आइतबार ०९ बैशाख २०८१

Untitled 1 2

काठमाडौं । काठमाडौं सहर सफा गर्न मैतीदेवीका राजु देउलाले २६ वर्ष सडकको धुलोसँग खेले । वडा नम्बर २९ का त्यस्तो कुनै सडक छैनन् होला, जहाँ राजुको झाडु परेको नहोस् ।

२६ वर्षसम्म सधै सधै धुलोमा डुबेर सहर सफा गर्न खोज्दा उनको फोक्सो चाहिँ फोहोर भयो । फोहोर पनि यति धेरै भयो कि त्यो फोक्सोले शरिरलाई चाहिँने अक्सिजन तान्न पनि नसक्ने भयो ।

अहिले ४३ वर्षका राजुको जीवन अक्सिजनको सिलिन्डरमा अडिएको छ । सिलिन्डर छ – राजु पनि छन् । सिलिन्डर छैन – राजु पनि छैनन् ।

स्थिति यो छ, तर यिनै राजु भनिरहेका छन् – बिरामी भएकै कारण मैले जागिर छाड्नु पर्यो । महानगरले मेरो उपदानको पैसा पनि दिएन । काठमाडौं मैतीदेवीका ४३ वर्षीय राजु देउलालाई अतिरिक्त अक्सिजनविना सास फेर्नै मुस्किल हुन्छ ।

न्यूज २४ फोरको कार्यालयमा आउँदा पनि उनी अक्सिजन सिलिन्डरसहित आइपुगेका थिए । यो हालतमा देउला तीन वर्षदेखि संघर्षरत छन् । तर उनको मुख्य समस्या अरु पनि छन् ।

उनलाई ‘पल्मोनरी फाइब्रोसिस’ नामक श्वास प्रश्वास सम्बन्धी समस्या छ । लामो समयसम्म प्रदूषित वातावरणमा काम गर्नेहरुलाई श्वास प्रश्वास सम्बन्धी यसखाले समस्या देखा पर्छ । जसका कारण फोक्सोका छिद्रहरु बन्द हुन थाल्छन् र बिरामीलाई अक्सिनको बाहिरी सपोर्ट दिनु पर्ने हुन्छ । देउला काठमाडौं महानगरका कुचिकार थिए । काठमाडौंका सडक सफा गर्न २६ वर्ष झाडु घिसारे ।

काठमाडौँ महागरपालिका वडा नम्बर २९ मा कुचिकारको रुपमा काम गरेका कर्मचारी हुन् राजु । सरसफाई कर्मचारी भएकाले उनको काम पनि प्रदुषित वातावरणमै हुन्थ्यो । तर त्यही कामको प्रकृतीले उनलाई दमको रोगी बनायो ।

औषधी सेवन गर्दै कामलाई निरन्तता दिइरहेका राजुको स्वास्थ्य अवस्था पछिल्लो समय झनै जटिल बन्दै गएपछि उनले आफ्नो जागिर नै गुमाए ।

काठमाडौँ महानगरमा २०५४ मा करारमा नियुक्त भइ काम सुरु गरेका राजु २०६३ माघ २२ गतेबाट स्थायी कर्मचारीमा नियुक्त भएका थिए ।

दमको रोग बढ्दै गएपछि ११ महिना त उनी काममा उपस्थिती हुन सकेनन् । काम नै गर्न नसक्ने भएपछि महानगरले पनि उनलाई तीन महिना अघिमात्रै राजीनामा गर्न लगायो । २०७९ चैत १५ मा उनले राजीनामा समेत दिए ।

राजीनामा दिँदा उनले कर्र्मचारी ऐन अनुसार पाउनुपर्ने उपदान रकम पनि पाउँ भन्दै निवेदन पेश गरेका थिए । तर, अहिलेसम्म उपदान बापतको रकम पाएका छैनन् । पटक पटक धाउँदा पनि रकम नपाएपछि उनी अहिले हैरान छन् ।

हालसम्म उपचारका क्रममा १५ लाख रुपैयाँ खर्च भइसकेको छ । उपदान बापतको रकम नपाउँदा उपचारबाट वञ्चित हुन परेको उनको गुनासो छ । राजुका लागि महानगरले उपचार खर्च भनेर तीन लाख रुपैयाँ दिएको थियो ।

त्यो रकमले उनको उपचारमा सहायक त भयो, तर खर्च बढी लाग्ने कारणले समस्या समाधान भएन । यहि कारण अहिले उनी र उनको परिवारको एक सूत्रीय माग छ – २६ वर्ष काम गरे बापतको उपदान पाइयोस् ।

राजुले १६ वर्ष त स्थायी कर्मचारीकै रुपमा काम गरे । काठमाडौँ महानगरपालिका कर्मचारीहरुको सेवा, सर्त एवंम सुविधा व्यवस्था ऐन २०७७ को ८५ नम्बर बुँदामा उल्लेख भएको उपदान सम्बन्धी व्यवस्थाको ‘ग’ मा भनिएको छ –पन्ध्र वर्षभन्दा बढी बिस वर्षभन्दा कम अवधीसम्म सेवा गरेको कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरि डेढ महिनाको पाउनेछ ।

राजुले पनि यही व्यवस्थामा उल्लेख भएबमोजिम सुविधा पाउनुपर्ने हो । तर, कर्मचारी ऐनले उल्लेख गरको सुविधा पाउन पनि उनलाई फलामको चिउँरा चपाउनु सरह भएको छ ।

राजु आफैँ मात्र रोगी छैनन् । उनकी छोरी समेत मृगौँला सम्बन्धी रोगले ग्रसित छिन् । घरमा दुबैजना विरामी भएपछि उपचार खर्च व्यहोर्ने सामथ्र्य देउला परिवारसँग छैन ।

(भिडियो)


Last Updated on: June 12th, 2023 at 4:02 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया