gosai

स्नान गर्न पहिलो पटक गोसाइँकुण्ड पुगे ९३ वर्षे वृद्ध

समाचार

रसुवा- निलाद्री पर्वतअर्थात् गोसाइँकुण्ड तीर्थ समुद्री सतहबाट चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित रहेको छ । पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ । कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जिन्दगीमा एक पटक गोसाइँकुण्ड पुग्नै पर्ने मान्यता रहिआएको छ ।

गोसाइँकुण्ड यात्राका लागि हेलिकोप्टर कम्पनीले उडान भर्न थालेपछि तिर्थालुलाई त्यहाँ पुग्न सहज भएको छ । अहिले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत पवित्र तीर्थस्थल गोसाइँकुण्ड सहजै पुग्न सकिन्छ । हेलिकोप्टरको सुविधाकै कारण धादिङ नलाङ घर भई हाल काठमाडौँं सीतापाइला बस्दै आउनुभएका शिवराज अर्याल ९३ वर्षको उमेरमा पहिलो पटक गोसाइँकुण्ड पुग्न पाउनुभएको छ ।

हेलिकोप्टरमार्फत आज विहान गोसाइँकुण्ड पुग्नुभएका उहाँले स्नान एवं पूजाआरधना गर्नुभयो । वृद्ध अवस्थामा हिँडेर जानसक्ने अवस्था नहुँदा उहाँ चार्टर्ड हेलिकोप्टरमार्फत छोरा निमनाथ, बुहारी अम्बिका, नाति सुदीप र छोरी सरस्वती सापकोटासहित गोसाइँकुण्ड पुग्नुभएको हो ।

काठमाडौँबाट १४ हजार एक सय फिटको उचाइ हुँदै २५ मिनेटमा हेलिकोप्टरमार्फत अर्याल गोसाइँकुण्ड पुग्दा उहाँलाई लेकलाग्ने जस्ता कुनै समस्या नभएको वरिष्ठ क्याप्टेन आनन्द थापाले बताउनुभयो । वयोवृद्व तीर्थयात्रु अर्यालले गोसाइँकुण्डमा स्नान र पूजाआजा गरेकोमा खुसी व्यक्त गर्दै सकेसम्म तीन पटक र सम्भव नभए कम्तीमा एक पटक गोसाइँकुण्ड पुग्न अरुलाई सुझाव समेत दिनुभयो ।

स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल (टङ्कु गुरु) ले उत्तरगया धाम बेत्रावती पुगेर स्नान तथा गङ्गा पूजन गरी गोसाइँकुण्ड जानुपर्ने, चोलाङ पाटीमाथि बाटोमा ढुङ्गा राखेर घर बनाउने र लौरी विनायकमा लौरी चढाइ गोसाइँकुण्ड जानुपर्ने, कुण्डमा भगवान्को दर्शन गरी फर्किदा ल्याएको जल धैबुङस्थित कालिका मन्दिरमा चढाएर घर जाँदा पुण्य मिल्ने मान्यता रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *