आइतबार ०९ बैशाख २०८१

teachers

काठमाडौं । काठमाडौंको कपनस्थित एउटा विद्यालयमा तीन शिक्षक मिलेर कक्षा १० का विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् ।कुटपिटको निहँु के थियो, बताइएको छैन, तर हामीले कुटपिटमा परेका बालकलाई भेट्दा उनी अस्पतालमा थिए । चिकित्सकहरुका अनुसार बालकको शरिरमा लागेको चोट बिसेक हुन तीन हप्ता लाग्नेछ ।

स्कुले बालक कुटिएको यो मामिलाले राम्रै तरंग सिर्जना गरेपछि विद्यालयले कुटपिटमा संलग्न शिक्षकलाई निलम्वन गरेको छ । यो घटनाको पूरा विवरण के हो त ?

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १० स्थित कपनमा रहेको बाल उद्धार माविका एक विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ ।गत जेठ २२ गते कक्षा १० मा अध्यनरत १५ वर्षीय अनिष लामिछानेलाई विद्यालयका तिन जना शिक्षक मिलेर निर्घात कुटपीट गरेका हुन् ।

शिक्षकको कुटपिटमा परेका अनिष अस्पताल भर्ना भएका छन् । कुटपिटबाट गम्भिर घाइते भएका अनिष हिड्न, दिसा पिसाब गर्न समेत नसक्ने अवस्थामा छन् । कुटपिटमा परेका अनिष अहिले त्रसित मनोदशमा छन् ।

शिक्षकहरु उदयराज कार्की, रोसन श्रेष्ठ र सौरभ गौतम मिलेर अनिषलाई कुटपिट गर्ने हुन् । यी शिक्षक मध्येका उदय राज कार्कीले त अनिषलाई कक्षा कोठामा थुनेर निर्ममता पूर्वक कुटपीट गरेको अनिष बताउँछन् ।

उनको कुटपिटबाट अनिषको शरिरमा घाउँचोट लागेको छ । दुईवटै तिर्घामा पाईपले हिर्काइएका निलडाम छन् । हात र घाँटीमा समेत चोट लागेको छ ।

अनिषको अन्य विद्यार्थीसँग सामान्य झैझगडा भएको थियो । त्यही विवादलाई लिएर शिक्षक उदयराज कार्कीले विद्यालयहाताभित्र अनिषलाई सुरुमा हातले कुटे । पछि लाठीले कुटे । लाठी भाचिएपछि शिक्षक कार्कीले लात्तीले समेत हिर्र्काए ।

शिक्षकको उदयको उदण्डता त्यतिमा मात्रै सिमित भएन । तीन तलामाथी रहेको ल्याब कक्षमा लगेर, कोठा थुनेर झुट बोलेको भन्दै पाईपको लाठी बर्साए । पीडा सहन नसकेर अनिष घुँडा टेकेर थचारिए । तर, पनि उदयको अतिचार रोकिएन ।

छोरामाथि शिक्षकहरुबाटै कुटपिट भएपछि उनका अभिभावकले हाम्रो टिमलाई खबर गरे । हामी पुग्दा अनिषको चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालको आकष्मिक कक्षमा उपचार भइरहेको थियो ।

अभिभावकले घटनाबारे जानकारी गराएपछि हाम्रो टिम अस्पतालमै पुग्यो । अस्पतालका चिकित्सकहरुका अनुसार शरिरमा लागेको चोट निको हुन तीन हप्ता लाग्नेछ ।

अस्तालको अनुमतिपछि हामीले अनिष र उनका अभिभावकलाई बुढानिलकण्ठस्थित बाल उद्धार विद्यालयमा लग्यौँ ।

त्यसदिन कुनै सार्वजनिक विदाको दिन थिएन । तर, यो विद्यालयमा बुधबार विदा दिइएको रहेछ । विदा दिइएका कारण अनिषलाई कुट्ने शिक्षकहरु विद्यालयमा उपस्थिीत थिएनन् । तर, प्रधानाध्यापक विनोद पण्डित भने कार्यकक्षमै भेटिए ।
घटना भएको तीन दिन भइसक्दा समेत कुट्ने शिक्षकहरुमाथि कुनै एक्सन लिएका पाइएन् ।

यता अनिष घटना विवरण सुनाउँदै प्रधानाध्यापककै अगाडी भक्कानीएर रुन थाले । उनका आमाबुबा पनि सम्हालिन सकेनन् । एकछिन् त प्रधानाध्यापकको कार्यकक्षमा रुवाबासी नै चल्यो ।

शिक्षकबाट अर्का एक विद्यार्थी आर्यन लामा पनि कुटिएका छन् । उनको अनुहारमा पनि चोट लागेको छ ।

विद्यालयले शिक्षकको बचाउँ गर्दै निकाल्यो क्षमायाचना पत्र !

बुधबार नै हामीले आरोपित शिक्षकहरुलाई विद्यालयमा बोलाउन आग्रह गरेका थियौँ । तर, प्रधानाध्यापकले फोन गर्दा समेत उनीहरु उपस्थिती भएनन् ।

त्यसपछि प्रधानाध्यपकले बिहीबार ११ बजे विद्यालय व्यवस्थापन समितिको आकस्मीक बैठक बोलाइएको र आरोपित शिक्षकहरुलाई त्यही बैठकमा उपस्थिीत गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तर बिहीबार ती मध्येका एक जना शिक्षकलाई बोलाइएन । यद्यपि विद्यालयले घटनामा संलग्न शिक्षकलाई कारवाही गर्ने भन्दै क्षमायाचना पत्र निकालेको छ ।

शिक्षकलाई निलम्बन गरिएको उल्लेख गरिएपनि कस्लाई निलम्बन गरिएको भन्ने पत्रमा नाम खुलाइएको छैन् ।

विद्यार्थी कुट्ने शिक्षकलाई तत्काल कारवाही गर्नुपर्ने हो । तर, घटनाको तीन दिनसम्म पनि विद्यालय यो विषयमा गुपचुप रह्यो ।

उल्टै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुर्व प्रसाद घिमिरेले पीडित अभिभावकलाई मिडिया किन बोलाएको ? प्रहरीमा किन उजुरी गरेको भन्दै धम्क्याए ।

बिहीबार विद्यालयको बैठकमा नेपाली कांग्रेस वडा नम्बर १० का सभापतिसहित कांग्रेसका कार्यकताहरुको बाक्लो उपस्थिती थियो ।

उनीहरुले विद्यार्थी कुटिएको विषयसँगै अनियमितता भएको प्रसंग समेत मिसाएर बोल्न थाले । विषय मोडिएपछि एकैछिन्मा झडपको स्थिती सिर्जना भयो ।

विद्यार्थी कुटेको घटनालाई राजनीतिक रंग दिन खोजिएको विद्यालय व्यवस्थापन समितिको आरोप छ ।

विद्यालयले असुल्छ चर्को शुल्क, अभिभावकले देखाए शुल्क तिरेको विलका चाङ

कक्षा १ देखि १० सम्म सरकारले निशुल्क शिक्षाको व्यवस्था गरेको छ । तर, सामुदायिक विद्यालय भए पनि यो विद्यालयले निजी विद्यालय जस्तै चर्को शुल्क असुल्दै आएको आरोप अभिभावकको छ ।

अनिषका अभिभावकले समेत आफुले विद्लायमा चर्को शुल्क तिर्न बाध्य हुनुपरेको गुनासो गरे । उनले विद्यालयले बुझाएको शुल्कको विलहरु नै देखाए ।

यति मात्र होइन विद्यालयमा चरम अनियमितता हुने गरेको भन्दै प्रश्न उठ्यो । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षले समेत विद्यालयले चर्को शुल्क उठाइरहेको प्रति प्रश्न उठाएका छन् ।

घटनाको छानविन गर्न विद्यालयले जनप्रतिनिधिसहितको सहभागीतामा छानविन समिति गठन गरेको छ । विद्यार्थी कुट्ने शिक्षकलाई भने अहिले कपन प्रहरीले नियन्त्रणमा राखेको छ ।


Last Updated on: June 9th, 2023 at 7:21 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया