bhujel

पैसा कमाउने धन्दामा कथित झाँक्री पनि, विरामी बोकेर एम्बुलेन्स भुजेलको पूजा केन्द्रमा ! (भिडियो)

समाज

काठमाडौं । गोजीको पैसा कुनै भ्रम छर्ने कहाँ पुगेर बुझाउन हिजो आज मानिसहरुलाई खास कुनै कारण चाहिँदैन – टिकटकको एउटा भिडियो नै पर्याप्त हुन्छ । हेरेको भरमा, छोएको भरमा जस्तो सुकै रोग निको पार्ने भ्रम छलेर पैसा कमाउनेहरु टोलै पिच्छे छन् ।

यस्ताहरुले साँच्चै रोग निको पार्छन् भन्ने ठानेर पुग्नेहरुको संख्या त झन धेरै छ । यस्तै असुली धन्दामा अर्का एक पात्र थपिएका छन् – झाँक्री भनिने प्रकाश भुजेल । भुजेलको शैली अन्य माता, झाँक्री, स्वामीहरुको भन्दा फरक छ । उनी दक्षिणा चाहिँदैन भन्छन् ।

समाज सेवा गरे जस्तो देखाउँछन् । तर धन्दा चाहिँ उनको पनि अरुको जस्तै असूली नै देखिन्छ । कुनै समय माओवादी कार्यकर्ता रहेका प्रकाश, पछि राजावादी भए ।

अहिले उनी झाँक्री हुँ भन्छन् । बिरामीहरु एम्बुलेन्स चढेर उनको पसलमा पुग्छन् ।

यी हुन सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका प्रकाश भुजेल । पछिल्लो समय जस्तो सुकै रोग निको पार्न सक्ने भ्रम छर्दै भुजेल सामाजिक सञ्जालमा झाक्रीको रुपमा परिचित छन् ।

खासगरी भुजेलले बोल्न नसक्नेलाई बोल्न सक्ने बनाइदिएको र कान नसुन्ने विरामीलाई सुन्ने बनाइदिएको दाबी गर्दै सामाजिक सञ्जालहरुमा भिडियो पोष्ट गर्दै आएका छन् ।

विगत ७ महिना देखि भुजेलले गोकर्णेश्वर नगरपालिकास्थित जोरपाटी दक्षिण ढोकामा ‘भुजेल संस्कृती पुजा केन्द्र’ पुजा सामाग्री बेच्ने पसल खोलेका छन् ।

भुजेलले तीन वटा सटर भाडामा लिएर पसल गर्ने अनुमति लिएका छन्, तर उनको मूल काम भने झारफूक गर्दै आएका छन् । उनले सञ्चालन गरिरहेका पुजा केन्द्रमा दैनिक थामि नसक्नुको भीड देख्न सकिन्छ ।

भुजेलले गोकर्णेश्वर नगरपालिकामा पसल दर्ता गरेका छन् । यो पसलको प्रमाणपत्रमा पुजा सामाग्री कारोबार गर्न पसल सञ्चालन गर्ने भन्ने छ ।

औपचारिक रुपमा पुजा सामाग्री बेच्ने भनिए पनि उनले झारफूक गर्ने, जस्तो सुकै बिरामी पनि बिसेक पार्ने जस्ता भ्रम प्रत्यक्ष र अप्रत्यक्ष रुपमा फैल्याइरहेका छन् ।

भुजेल कहाँ पुग्नेहरुसँग उनले दक्षिणा नराख्नू भन्ने गरेका छन् । तर यहाँ पुग्नेहरुले भुजेललाई बुझाउने दर चाहिँ प्रतिव्यक्ति २ हजार ५ सय हो ।

भुजेलले प्रचारमा ल्याएका धेरै भिडियोहरुमा उनले आफूलाई समाजसेवीका रुपमा पनि प्रस्तुत गर्दै आएका छन् ।

असूलीधन्दा चलाउने माता, स्वामीहरुभन्दा भुजेलको शैली पृथक, चलाखीको नयाँ शैली

केही समय अघि ‘सीमान्त गुरु’ भनिने भरत केसीले काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा सञ्चालन गरेको ‘क्लीनिक’ प्रहरीले भिड अनियन्त्रित भएको भन्दै बन्द गराएको थियो ।

आँखाले हेरेकै भरमा र छोएकै भरमा जस्तोसुकै रोग ठिक पारदिने भ्रम छरेर ठगी गर्ने सिमान्त गुरुले विरामीबाट एक हजार रुपैयाँका दरले असुल गर्न थालेपछि उनको असुली धन्दा सतहमा आएको थियो ।

उनले उपचार गर्ने नाममा पैशा असुल्ने धन्दा पर्दाफास भएपछि उनको छवि विवादित बन्न पुगेको थियो । विरामीबाट पैशा अशुलेको भन्दै सिमान्त गुरुको छवि विवादित बनेपछि होला सायद भूजेलले भने चलाखीपूर्ण रुपमा पैशा अशुल्दै गरेको पाइएको छ ।

उनले निशुल्क रुपमा उपचार सेवा प्रदान दाबी गर्दै आएपनि उनको केन्द्रमा दैनिक उपस्थित हुने मानिसहरुबाट कुनै न कुनै बहानामा पैशा अशुली भइरहेको छ ।

मंगलबार हाम्रो टिम भुजेलको पुजा केन्द्रमा पुग्दा अन्य दिन जस्तै थामिनसक्नुको भिड लागेको थियो । त्यसमध्ये केहीलाई हामीले के उपचारका लागि आएको र कति पैशा बुझाउन प¥यो भनि सोधेका छौ ।

अधिकांशले हाम्रो क्यामेरा अगाडी बोल्न नमानेपनि केहीले भने पैशा बुझाएको बताए । तर, स्वेच्छाले दिएको बताउने उनीहरु सबैले २ हजार ५ सयका दरले बुझाएको पाइयो । रकम मात्रै समान होइन विरामीलाई दिने औषधी पनि एकै प्रकारको पाइयो ।

सबैले २५ सय रुपैयाँ बुझाएको बताइरहँदा पुजा केन्द्रमा जानेहरुका लागि दर रेट नै तोकिए जस्तो पनि लाग्छ । यद्यपी यस्को ठोष प्रमाण भने हामीले पाउन सकेनौँ ।

तीनवटा सटर रहेको हल भित्र कसरी पुजाँ हुन्छ ? कुन विधिबाट उपचार हुन्छ, के यो निशुल्क सेवा हो वा असुली धन्दा ? भन्ने जिज्ञासासहित हाम्रो टिम पुजा हुने ठाउँमा प्रवेश गर्ने प्रयास गरेको थियो । तर, भुजेलका सहयोगीहरुले हाम्रो टिमलाई भित्र प्रवेश गर्न दिएनन् । आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सदस्य बताउने यी महिलाले समेत हामीलाई अवरोध गरिन् ।

हामीले प्रवेश नै नपाएपछि भुजेलसँग प्रतिक्रिया लिन पनि सकिएन । तर भुजेल पैशा दिनेहरु विरामीहरुको समेत पैशा फिर्ता गरेर टिकटकमा भिडियो बनाएर अपलोड गर्ने गरेका छन् ।

त्यसमाथि भुजेलले आफुकहाँ पुग्ने विरामीलाई ठिक पारेको भन्दै प्रचार समेत गर्ने गरेका छन् । तर, हामीले त्यस्ता केही पात्र समेत फेला पा¥र्यौ । जो पटक पटक भुजेल कहाँ धाउदा समेत उनीहरुको रोग ठिक भएको छैन् ।

एम्बुलेन्स सडकमै रोकेर विरामीमाथि झारफुक, सवारी जामले आजित सर्वसाधारण दृश्यमा देखिएको यो एम्बुलेन्स कुनै अस्पतालको छेउमा रोकिएको होइन ।

यो तिनै भुजेलको पुजा केन्द्र अगाडी रोकिएको एम्बुलेन्स हो । एम्बुलेन्सम भित्र विरामी छन् । तिनै विरामीमाथि सडकमा एम्बुलेन्स रोकेर झारपुक चलिरहेको छ ।

विरामी बोकेर अस्पताल पुग्नु पर्ने एम्बुलेन्स पछिल्लो समय भुजेलको पुजा केन्द्रमा पुग्न थालेका छन् । एम्बुलेन्स रहेका विरामीमाथि झारफुक भइरहेको रोचक दृश्य कैद गर्न खोज्दा भुजेलका सहयोगीहरुले प्रतिबन्ध लगाउने भरपुर प्रयास गरिरहेका थिए ।

सडकमै विरामीमाथि झारफुक चलिरहँदा र सर्वसाधारणको भिड अत्यधिक बढ्दा सवारी जाम भइरहेको थियो । पार्किङको समेत राम्रो सुविधा नभएको यस क्षेत्रमा पुजा केन्द्रमा पुग्नेहरुका सवारी समेत सडकै पार्किङ गरिन्छन् । जस्का कारण यस क्षेत्रमा सवारी जाम हुँनु सामान्य जस्तै बनेको छ ।

भिड बढेपछि वरपरका व्यापारी हैरान, भुजेलकै कारण व्यापारमा धक्का लागेको गुनासो

विहान ६ बजेदेखि साँझसम्मै पुजा केन्द्रमा सर्वसाधारणको भिड लाग्ने गरेको छ ।

सर्वसाधारणको अनावश्यक भिड बढ्दा वरपरका व्यापारीहरु हैरान भएका छन् । ग्राहकहरु पसलमा छिर्नेसम्म ठाउँ नहुँदा व्यवसाय ठप्प भएको गुनासो उनीहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *