानो गोठ। चार खम्बा जमिनबाट थोरै अग्लो टाँण बनाएर माटो छापिएको छ। खरको छानो र बेरा छ। कुचुक्क परेको कोठामा झ्याल-ढोका छैन।

हरेक महिनावारीमा बालु (परिवर्तित नाम) यही साँघुरो ठाउँमा खुम्चिनुपर्छ।‘६ दिनसम्म छाउगोठमा एक्लै बस्नुपर्दा महिनावारीको शारीरिक पीडाभन्दा बढी मानसिक तनावले सताउँछ,’ उनले भनिन्।

सुदूरपश्चिममा महिनावारी भएकी महिलालाई ‘छाउ’ भनिन्छ। यो बेला सुत्न बनाइएको छाप्रो ‘छाउगोठ’ हो।बालुको घर धनगढी उपमहानगरपालिका–१२ मा छ। धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी सहर हो। बालुले सानैदेखि यस्तो छाप्रो देखेकी हुन्।

महिनावारी हुँदा उनकी आमा त्यही गोठमा बस्थिन्। अलिक पछि भाउजुहरू आए, उनीहरू पनि बसे। नयाँ पुस्ताकी बालुले पनि महिनाका आफ्ना कठिन दिन यहीँ बिताउनुपर्छ।

‘त्यो छाउ भएका बेला बस्ने गोठ हो भनेर अलि ठूली हुँदै गएपछि थाहा पाएँ। अहिले आफैं बस्नुपरेको छ,’ उनले भनिन्।सानी छँदा त बालु आमासँगै छाउगोठमा सुत्न जान्थिन्। उनलाई आमा घर छाडेर किन यस्तो सानो गोठमा सुत्न जान्छिन्, घरमै सुते हुन्थ्यो जस्तो लाग्थ्यो।

उमेर बढ्दै जाँदा उनले आमा, भाउजू र साथीहरूबाट महिनावारी हुने र त्यही बेला छाउगोठमा सुत्न जाने गरेको थाहा पाइन्। म पनि त्यसै गरी छाउगोठमा सुत्नुपर्छ भन्ने पनि बुझिन्। यस्तो कुराले उनलाई मनमा डर पनि उत्पन्न हुन्थ्यो।

तीन वर्षअघि १३ वर्षको उमेरमा उनी पहिलोपटक महिनावारी भइन्। हिउँदको दिन थियो, स्कुल बिदा। उनले आफूलाई महिनावारी भएको कुरा गाउँकै मिल्ने साथीलाई सुनाइन्। दिउँसो बाख्राका लागि डाले घाँस काट्न गएका थिए। महिनावारी हुँदा रूख चढ्नु हुँदैन भनेर साथीले घाँस झारिन्। बालुले तलै बसेर बटुलिन्।

फर्केपछि आमालाई आफू महिनावारी भएको सुनाइन्। आमाले उनलाई घर नपस्न भनिन्। बेलुका बाहिरै खाना ल्याइदिइन्। बालुले आँगनको एक कुनामा बसेर खाइन्। आफूले खाएको थाल सफा गरेर अलग्गै राखिन्।

आमाले ओढ्ने र ओछ्याउने लुगा दिइन्। एउटा पुरानो कपडाको टालो दिँदै प्याडका रूपमा प्रयोग गर्न भनिन्।

‘माघको चिसोमा पहिलोपटक एक्लै अँध्यारो गोठमा पुगेँ,’ त्यो दिन स्मरण गर्दै उनले भनिन्, ‘निहुरिएर गोठमा पस्नुपर्ने, आगो बाल्न नमिल्ने, झ्यालढोका छैन। बत्ती पनि छैन।’

त्यो दिन उनलाई साह्रै नरमाइलो लाग्यो। घरभित्र बस्न नपाउने किन हो भन्ने प्रश्नले मन भरियो। उनले आमालाई सोधिन् – किन यसरी घरबाहिर एक्लै बस्नुपर्ने? घरमै सुत्दा के हुन्छ?

उनकी आमालाई लाग्थ्यो – महिनावारी भएका बेला घरभित्र पस्दा र अरूलाई छुँदा घरमा मान्छे बिरामी हुन्छन्! महिनावारी भएकी महिलालाई छोइयो भने नुहाइधुवाइ गरेर भगवानसँग माफी माग्नुपर्छ!

आमाले यति भनेपछि बालु छाउगोठमा एक्लै सुत्न बाध्य भइन्। अहिले पनि हरेक महिनावारीमा उनको बास यहीँ हुन्छ।

‘नल्का (धारा) छुन पाइँदैन। भाउजूले बाल्टिनमा पानी दिनुहुन्छ। त्यही पानी अलिक पर लगेर नुहाउनुपर्छ,’ बालुले भनिन्, ‘शौचालय पनि जान पाइँदैन। खोलातिर जानुपर्छ। खुला ठाउँमा नुहाउन, शौच गर्न अप्ठ्यारो हुन्छ। त्यसैले अध्याँरोमा नुहाउन ठीक लाग्छ। त्यही पनि सम्भव हुँदैन। अर्काको भरमा पानी जुटाउनुपर्छ।’

कहिलेकाहीँ बालु घरमै सुत्छु, छाउगोठ जान्नँ भनेर जिद्दी गर्छिन् तर उनकी आमा मान्दिनन्।

बालुका अनुसार उनको टोलका प्रत्येक घरमा छाउगोठ छन्। साना छोरीहरू आमासँगै छाउगोठमा सुत्छन्। हिउँदमा धेरै चिसो हुन्छ। वर्षामा गोठ चुहिन्छ, मच्छर लाग्छ, सर्पको डर हुन्छ। झ्यालढोका केही नभएपछि खतरा पनि हुन्छ। उनीहरूलाई घरमै सुत्न पाए हुन्थ्यो भन्ने लाग्छ।

महिनावारी भएका बेला उनीहरूले पोषिलो पनि खान पाउँदैनन्। गाउँमा पाइने पोषिलो खानकी दूधदही हो। तर यो पनि खान हुँदैन भनेर दिइँदैन।

‘महिनावारी भएको समयमा राम्रो खाना चाहिन्छ। तर त्यही बेला दूधदही खान हुँदैन भनेर दिँदैनन्। छाउगोठमा बस्न दुःख हुन्छ,’ बालुले भनिन्, ‘तर घरमा बस्यो, छोयो भने घरका अरू मान्छे बिरामी हुन्छन् भन्नुहुन्छ आमाले। घरका कसैलाई समस्या नहोस् भनेर छाउगोठमै बस्ने गरेकी छु।’

भविष्यमा आफ्नी छोरीलाई भने छाउगोठमा नसुताउने बालुको अठोट छ।

बालु एक उदाहरण हुन्। उनीजस्ता धेरै किशोरी र महिला उनकै जस्तो पीडा भोगिरहेका छन्। कुचलन हो, भ्रामक प्रथा हो भन्ने जान्दाजान्दै पनि उनीहरू यसका पछि लाग्न बाध्य छन्।

वडा नम्बर १२ कै बासिन्दा पार्वती जोशीका अनुसार केही वर्षअघि धनगढीमै छाउगोठमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको थियो। आफू जनगणनाका सिलसिलामा घरघर पुग्दा धेरै महिला छाउगोठमा बसेको देखेको उनले बताइन्।

धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला कुमारी रानाले सर्पले टोक्ने, छाउगोठमा महिलामाथि आक्रमण हुने जस्ता घटनाका कारण छाउगोठ भत्काउने अभियान चलाउनुपरेको बताइन्।

केही छाउगोठ भत्काइए पनि सबै भत्काइएनन्। कतिपय घरमा नयाँ बने। छाउगोठ भत्काए पनि महिनावारी भएका महिला घरभित्र सुत्न पाएनन्।

उपमहानगरभित्र कति छाउगोठ छन् भन्ने तथ्यांक छैन। तथ्यांक संकलन गर्ने काम पनि भएको छैन। उपप्रमुख रानाका अनुसार वडा नम्बर १३, १४ र १७ मा छाउगोठ धेरै छन्। फाटफुट रूपमा अन्य वडामा पनि छन्।

हाल छाउगोठ भत्काउने र समुदायका मानिसहरूमा चेतना जागृत गर्ने काम भइरहेको उनले बताइन्।

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरीमा पनि महिलाहरू छाउगोठमा सुत्नुपर्ने बाध्यता छ। गोदावरी नगरपालिका–१० भागेश्वर टोलकी पुष्पा कुँवरले आफ्नो ठाउँमा छाउगोठमा बस्नुपर्ने चलन हट्न नसकेको बताइन्।

‘हामी यो चलन हटेको देख्न चाहन्छौं तर हटाउन सकिँदैन। देउतासँगको कुरा हो, देउता रिसाउँछन् भन्छन्,’ उनले भनिन्, ‘हाम्रो टोलका हरेक घरमा छाउगोठ छन्। हाम्रा छोरीहरू पनि महिनावारी हुँदा छाउगोठमै बस्छन्।’

पुष्पाका अनुसार छाउगोठमा सुतेका कारण ज्यान जाने घटना भएपछि केही घरमा भने परिवर्तन देखिएको छ। उनकै टोलकी स्वास्थ्य स्वयंसेविका सोमन्द्रा विकको घरमा तीन वर्षअघिसम्म छाउगोठ थियो। छाउगोठमा सर्पले टोकर सोमन्द्राकी नन्दको मृत्यु भएपछि त्यहाँ सुत्न बन्द भयो।

छाउगोठमै बसेका कारण कति जनाको मृत्यु भइसक्यो भन्ने तथ्यांक सरकारसँग छैन। छाउपडी प्रथा अन्त्य गर्न स्थानीय सरकार जिम्मेवार हुनुपर्नेमा परिवर्तन ल्याउन नसकिएको जनप्रतिनिधिहरू स्वीकार गर्छन्।

गोदावरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाही छाउगोठ भत्काउनमा भन्दा मानिसमा चेतना जगाउनमा जोड दिनुपर्ने बताउँछन्।

‘हामी बल लगाएर छोउगोठ भत्काउँछौं तर मान्छेहरू सचेत नहुँदा यो चलन हटाउन सकिँदैन,’ उनले भने, ‘मान्छेको सोच परिवर्तन भयो भने मात्रै असुरक्षित छोउगोठको प्रथा अन्त्य हुन्छ।’

वडा कार्यालयले सचेतनाको काम गरिरहेको उनले बताए।महिनावारी हुँदा असुरक्षित छाउगोठमा बस्नुपर्ने चलन अन्त्य गर्न सरकारी र गैरसरकारी संघसंस्थाबाट थुप्रै प्रयास भए अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन। समाजमा महिनावारीलाई धर्म र देवतासँग जोडेर हेर्ने भएकाले यो प्रथा चुनौतीका रूपमा छ।


Last Updated on: June 19th, 2023 at 10:03 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया