Podwojna macica. Jak rozpoznac te wade macicy article

योनीबाट निरन्तर रुपमा पिसाब वा दिसा चुहिन्छ ?

स्वास्थ्य

विश्व स्वास्थ्य सङ्गठनले एक हजार जना महिला सुत्केरी हुँदा तीन जनामा प्रसव (सुत्केरी) फिस्टुलाको समस्या देखिने गर्छ । स्वास्थ्य मन्त्रालय र यूएनएफपीएको प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष करिब दुईदेखि चार सय जना महिला यो समस्याबाट पीडित छन् ।
समस्याको रोकथाम र उपचारबारे ज्ञानको अभावका कारणले नेपालमा प्रसव फिस्टुला अदृश्य प्रजनन् स्वास्थ्य समस्या बनेको छ । स्त्रीरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारीका अनुसार योनीबाट निरन्तर रूपमा पिसाब वा दिसा वा दुवै चुहिने समस्यालाई प्रसव फिस्टुला भनिन्छ ।

सुत्केरी हुँदा लामो समयसम्म व्यथा लाग्दा शिशुको टाउकोले थिच्दा आमाको पिसाब थैली वा मलाशयमा प्वाल परेर यस्तो समस्या देखिने डा.अधिकारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सुत्केरी हुँदा लामो र कठिन ब्यथा लागेर बच्चा जन्मन नसक्दा शिशुको टाउकोले योनीमार्गबाट पिसाब थैली वा मलाशयलाई लगातार थिच्दा प्वाल पर्छ त्यसलाई प्रसव फिस्टुला भनिन्छ ।”

लामो र कठिन प्रसव ब्यथाको बेलामा दक्ष प्रसूतिकर्मीबाट सही समयमा उपयुक्त सेवा नपाउनाले प्रसव फिस्टुला हुने डा.अधिकारीको भनाइ छ ।

स्त्रीरोग विशेषज्ञ डा. अधिकारीले भन्नुभयो, “नेपालमा ग्रामीण भेगमा सबै ठाउँमा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा, दुई–तीन दिनदेखि सुत्केरी ब्यथा लाग्दा समयमा शल्यक्रिया हुन नसक्दा यस्तो समस्या निम्तन्छ ।”

त्यसका अलवा बलपूर्वक यौनसम्पर्क राख्दा वा अन्य कारणबाट योनीमा चोटपटक लाग्नु । योनीमा जटिल सङ्क्रमण वा क्यान्सरका कारणले पनि यस्तो समस्या देखिने चिकित्सकको भनाइ छ ।

लामो ब्यथा लाग्दा ठूलो प्वाल पर्छ भने कहिलेकाहीँ साना प्वाल पर्ने चिकित्सक बताउँछन् । यस्तो अवस्थामा योनीमार्गबाट लगातार पिसाब वा दिसा वा दुवै चुहिने डा. अधिकारी बताउनुहुन्छ । डा. अधिकारीले लगातार पिसाब, दिसा वा दुवै चुहिरहने गर्दा महिलाहरूमा शारीरिक मात्र नभई मानसिक तथा सामाजिक समस्या उत्पन्न हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निरन्तर दिसा, पिसाब चुहिने हुँदा लुगा सधैँ भिजेर गन्हाउने भई महिला अरूका अगाडि नजाने, घर, परिवार र समाजबाट अपहेलित भई दुर्व्यवहार तथा बहिस्कृत हुने गर्दछन् । यस कारणले गर्दा उनीहरूमा शारीरिकका साथै मानसिक तनाव भोग्न बाध्य हुन्छन् ।”

यस्तो समस्या देखिएपछि पिसाब चुहिने डरले पानी कम पिउँदा जलवियोजन तथा मिर्गौलासम्बन्धी समस्या उत्पन्न हुने चिकित्सकको भनाइ छ । योनीबाट दिसा निस्किरहने डरले खाना कम खाँदा कुपोषण हुने सम्भावना बढ्छ ।

प्रसव फिस्टुलाको उपचार सुविधायुक्त अस्पतालमा तालिम प्राप्त दक्ष चिकित्सकबाट शल्क्रियाद्वारा गर्न सकिने डा. अधिकारीले बताउनुभयो । उपचारपछि पनि हेलचेक्राई गर्दा यो समयमा पुन बल्झिन सक्ने भएकाले यसको हेरविचार गर्न डा.अधिकारीको सुझाव छ ।

प्रसूति सेवाका लागि स्वास्थ्य संस्थामा गएर दक्ष स्वास्थ्यकर्मीद्वारा प्रसूति र गर्भवती हुँदा कम्तीमा चार पटक नियमित गर्भ जाँच गरेर कुनै समस्या भए नभएको पत्ता लगाउने गर्दा यस्तो समस्याबाट बच्न सकिने डा.अधिकारीको भनाइ छ । यदि सुत्केरी ब्यथा आठ घण्टाभन्दा बढी लगातार लागेमा तुरुन्तै शल्यक्रियाको सुविधा भएको अस्पतालमा लगेर सुत्केरी गराउन चिकित्सकको सुझाव छ ।

गर्भवतीलाई दक्ष प्रसूतिकर्मीको सहयोगबाट मात्र बच्चा जन्माउन व्यवस्था गराउने, ग्रामीण क्षेत्रमा भएका बर्थिङ सेन्टरलाई सेवा सुविधा थप्दै जाने र यो समस्याका बारेमा जनचेतना फैलाउन सकेमा यो समस्या कम हुँदै जाने चिकित्सकको भनाइ छ ।

सरकारले काठमाडौं मोडल हस्पिटल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, प्रादेशिक अस्पताल सुर्खेतमा फिस्टुलाको उपचार निःशुल्क गराउँदै आएको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *