IMG 20230605 165607 696x377 1

साइकल सहित शिखर चुन्ने सपना राखेका रन्जित, अधुरै राखेर सगरमाथामै अस्ताएका!

समाचार

कुम्भराज राई,ओखलढुंगा । २५ तारिख (११ जेठ) बिहीबार राति रञ्जितकुमार साह र उनका गाइड लाक्पानुरी शेर्पा साउथ समिट (८६००) मिटरमाथि उक्लिसकेका थिए । चुचुरो पुग्न करिब दुई सय मिटर बाँकी थियो ।
रातको १ बजेर ५५ मिनेटमा एक्कासि उनको जीपीएस अफ भयो । जीपीएस ट्र्याक गरिरहेका ङिमादेण्डी शेर्पालाई लाग्यो– पक्कै ब्याट्री सकियो । साउथ समिटबाट तीनदेखि पाँच घण्टाभित्र चुचुरोमा पुगि सक्नुपर्ने थियो ।

उनीहरूलाई सेटमा सम्पर्कको प्रयास गरियो । कुनै प्रतिक्रिया आएन । सोही दिनको साँझ वा भोलिपल्टसम्म चौथो शिविर फर्किएलान् भन्ने आशा थियो । शेर्पा गाइड साथै भएकाले रञ्जित सम्पर्कमा आउलान् भन्ने लाग्यो । तर, न उनीहरू चुचुरोमा पुगेको खबर आयो, न चौथो शिविर फर्किएको । दुवै सम्पर्कविहीन भए । अन्ततः रञ्जित र लाक्पानुरु साउथ समिटदेखि सधैंका लागि हराए ।

जनकपुर बसपार्कको दायाँतर्फ छेवैमा छ– रञ्जितको पानपसल । बुबाको पानपसल सम्हाल्दै आएका थिए रञ्जितले । औसतभन्दा फरक स्वभावका थिए । ११ महिना पानपसल चलाउँथे । एक महिना पसलको सटर झार्थे र फिरन्तेका रूपमा जनकपुरदेखि साइकलको पाइडल मार्थे ।

यसरी रञ्जितले जनकपुर–पशुपति, जनकपुर–हलेसी, जनकपुर–अयोध्या, जनकपुरमुक्तिनाथ, जनकपुर–पाथीभराको सयौं किलोमिटर यात्रा गरिसकेका थिए । उनको मनमा एक्कासि साइकल लिएर सगरमाथा आधारशिविर जाने हुटहुटी पलायो । काठमाडौं पुगे । पर्यटन विभागमा सोधे ।

तत्कालीन विभागकी निर्देशक मीरा आचार्य उनको हुलिया देखेर छक्क परिन् । रञ्जित हिरो साइकल लिएर प्लास्टिक जुत्ताको साथमा आधारशिविर जाने तयारीमा थिए । मीराले बाटामा अप्ठ्यारो परे सहयोग गर्ने वाचासहित आधारशिविर यात्राको शुभकामना दिइन् ।

पातलो रेनकोट लगाएर प्लास्टिककै जुत्तामा २०७६ असोजमा रञ्जित सगरमाथा आधारशिविर र कालापत्थर पुगे । त्यहाँ पुगेपछि उनको सपना चुलियो । हिरो साइकल बोकेरै सगरमाथा चढ्ने सपना बुने । गोरक्सेपको लामा लजमा साइकल छोडेर पैदलै जनकपुर फर्किए ।आधारशिविरदेखि जनकपुर फर्किने क्रममा मेरो भेट रञ्जितसँग ओखलढुंगामा भयो ।

उनले सगरमाथा चढ्ने प्रक्रिया र लाग्ने खर्चबारे सोधे । मैले बताएँ । सगरमाथा जानुअघि कुनै एउटा हिमाल चढ्नुपर्ने सुझाव दिएँ । त्यसका लागि सहयोगको अनुरोध गरे । त्यतिबेलै मेरा मित्र आङबाबु शेर्पाको कम्पनीले आमाडब्लम हिमाल आरोहणको तयारी गरिरहेको थियो । मैले सम्पर्क गराएँ ।

आधारशिविर पुगेर फर्किएको एक महिनापछि कात्तिक १२ गते भाइटीकाको दिन उनले ६ हजार ८ सय १२ मिटरको आमाडब्लम आरोहण गरे । निकै टेक्निकल मानिने आमाडब्लमको सफलतापूर्वक आरोहण गरेपछि आफ्नो सफलताको पहिलो खुसी टेलिफोनमार्फत मलाई बाँडे ।

त्यसपछि सगरमाथा आरोहणको तयारीमा लागे । तर, कोभिडका कारण २०७७ को वसन्त ऋतुमा हिमाल आरोहण रोकियो । सोही दिन आरोहण गरेर फर्किएको ‘इम्याजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन’ का समूहले उनीहरूलाई चौथो शिविरभन्दा माथि बाटामा भेटेका थिए ।

इम्याजिन नेपाल’ का निर्देशक मिङमा शेर्पाका अनुसार, उनीहरूको समूह आरोहणबाट फर्किंदा रञ्जित र लाक्पानुरु दुवै चीनको तिब्बततर्फ खसिसकेका थिए । दुई जना बेपत्ता भएको खबर सुनिसकेपछि आधारशिविरमै रहेका सरकारी सम्पर्क अधिकृत खिमलाल गौतमले सोधखोज गरे । तर, ‘साउथ समिट नजिकै डोरी लत्रेर चीनतर्फ खसको देखेको’ भन्नेसम्म सुने ।

आठ हजारमाथि भनेको डेथ जोन हो । चिसो र अक्सिजनको कमीले मस्तिष्कले काम नगर्ने समस्या हुन्छ । अधिकांश आरोहीले पागलपन देखाउने गर्छन् । गाइड तन्दुरुस्त भएन भने जे पनि हुन सक्छ, खिमलाल भन्छन्, त्यस्तै कुनै दुर्घटनामा परेको अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *